कहाँ दुख्छ घाउ?
(साउन 9, 2072 को अन्नपूर्ण पोष्ट) — महेश पौड्याल असार महिना बिदा भएर साउन लागिसकेको छ । नेपाली साहित्यका प्रेमीहरूका लागि असार सम्झनाको महिना हो — पोल्टाभरि लिएर आउँछ अतीतका धेरै मृदु सम्झनाहरू । प्रज्ञाप्रतिष्ठानको स्थापना र राष्ट्रिय कविता महोत्सव, भानुभक्त आचार्यको जयन्ती, आसर पन्ध्रको महामण्डल साहित्यक यात्रा र सम्मान अर्पण, अनि अनेकानेक त्यस्ता साहित्यक अनुष्ठानहरू, जो असारमा निरन्तर परिरहने वर्षाको मुच्र्छनासँग हामीलाई छुन आउँछन्, र हल्लाएर जान्छन् । यी देशै हल्लाएर जाने उत्सवमा सबै तल्लिन भइरहँदा घामपानी झेल्दै बागबजार–अनामनगरका सडक र गल्लीहरूमा मैले भर्खरै एक जना तन्नेरी कवि पुरु लमशालाई भेटेँ, जो असारमा सुटुक्क आएर जाने अर्को एउटा मितिलाई सूनका अक्षरले लेख्ने अभिष्ट बोकेर हिँडिरहेका थिए, हरिभक्त कटुवालको बृत्तचित्र बनाउन । धेरैले छोडेको नाम, दौँतरीहरूले बिटुल्याएको नाम, र देशले एक प्रकार तिरस्कृत गरेको नाम हरिभक्त कटुवाल उनको मनमस्तिष्कमा थियो र उनी भनिरहेका थिए, म रक्स्याहा हरिभक्त कटुवालको बर्कोमुनि कतै ओझेल पर्न पुगेको सर्जक हरिभक्त कटुवाललाई देशले च...