आगतमा नेपाली कविताको बाटो


एक प्रस्तावना
— महेश पौड्याल

(गत साल धरानमा कलरबले आयोजना गरेको कविता साँघुमा प्रस्तुत कार्यपत्र हो यो)



नेपाली साहित्यमा आधुकिताको प्रस्थानविन्दुबारे धेरै मतान्तरहरू छन् । तर, समालोचक लक्ष्मण गौतमको दावीअनुसार १९९२, फागुन १६ गते, (सन् १९३५ मा) गोरखापत्रमा प्रकाशित गोपालप्रसाद रिमालको कविता “कविको गान” नै सचेतरुपमा लेखिएको प्रथम आधुनिक नेपाली कविता हो (थ), यद्यपि त्यसै साल प्रकाशित रिमालकै “...प्रति” लाई यसको प्रस्थातविन्दु मान्नेको सङ्ख्या पनि धेरै छ । “कविको गान” लाई आधुनिक भन्नुपर्ने दुईवटा आधार छन् । पहिलो, यो कविताको स्वरुपमा अपरम्परित थियो, गद्य थियो । दोस्रो, यसमा आफ्नो समयको चेत थियो, र यो पूर्ण सचेतताका साथ परम्पराको व्यतिरेकमा लेखिएको थियो ।

यसरी हेर्दा हामीले “आधुनिक” काव्ययात्रा गरेको असी वर्ष पूरा हुनलागेको छ । आधुनिक नेपाली आख्यान र गैरआख्यानको दशा पनि यस्तै–यस्तै नै हो । आठ दशकपछि साहित्यको विश्व मानचित्रमा नेपालको उपस्थिति त्यस्तो सन्तोषजनक देखिँदैन । विश्वसाहित्यको विशाल आकशमा हामी आफ्ना लागि एक गर्विलो स्पेसको दावी गर्न सकिरहेका छैनौं । त्यसैले त थियोडोर रिकार्डी भन्छन्, “नेपाली साहित्य पश्चिमा मुलुकमा अपरिचितप्राय छ ” (१५७) ।

हुन पनि यो सत्य हो । विश्वका यत्राविधि विश्वविद्यालयहरूमा साहित्य पढाइन्छ, नेपाली साहित्यको कृति नेपाली विभगाबाहेकका विभागहरूमा खासै पढाइँदैन । हामीले शिरीषको फूलको भूतकालीन रटान गरेर आत्मसन्तुष्टि लिइरहनु हुँदैन । यति सोध अनुसन्धानहरू हुन्छन्, नेपाल छुटेकै हुन्छ । विश्वभरि यति धेरै नेपाली आप्रवासी र डायस्पोरा छरिएका छन् र धेरै साहित्यक प्रयास भइरहेको समाचार सुनिन्छ, तर बार्बरा स्टोलर मिलर (१९९४) को “मास्टरवर्कस् अफ एसियन लिटरेचर इन कम्पेरेरिभ पर्सपेक्टिभ” मा नेपालको उपेक्षा भएको छ ।  दक्षिण एसियाली नारीवादी चिन्तनबारे उमा नारायणनले १९९७ निकालेको डिस्लोकेटिङ् कल्चरमा नेपाल कहीँनिर पनि आउँदैन । पल ब्राइनले २००३ मा आधुनिक दक्षिण एसियाली साहित्यबारेको अनुसन्धान कृति प्रकाशित गरे, नेपाल छुट्यो । जोसुवा एस मोस्टो (२००३) ले कोलुम्बिय विश्वविद्यालयबाट प्रकाशित आधुनिक पूर्व एशियाली साहित्यको सोधग्रन्थमा पनि नेपाल छैन ।  २००५ मा विलार्ड स्पिगिलमेनले लेखेको हाउ पोएट्स सी द वल्र्ड मा नेपाली परेनन् । एसियाको अन्तर्देशीय सांस्कृतिक अध्ययनसम्वन्धमा कुअन–सिङ चेन र चुआ बेङ् हुआतको इन्टर एसिया कल्चरल स्टडी (२००७) मा नेपाली समेटिएन । बेन्जी झेङ  (२००८) ले सम्पादन गरेको उत्तर अमेरिकामा बस्ने एसियाली कविहरूको कवितासङ्ग्रहमा नेपालको नाम छैन । भर्खर २०१२ मा रोजमेरी एम केन्फिल्ड रेइसमेनले प्रकाशित गरेको एसियन पोएट्समा नेपाली कविले प्रवेश पाएको देखिँदैन । बालसाहित्यमा पनि पिटर हन्टले १९९६ मा प्रकाशित गरेको विश्व बालसाहित्य ज्ञानकोषमा नेपाल छैन ।

पछिल्ला केही वर्षमा नेपाली साहित्यका थुप्रै अनुवादगन्थ्रहरू पनि आएका छन्, र केही त स्तरीय पनि छन् । माइकल हटको द हिमालयन भ्वाइस (१९९१) र मञ्जुश्री थापा र सम्राट उपाध्ययले अनुवाद गरेर मनाओ जर्नल (२००१) मा छापेका प्रतिनिधि नेपाली कविता यसका उदाहरण हुन् ।  तर रचना आफ्नै वैचारिक आयतनको शक्तिशाली धरातलमा नउभिँदासम्म अनुवादकले रचनामा प्राण भर्न सक्दैन सायद । त्यसैले नेपाली साहित्य अझैसम्म “अपरिचित” नै रह्यो ।  केही राम्रा गन्थका अनुवाद सन्तोषजनक नहुनाले पाठक नातेनन् । साहित्यमा अन्तर्राष्ट्रियस्तरमै स्थापित जर्नलहरूमा नेपाली साहित्यका केही विश्लेषणहरू अवस्य पाइन्छन् । उदाहरणका लागि हवाइ विश्वविद्यालययको मनेवा जर्नल, फेमिनिस्ट रिभ्यू, एसियन थिएटर जर्नल, बुलेटिन अफ द स्कुल आफ ओरिएन्टल एण्ड अफ्रिकन स्टडिज, जर्नल अफ साउथ एसियन लिटरेचर र जेस्टोरले सङ्ग्रहित गरेका थुप्रै जर्नल लेखहरू । तर तिनीहरू समस्त नेपाली साहित्यका प्रतिनिधि र विश्वस्तरका लेखहरूका गम्भीर विश्लेषण होइनन् । कि त तिनीहरूले पश्चिममा नेपाली साहित्यको समाथ्र्यलाई स्थापित गरेर विश्वको ध्यान तान्न सकेनन् । त्यसैले विश्वआकाशमा नेपाली साहित्य अझै अनेक कारणहरूले एक टापु नै बनिरहेको कुरा सत्य हो ।

हामीलेजस्तै, या भनौं हामीभन्दा पनि पछाडि आधुनिक युगमा प्रवेश गरेका अन्य साहित्यहरू पनि छन्, जसले आफैंलाई विश्वमानचित्रमा बलियो हुँकारका साथ स्थापित गरिसके । अधिकांश उत्तरऔपनिवेशिक राष्ट्र र तेश्रोविश्वका भनिएका राष्ट्रहरू सन् १९५० पछि  (साहित्यका हिसाबले) आधुनिकताको युगमा प्रवेश गरेका हुन् र त्यसको सापेक्षतामा हामी केही दशकअगाडि नै आधुनिक युगमा प्रवेश गरेका हौं । अफ्रिकी साहित्यमा आधुकिताको इतिहास चालीस वर्षको पनि छैन । वास्तवमा त्यो पूर्णतया उत्तर–औपनिवेशिक साहित्य हो । फारा जसमिन ग्रिफिन भन्छन्, “बितेका तीस वर्षमा अफ्रिकी मूलका लेखकहरूबाट साहित्यको विष्फोटन नै भएको छ । काला समुदायका लेखकहरूले युगौंदेखि साहित्य लेख्दै आएका भए तापनि यसबेला उनीहरूको साहित्य संस्थागत भयो र यसको बजार र अध्ययन–अध्यापन व्यवस्थित भयो (१६५) ।” नगण्य साहित्यको बाटोबाट आधुनिकतामा प्रवेश गरेर एक शताब्दी पनि नुपुग्दै आज अफ्रिकी साहित्य विश्वसाहित्यको एक विशाल हिस्सेदार बन्न पुगेको छ, र गुन्टर ग्रास, वोले सोयिङ्का, चिनुवा अचेबे र जी. एम. कोयट्जीजस्ता शिखरहरू जन्माइसकेको छ ।  तनुरे ओइजाडे भन्छन्, यसको कारण हरेक अफ्रिकी लेखकमा “कुनै न कुनै प्रकारले नेग्रो हुनुको विशिष्ट अनुभव मुखरित गर्ने प्रवृत्ति हो” (४६) । उनी अगाडि भन्छन्, “आधुनिक आफ्रिकी साहित्य अफ्रिकाको निजी आस्था, विश्वदृष्टिकोण र लोक परम्परको धरोधरबाट निर्दिष्ट छ । युरोपकै भाषामा लेखिएको भए पनि यसले अफ्रिकी विशिष्टतालाई बोकेको छ” (५६) । यही सत्य अफ्रिकी–अमेरिकी लेखकहरूको पनि यथार्थ हो । यस यथार्थका विशिष्ट उदाहरण हुन् मेल्विन बी टोल्सन, रोबर्ट हेडर र रिता डोभ, जसले आफ्नो लेखनमा “अफ्रिकी–अमेरिकी जीवन र इतिहासका प्रसङ्गहरूलाई” समाविष्ट गरेर पाठकलाई मार्गदर्शन गरेका छन्” (लौरी रामे ४१)
आजसम्म विश्वमा आफूलाई स्थापित गरेको अफ्रिकी साहित्य र गैरयुरोपेली आदिवासी साहित्यलाई (जस्तै अस्ट्रेलियाली आदिवासीको साहित्य) हेर्दा हामी मूल रुपमा तीन प्रवृतिहरू पाउँछौः “सांस्कृतिक राष्ट्रवाद, साहित्यिक विलक्षणता र आदिवासी हुनुको गौरव–वोध” (आदम सुमेकर, २७९) । यी तीनै किल्लामा नेपाली कविताको आवाजले विश्वआकाश कम्पित पार्न सकेको छैन, जसको धेरै कारणहरूमध्ये सांस्कृति र मौलिक नेपाली ज्ञान र विम्बविधानमा उभिएका कवि र कविताको उपेक्षा हुनु, यस्ता राचनालाई साम्प्रदायिकताको साँगुरो दृष्टिले हेुरिनु सीमान्तकृत गरिदिनु, पश्चिमा विचारको सिको गर्ने कविताले बढी फेसनेबल चर्चा पाउनु, मौलिक कविता मौलिक विम्बहरू भएकै कारण अनुवाद नुहुनु आदि । फलतः विश्ववजारमा हामीले आफ्ना वास्तविक ताकत पठाउन सकेका छैनौं ।

अफ्रिकी र अफ्रिकी–अमेरिकी साहित्य पचासको दशकमा आधुनिकतामा प्रवेश गरेको हो । आदिवासी हुनुको गौरववोध र आफ्नो सभ्यताको विकासका आदिम जराहरूको खोज केरिबियाली आधुनिक साहित्यको पनि मूल कथ्य हो । लिजाबेथ पाराभासिनी गेवर्ट भन्छन्, “आधुनकतावादका दौरान एकपछि एक आएका विभिन्न साहित्यक प्रवृतिमा केरिबियाली साहित्यको सबैभन्दा महत्वपूर्ण कथ्य आफ्नो सभ्याताको जरो अफ्रिकी सभ्यतामा छ भन्ने हो ।” (६९०) यसबाट डेरेक वाल्कोट र भलेरी ब्लुमजस्ता हस्ती जन्मिए, र आफ्नै सभ्यताको गीत गाएर अमर भए ।

लेटिन अमेरिकी आधुकिता पनि उत्तरऔपविशिक युगकै आधुकिता हो । पचासवर्षभित्र आज लेटिन अमेरिका विश्वसाहित्यको मानचित्रमा एउटा हिमालजस्तो भएर उभिएको छ । पाब्लो नेरुदा, भार्गस ल्होसा र गेब्रियल मार्खेजको उपस्थिति एक डरलाग्दो उपस्थिति हो । नेरुदा निजी यथार्थका नवीन गायक हुन भने भार्गस ल्होसा र गेब्रियल मार्खेज आफ्नो मौलिक अभ्यासबाट चर्चामा आएका हुन्, जसको जग लेटिन अमेरिकाको विशिष्ट जीवन अनुभव र मिथकको जगमा आएको छ । मार्खेजको लेखनबारे जुअन क्यास्ट्रो भन्छन्, “मार्खेजको जादुवी यथार्थवाद लेटिन अमेरिकाको आन्तरिक यथार्थ हो” (हहष्ष्) । पश्चिमकै अनुकरणमा, या पश्चिमकै प्रभावमा लेखिएका लेटिन अमेरिकी साहित्य पनि “पश्चिमा सुनामीसँग स्थानीय रुखको कुस्ती हो” (ऐ. ह्ह्)

इमानुएल नेल्सन भन्छन्, “कालाहरू, अफ्रिकीहरू र आदिवासीहरूको साहित्यमा एउटा समानता छ — सांस्कृतिक ऐक्यको खोजी, जसमा “स्व”को स्वतन्त्र र स्वस्थ अनुभूति विकसित होस्, जसमा सामूहिकतामा शक्तिको खोजी होस्, जसमा साझा विगतको पुनरनिर्माण होस्, दमनकारी संकथनको पारजय होस्, पारम्परिक उत्सव र विधिहरूको पुनर्रचना होस्, र कालो हुनुको यथाथलाई सगौरव उत्सवमयी बनाइएको होस् ।” (१२)

अफ्रिकी र केरिबियाली साहित्यभन्दा पनि ढिलो, अझ हामीभन्दा पनि दशकौं ढिलो आधुनिकतामा प्रवेश गरेको अरब साहित्य र चिनीया साहित्यले सेरेना इभादी, खलिल गिब्रान, एडवार्ड सेड, हा जिन र मोयानजस्ता हस्ताक्षर तयार गरेको छ । खलिल गिब्रानले प्रेमको व्याख्यामा अभूतपूर्व कलात्मकता दिए भने, अन्य लेखक र उनीहरूसँगै लेखनमा आएका एक विशाल समूहले आफ्नै संस्कृति र सभ्यताका मौलिक कुराहरू गरे । “अरब संस्कृतिमा आम संस्कृतिको केन्द्रिय विशिष्टता हुन्छ, र यसको साहित्य भनेको आफ्नै आम संस्कृतिका विविध स्वरुपप्रतिको प्रतिक्रिया र सम्वाद हो ” (अनास्तासिया भालासोपौलोस ३) । यसको पुष्टि खालिद हुसैनी र जामिल अहमदका आख्यान हुन् । लि ह्वा– यिङ् (२०१०) का अनुसार सन् १९१८ तिर आधुनिक युगमा प्रवेस गरेको चिनिया साहित्यले आजसम्म आउँदा सिल्कोजस्ता चमत्कारिक डायस्पोरालाई जन्म दियो, जसले चिनिया मिथकको जगमा साहित्य लेखेर पुसकार्ट पुरस्कार र जिनियस पुरस्कार जिते । यही मार्गमा पुसकार्ट र हेमिङवे पुरस्कार जितेका हा जिनले चिनको लघुइतिहासमा उभ्याइएको उनको साहित्यमार्फत विश्वमा चिनको नयाँ पहिचान स्थापित गरे भने मो यानले त नोबेल पुरस्कारै जिते । भारतको त के कुरा गर्नु, विश्वसाहित्यमा १९१३ सालतिरै टेगौरको चमत्कारिक उदय, र त्यसपछि वर्तमानसम्म आउँदा सल्मान रुसदी, अमिताभ घोष, अरुन्धती रोय, अनिता देसाइ, निसिम इजेकियल र कमला दास विश्वसाहित्यका अभिन्न नाम हुन पुगेका छन् ।

पश्चिमा र युरोपेली साहित्य र गैर–युरोपेली साहित्यलाई छुट्याउने एउटा मूल प्रवृत्ति हो, उनीहरू समस्त युरोपभरि समानताको वकालत गर्छन् र त्यसै समानतालाई ल्याकत मान्छन् । गैरपश्चिमा मुलुकको साहित्य भनेको बहुलताको साहित्य हो, र भिन्नतामा हामी शक्ति देख्छौं । यो हाम्रो सभ्यताको उपज हो, जो सधैँ भिन्नताकै उत्सव मनाएर विकाशित भएर पनि एक छ । गैरपश्चिमी साहित्यको सन्दर्भमा होमी के भाभा भन्छन्, “स्थिर सांस्कृतिक विभिदताभन्दा सांस्कृति भिन्नताका वाचाल अभिव्यक्तिहरू शक्तिशाली हुन्छन्, र यो शक्ति लेखनको विविधताले प्रदान गर्नसक्छ” (३६) । यस्तो शक्ति हाम्रो सभ्यताको अणुवांशिक प्रवृत्ति हो ।

आधुनिकताको एक शताब्दीभित्र नेपाली कविताको अन्तर्राष्ट्रिय उपस्थिति कमजोर हुनु नेपाली काव्यप्रेमीहरूका लागि चिन्ताको विषय हो । हामी एकपछि एक वादहरूका अन्वेता पनि भयौं । विभिन्न गुठ–उपगुठमा पनि विभक्त भयौं । हाम्रा वादहरू दरिलो प्राज्ञिक थलोको जगमा पनि उभिन सकेनन् । आफैं इमान्दार नरहेका राजनेताप्रति हामी बढी इमान्दार भयौं र आयातित सिद्धान्तको हुरीमा आफैंलाई बिर्सियौं । कतिपय प्रयोग फगत कविताविलास मात्रै पनि बने । कतिपय वादहरू दुईतीन जनाको बीचमा सीमित भए, र उत्तराधिकारी जन्माउन सकेनन् । कतिपय वाद र अभ्यास शुरु हुनुका पछाडि कुनै गतिलो सैद्धिान्तिक तर्क पनि थिएन र त्यसले प्राज्ञिक अनुमोदन पनि पाएन । हामीले काव्यशिल्पको त्यो उच्चतम नमुना, जसलाई कवि मेथ्यू आर्नोल्डले टचस्टोन भनेका छन्, सायद निर्माण गर्न सकेनौं । श्रृजनशील अराजकता, रङ्गवाद र संरक्षण कविता आन्दोलन जस्ता मौलिकताको खाजी गर्ने सार्थक र सुन्दर प्रयासहरू भएका छन् त तिनीहरूका सुन्दर उपलब्धी हामीसँग छन् । तर तिनीहरूलाई विश्ववजारमा पु¥याउन हामीले इमान्दार प्रयास गर्न सकेका छैनौं । वास्तवमा मौलिक नेपाली ज्ञान, नेपाली हुनुको विशिष्ट अनुभव, नेपाली मिथक, इतिहास र भुगोल र नेपालको अथाह सांस्कृतिक निधिमा टेकेर धेरै कविहरू आएका हुन् र आज पनि आइरहेका छन् । तर अनुवादकले तेस्ता काव्यको अनुवाद गरेको पाइएन ।

काव्यसामथ्र्यको मूल्याङ्कन गर्न हाम्रा आफ्नै कसीहरू हुनुप¥थ्यो जसलाई विश्वको गैरपश्चिमा साहित्यको सापेक्षतामा हाम्रो समालोचनाले निर्माण गर्नुपथ्यो । तर त्यो भएन । आज पनि हामी रुपवादी र प्रभाववादी, तथा पश्चिमको सिको गर्नेखाले समालोचनाबाटै ग्रस्त छौं ।

दोष समालोचना र अनुवादको मात्रै होइन । हाम्रो मसस्त काव्यलेखनमाथि पनि गम्भीर बहस हुनसकेको छैन । हाम्रा काव्यशिखरहरू पनि आ–आफ्नै दोषहरूमा अल्झिइरहे र विश्वसाहित्यमा विशिष्टताको दावी गर्न सकेनन् । देवकोटामा प्रमिथस र शाकुन्तलका आयातित विषय पाहाड बनेर उभ्भिदिए र हामीले देवकोटामाथि विराट प्रभाववादी समस्याकै कारण कहिल्यै वस्तुगत रुपमा घनिभूत समालोचनात्मक वहस गरेकै छैनौं । सिद्धिचरण शुरुका दिनमा वर्डस्वर्थ र शेलीका नेपाली प्रवक्ता हुँदै क्रान्तिको नेपाली संस्करणका उन्नायक बने, जुन महत्वपूर्ण अवस्य थियो, तर नयाँ थिएन । सममा सेक्सपियरको ग्रहण सबैले देखे ।
नेपाली साहित्यको सन्दर्भमा पश्चिमा साहित्यका प्रवृत्ति, शक्ति र सीमाभन्दा हामी नेपालीहरूले गैर–पश्चिमा साहित्यका प्रवृत्ति, शक्ति र सीमाबाट बढी पाठ सिक्नुपर्दछ । गैरपश्चिमा साहित्यको पछिल्लो प्रवृत्ति आफूलाई पृथकतमा उभ्याउने प्रयासमा छ । अफ्रिकी–अमेरिकी आधुनिक साहित्य “आफ्नो लोकपरम्परा र मौखिक कथ्य परम्परकोको उद्भवको उत्खननतिर प्रवृत्त छ, र आफैंलाई फरक र विशिष्ट देखाउनुपर्ने दायित्वावोधबाट प्रेरित छ”   (इरिल ९९) । हामी यसबाट केही सिक्न सक्छौं । हाम्रा निजी भावनात्मक कुरा, जसले कुनै नवीन विश्वदृष्टि दिँदैन, अब कसैको चासोका विषय बन्न सक्दैनन्  ती जति नै “पोलिटिकल्ली करेक्ट” किन नहुन् ।

हामी कहिल्यै उपनिवेषित भएनौं भन्ने तर्कलाई हामीले कहीँनिर पनि “क्यास” गर्न सकेको भान हुँदैन, र सैद्धान्तिकरण      (थ्योराइज) गर्न पनि सकिएन । साहित्यमा त सक्दै सकेनौं । यो समालोचकहरूको पनि समस्या हो । सिद्धान्तको तहमा उपनिवषवादले नछोएको तेस्रो विश्वको एक विशिष्ट साहित्यक सिद्धान्त हामी संसारलाई दिन सक्थ्यौं । त्यतातिर हाम्रो समालोचना र अनुसन्धान गएन । सेमिटिक सभ्यताहरू जो एकअर्काको आम्ने–सम्ने हुँदा सधै धर्मयुद्धका शिकार बने, तर हिन्दू, किराँत र बौद्ध सभ्यताको मूल नेपालमै हुँदा कहिल्यै धर्मयुद्ध भएन, कारण यी तीनै विराट सभ्यताको मिथकीय धरातल एक थियो, या समान थियो । यसबाट सभ्यताहरूको अन्तरसम्वन्धबारेका नवीन सिद्धान्त हामी दिन सक्थ्यौं, तर गरेनौं । हामी छिमेकको वस्तुस्थितिको सापेक्षतामा टापु बनिरह्यौं ।  हाम्रा लागि साहित्य, या भनौं कविता औड्रे लोर्डेले भनेजस्तै “विलास” नभएर आवश्यकता हो, तर यो आवस्यकतालाई सैद्धिान्तिकता प्रदान गर्न हाम्रो कर्मकाण्डीय समालोचनाले सकेन । (११६)

उत्तर–औपनिवेशिक र उत्तरआधुनिक समयमा गैरपश्चिमी मुलुकको साहित्य भनेको पहिचानको साहित्य हो  । आज नेपाली कविता “पहिचानको कविता” हुन थालेको भान हुन्छ । पहिचान दुई खाले — आन्तरिक र बाह्य । आन्तरिक छँदै छ, जसलाई हामी राजनैतिक अभ्यासबाट समाधानतिर लगिरहेका छौं । हामीले अब पनि नेपालभित्र पहिचान पाएनौं भने त्यो, हामीले आफ्नै समुदायबाट चुनेर हामीले नै संसदमा पठाएका हाम्रै लाछी जनप्रतिनिधिहरूको गैरइमान्दारीका कारण हुनेछ ।  तर बाहिरी विश्वसामु विराट ज्ञानजन्य पहिचानका सन्दर्भमा सम्पूर्ण नेपाल एउटा आवाजविहिन सबाल्टर्न हो र त्यो आवाजविहिनतालाई वाचाल बनाउने कुनै सरकारी प्रयास हुँदैन । त्यो साहित्यले गर्न सक्छ, र यसका लागि हामी सबै एकै स्वर लिएर उठ्नुपर्छ  । हाम्रो धेरैजसो कविता आन्तरिक राजनीतिमा धरै अल्झियो, जुन आवश्यक त हो, तर यसका लागि धेरै विकल्प भएकाले अनिवार्य भने कदापि होइन । कविको उर्जा त्योभन्दा महान अभिप्रायमा प्रयोग हुनसक्थ्यो, जुन सकेन ।

विश्वबजार र ज्ञानको फैलावटले उत्तराधुनिकतामा प्रवेश गरेसँगै हामी पनि वैश्विक भएका छौं र अब हामी टापु बनिरहन सक्दैनौं । अन्तराष्ट्रिय क्षितिजमा जानु हाम्रो आवस्यकता हो । मञ्जुश्री थापाको दृष्टिकोण सत्य हो, कि अहिले, नेपाली लेखनका दुई प्रमुख उद्देश्य हुन् — आफ्नै घरेलु पाठकसम्म पुग्नु, र विश्वका पाठकसमक्ष पुग्नु । (७२)   त्यसैले अब हामीलाई जाँच्ने कसी पनि वैश्विक नै हुनुपर्छ । हामीले कम्मर कस्नुपर्छ । वैश्विक मापदण्डमा कमजोर सिद्ध हुनु हामीले माल पाएर चाल नपाउनुभन्दा अरु केही होइन ।
हामी के गर्नसक्छौं? यसको उत्तर जटिल छ । हामीले केही सचेत प्रयास गर्नसक्छौं । समालोचना, सम्पादन, संग्रह र अनुवादमा लाग्नेहरूले आफ्नो निजी सजिलो–अप्ठेरो र चिनजानको आधारलाई त्यागेर मौलिक नेपाली ज्ञान र सांस्कृतिक सामथ्र्य बोकेका नेपाली साहित्यलाई प्रश्रय दिनुपर्छ । त्यस्ता कविता धेरै धेरै छन्, र आइरहेका पनि छन् । तर प्राथमिकतामा परेका छैनन् त्यो सत्य हो । विश्वपाठकको मानेविज्ञानलाई पनि हामी अध्ययन गर्न सक्छौं । हामी नितान्त नेपाली मौलिक कुरा दिन सक्छौं विश्वलाई । हाम्रो आफ्नै ज्ञानपरम्परा (एपिस्टेमोलोजी) छ, जुन विश्वसँग छैन । हिमालयन सभ्यताको अद्वितीय अनुभवका उत्तराधिकारी हामी हौं । तीन महान सभ्यताको त्रिवेणीबाट हामी विश्वलाई शान्तिको वैकल्पित सिद्धान्त दिन सक्छौ । हामी साहित्य र प्रकृतिको अनुन्यास्रित सम्वन्धका बारेका नयाँ सिद्धान्तहरूका प्रणेता बन्न सक्छौं । पश्चिमा उपनिवेशको आगोले विश्वलाई खाइसक्दा पनि स्वतन्त्र रहेका हामी आफैंमा सुरक्षाको नयाँ सिद्धान्त (सर्भाइबल स्ट्रेटजी” हौ ।

हाम्रो समालोचना पद्धतिमा बीसौं शताब्दीमा पश्चिमा जगतमा आएका वा देखिएका प्रभावकारी सिद्धान्त र वादहरूको उत्कर्षको समयसँग सोही सिद्धान्त र वादको आलोकमा नेपाली साहित्यलाई मूल्याङ्कन गर्ने चलन छ, जो समालोचनाको स्वच्छतामा एउटा गम्भीर त्रुटिहो । वादहरू विश्व धितोबजारको सूचकाङ्कजस्ता हुँदैनन् जो न्यूयोर्कमा बढ्दा–घट्दा टोक्योलाई कम्पित गराउन् । वादहरू स्थानसापेक्ष हुन्छन्, र स्थानीय आवश्यकता, राजनीति, परिस्थिति, चिन्तन, दर्शन आदिले तिनीहरूलाई अनुमोदन गर्दछ, परिमार्जन गर्दछ वा पूर्णतामै नकार्दछ । त्यसैले, फ्रान्समा उत्तरआधुनिकता, या जर्मनीमा अस्तित्ववाद आउँदा हामीकहाँ आउनैपर्छ र त्यसै बेला आउनुपर्छ  भन्ने केही छैन । र वास्तवमा त्यो हुँदैन पनि । भएको पनि छैन । कुनै वादले पूर्णतामा कुनै साहित्यलाई स्पर्श गर्नलाई धेरै कुरा एकैचोटि तयार हुनुपर्छ ।

आधुनिकता मानसिकता हो, भौतिक वस्तुस्थित होइन । भौतिक विकासका दृष्टिले नेपाल पूर्वआधुनिक देश हो, र हाम्रो साहित्य आधुनिक । पाश्चात्य आधुनिकताभित्र विसङ्गतिको टट्कारो  वोध र त्यसभित्र अन्तर्निहित सङ्गतिको खोजी आज नेपाली साहित्यको सन्दर्भमा देखिँदैछ । उत्तरआधुनिकताका वाह्यमार्गी र सतही प्रवृत्तिका धेरैजसो प्रयास नेपाली साहित्यमा अस्वीकृत हुने सम्भावना बढी छ, कारण तिनीहरू कि एउटा सीमित प्रज्ञिक कोटरीमा सीमित भएका छन्, कि लेखक र पाठकको अमूर्त समुदायबाट अस्वीकृत हुँदै आएका छन् । उत्तरआधुनिक साहित्यिक अभ्यासका लागि नेपाल अझै परिपक्व भएको छैन भन्ने कुराको द्योतक हो यो ।

त्यसैले हामी सबै नेपाली कवि, समालोचक र कविताप्रेमीले एकपल्ट एक गम्भीर प्रयास गर्नु आवश्यक छ । विश्वसाहित्यको साझा आकाशमा हामीले आफ्नो बौद्धिकता स्थापित गर्न सक्नुपर्छ । राजनीतिमा जस्तो ज्ञानको प्रतिष्पद्र्धामा हामीले समावेशीकरण र आरक्षण खोज्नु हास्यास्पद हुनेछ । साहित्यको वैश्विक आकाशमा हामी उपेक्षित हुनु र हाम्रो उपस्थिति तीलजति पनि नुहुनेले हामीलाई गम्भीर आत्मचिन्तन गर्न प्ररित गर्नुपर्छ ।

हामीले नेपालको मौलिकता लेख्ने कविहरूलाई नयाँसिराबाट अध्ययन गर्नुपर्छ । हुन त जेसुकै लेखे पनि मौलिक र नयाँ हो र त्यहाँ मौलिक ज्ञान र संस्कृति हुन्छ र त्यसलाई पाठक र समालोचकले हेर्न जान्नुपर्छ भन्ने तर्क पनि नसुनिएको होइन । तर, कविताका जति आयाम भए पनि त्यसबाट हुँदैनभएको कुरा समालोचनाले टी. एस. इलियटले भनेजस्तो “लेमन स्वीजिङ्” गरेर निकाल्न सक्दैन । हामीले भगवानजस्ता बनाएका केननमाथि पनि आज बस्तुगत र गम्भीर समालोचना (आवश्यक परे आलोचना पनि) लेखिनुपर्छ, ताकि देवकोटाजस्ता सगरमाथामा पनि किन अत्तर्राष्ट्रिय हुन सकेनन्, त्यसबारे हामी स्पष्ट हुन सकौं ।
अन्तर्राष्ट्रियकरणका नाउँमा हामीले नेपालबाहिर बसेका नेपालीहरूकै घेट्टोमा कविता पाठ गरेर पुग्दैन । हामीले विश्वबजार, विश्वविद्यालयका पाठ्यक्रम, विश्वका अनुसन्धानका प्रकल्पहरू र विश्वस्तरका पुरस्कारहरूका लागि आफूलाई योग्य बनाउनैपर्छ । हामीले खगेन्द्र लुइँटेले निकालेको निचोडबाट पनि केही चिन्तन गर्नैपर्छ, “हतारिएर कवि बन्ने ध्याउन्नतर्फ लाग्नुभन्दा आफ्नो निजी पहिचान दिनसक्ने कवित्वपूर्ण र गुणात्मक मूल्यका कवितसिर्जना गरी कविताको उन्नयनतर्फ कविहरू प्रवृत्त हुनु वाञ्छनीय छ” (४४६) । हामीजस्तै पछाडिएका मुलुकहरूले गरेर देखाएको कुरा हामी आफ्नै आन्तरिक उल्झनले गर्न सकिराखेका छैनौं । फलस्वरुप, हाम्रो कवितको स्तर प्रश्नको घेरामा रहि नै रह्यो । केही पूर्वाग्रही र सिम्प्लिष्टिक भए पनि लक्ष्मण गौतमको यो टिप्पणी विचारोत्तेजक भने अवश्य छ :

समग्रमा भन्नुपर्दा सकारात्मभन्दा नकारात्मक प्रवृत्तिलाई समकालीन नेपाली कविताले बढी मुखरित गरेका छन् । भाषिक सरलता भए पनि सरलताका नाममा सपाट वर्णनमात्र देखिनु, विचारको आधिक्यले कलापक्ष शिथिल हुँदै जानु, विद्युतीय र छापा माध्यमबाटसमेत स्तरहीन  रचनाको अधिमूल्यनका साथै प्रचारप्रसार हुनु, प्रयोगको आग्रहस्वरुप मानकलाई भत्काउने प्रयास गर्नु, राजनीतिक आग्रह बढी देखिनु आदि समकालीन नेपाली कविताका सीमा हुन् (२०६६, पृ.५९६)

आगामि दिनमा हामी विश्वसाहित्यको स्पर्श नपुगेको कुनै नवीन यथार्थको उत्खनन् गर्न सक्छौं । यो कठीन छ र बृहत रुपमा आधुनिक नेपाली कविताको इतिहासमा यसका लागि कहिल्यै समूहिक प्रयास भएकै छैन । आधुनिक नेपाली कविताका लक्षणमा मौलिक ज्ञानको खोजी कहिल्यै परेन । मोहनराज शर्माले रेखाङ्कित गरेका आधुनिकताका लक्षणमा क्लिष्टता र दरुहता, कुण्ठा र निराशा, प्रेम, देशप्रेम र प्रकृतिप्रेम, बेथितिको विरोध, यौनवाद र रतिरागात्मकता, मामिृकता र व्यङ्ग्यजस्ता विषय परे (२०५२), तर मौलिक ज्ञानको खोजी, कहिँनिर पनि परेन । त्यसैले, हामी आफ्नो काव्यलाई आफैंतिर फर्काउन सक्छौं । आफ्नै मौलिक ज्ञानको धरातलमा उभिएका काव्य र काव्यसाधकहरूका इतिहासभरि छरपस्ट छरिएका कवितालाई हामी पुनर्पठन, सङ्ग्रह र अनुवाद गर्न सक्छौं । हाम्रा कविताको विम्व–विधानमा हामी आफ्नो सभ्यता, संस्कृति, इतिहास, लघुइतिहास, लोकजीवन, स्थानीय रङ् आदि विशिष्ट निधिहरूको थप प्रयोग गर्न सक्छौं जसले विश्वको पाठक कुनै नविन ज्ञानको श्रोत हाम्रो काव्यमा पाउने छ । यस साझा प्रयासलाई “रोमान्टिक रिनासा” भन्न सकिएला ।

किन मिथक? भूगोलको पूर्व, जहाँ हामी अवस्थित छौं, यो समाज फ्रायडले भनेजस्तो व्यक्तिगत अवचेतनबाट भन्दा कार्ल युङ्ले भनेको सामूहिक अवचेतनबाट निर्दिष्ट छ, र सामूहिक अवचेतनको असीम अभिलेख हाम्रो मिथक हो । मिथककै जगमा उभिएको हो हाम्रो पुर्वेली संस्कृति र दर्शन । हामी जति धेरै जातजातिमा विभक्त छौं, हामीसँग त्यति नै धेरै मिथकहरू छन्, र लेभी स्ट्रसको शब्दमा भन्ने हो भने ती भिथकहरूका “मिथिम” अर्थात आद्यप्ररुप जतिपल्ट उल्था गरिए पनि, र जति युगसम्म प्रयोग गरिरहे पनि मर्दैनन्  । जे मेखपर्सन, त्यसैले मिथकलाई मानव सम्भताको सुन्दरतम कथा मान्छन् । यी सुन्दरतम कथा भनिएका हाम्रा मिथकहरू हाम्रा कविहरू धेरै पस्किसकेका भए पनि खोई, तिनीहरूले उचित मूल्याङ्कन पाएको देखिएकै छैन । हिन्दू, किराँत र बौद्ध संस्कृतिको उद्भव र प्रकृति–उपासनाबाटै अगाडि बढेका हाम्रो यति धेरै समुदयहरू छन्, जोसँग कुनै न कुनै मौलिक ज्ञान छ ।  यो देश यस्ता अनमोल निधिहरू र अनुभवहरूको खानी हो । हामी त्यतातिर फर्कनु आवश्यक छ । समालोचक यदुनाथ खनालले यसको आवश्यकताको बोध १०१७ सालतिरै भएका यस्ता प्रयासको सराहना गरेका थिए, “राष्ट्रिय साझा भावनाको खोजतलासमा, राष्ट्रियताको खोजतलासमा, नेपालको अलग व्यक्तित्वको खोजतालासमा, नेपाली इतिहास, लोकगीत, लोकनाच, साहित्य आदि कुरामा प्रयास भएको छ, त्यसको उद्देश्य हाम्रो आफ्नै अनुभूतिलाई तिखार्नु हो”   (२०६) । तर यी प्रयास संगठित भएनन्, र बिलाएर गए ।

आजको राजनैतिक मानचित्रको नेपाल, र नेपाली सभ्यताको आयतनमा फैलिएको अमूर्त नेपालको अथाह ज्ञान धरोहरबाट टिपेर हामीलाई तपाईहरू कविता दिनुहोस् । हामी अनुवाद गर्छौ, विश्ववजारमा लिएर जान्छौ र विश्वसँग गम्भीर काव्यिक बहस गर्छौ । समालोचकहरूले विभिन्न नाममा पश्चिमा सिद्धान्तको पूर्वी संस्करण पस्कँदै लेखक र पाठकलाई “नयाँ” भनेर अल्मल्यउन अब सक्दैनन् । आयातित उत्तरअधुकिताभन्दा हामीले आफ्नै प्रकृतिको विशिष्ट आधुनिकता खेज्नुपर्छ । यी सबै प्रयासलाई हामी काव्यबाट शुरु गर्न चाहन्छौं र यो प्रयासलाई हामीले “कवितामा नेपाल” भनेका छौं । यहाँनिर नेपाल भन्नाले राजनैतिक भुगोलको नेपाल साथै विश्वभरि छरिएका आप्रवासी र डायस्पोराले बोकेको अमूर्त तर बलियो नेपाल पनि हो । यस प्रस्तावमा कवि, अनुसन्धाता, समालोचक, अनुवादक, प्रकाशक र उदार दाताको मिलनको खाँचो छ, जसको प्रयास हामी गरिरहेका छौं । हामीलाई साथ दिनुस्, हामी नेपाललाई विश्वमानचित्रमा साहित्यमार्फत “वैकल्पित ज्ञानको केन्द्र” का रुपमा स्थापित गर्ने गम्भीर, इमान्दार र प्राज्ञिक प्रयास गर्नेछौं ।



सम्दर्भ (नेपाली)

खनाल, यदुनाथ. यदुनाथ खनालको समालोचना. सं. डिल्लीराम मिश्र.  काठमाडौं ः नेपाल प्रज्ञा–प्रतिष्ठान, २०६८ ।

गौतम, लक्ष्मण. “आधुनिकता र आधुनि नेपाली कविता ।” सरमाथाको नृत्यमग्न आत्मा. सं. मोमिला. काठमाडौं : नेपाली कलासाहित्य डटकम प्रतिष्ठान, २०६५. पृ. क–ल ।

गौतम, लक्ष्मण. नेपाली समकालीन नेपाली कविताका प्रवृत्ति. काठमाडौः पैरवी प्रकाशन, २०६६ ।

लुइँटेल, खेगेन्द्रप्रसाद. कविता सिद्धान्त र नेपाली कविताका इतिहास. काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०६० ।

शर्मा, मोहनराज. “नेपाली काव्यसमालोचना ।” काव्य समालोचना. सं. नरेन्द्र चापागाई र दधिराज सुवेदी. बिराटनगर ः पूर्वाञ्चल साहित्य–प्रतिष्ठान, २०५२. पृ. ६८४–६८५ ।

References (English)
Bhabha, Homi. The Location of Culture. New York: Routledge, 1994.
Castro, E.De. The Spaces of Latin American Literature: Tradition, Globalization and Cultural Production. New York: Palgrave McMillan, 2008.
Griffin, Farah Jasmine. “Thirty Years of Black American Literature and Literary Studies: A Review” Journal of Black Studies 35.2, Special Issue: (Nov 2004) 165-174.
Irele, F. Abiola. The African Imagination: Literature in Africa and the Black Diaspora. New York: Oxford University Press, 2001.
Lorde, Audre. Sister Outsider. New York: Crossing, 1984.
Miller, Nicola and Stephen Hart (Ed). When Was the Latin America Modern? New York: Palgrave McMillan, 2007.
Nelson, Emmanuel S. (Ed) . Connections. Canberra: Aboriginal Studies Press.  1988.
Ojaide, Tanure. “Modern African Literature and Cultural Identity.” African Studies Review 35. 3 (Dec., 1992), 43-57.
Paravisini-Gebert, Lizabeth. “Carribean Literature in Spanish.” The Cambridge History of African and Caribbean Literature. Ed. F. Abiola Ireli and Simon Gikandi.  Cambridge: Cambridge University Press, 2012. 670-710.
Ramey, Lauri. Slave Songs and the Birth of African American Poetry. New York: Palgrave McMillan, 2008.
Riccardi, Theodore. “Himalayan Voice: An Introduction to Modern Nepali Literature.” Rev. of Michael Hutt's Himalayan Voice. Bulletin of the School of Oriental and African Studies 56.1. London: University of London,1993. 157-158.
Shoemaker, Adam. Black Words White Page: Aboriginal Literature 1929-1988. Canberra: The Australian National University, 2004.
Thapa, Manjushree. “Reaching One's Own People, Reaching the World.” Manoa 13. 2. Secret Places: New Writing from Nepal (Winter, 2001): 67-73.
Valassoopulos, Anastasia. Contempoary Arab Women Writers. Abingdon: Routledge, 2007.

Ying, Li-Huwa. A Historical Dictionary of Modern Chinese Literature. Plymouth: The Scarecrow Press, Inc., 2010. 

Comments

Popular Posts

Introduction to some prominent Nepali poets prepared by Mahesh Paudyal

Dharabasi’s Radha: A Critical Introduction