गौँथली र म


महेश पौड्याल

शिशिरमा मसँगै
माइपोखरी तिरकोजस्तो बाक्लो तुषासो ओढेर,
बर्खामा मसँगै
जोगमाईको बगरजस्तै निथु्रक्कै रुझेर
कहिले वर, कहिले पर
उद्यानहरूबाट चुच्चाभरि जिन्दगी टिपेर हुर्र्किएका हुन्
कठै, यी गौंथलीका बथानहरू ।

कति छिमल उडिसके कति, यी गौंथलीहरू
मेरो घरको धूरीबाट ।
उनीहरूले आकाशमा
मकालु र कञ्जन्जङ्घा जोड्ने पुल हाले
र अलिकति अग्लिए
मैले एउटा पुस्तैनी कुटुम्बसँग नाता तोडेँ
र अलिकति होच्चिएँ ।
उनीहरूले वर्षातसँग पग्लन नपाउँदैको
इन्द्रेणीको रङ्ग टिपेर
धरतीभरि फुलाए गुराँस
अनि आफू पनि अलिकति रँङ्गिए,
मैले, माई किनारमा लाग्ने
बिहिबारे हाटमा जीवनका सबै मृदु रङ्गहरू
थापिदिएँ दाउमा
र खालजस्तै धमिलिएँ ।
सधैँ मिर्मिरेमा घाम बोलाए उनीहरूले
र सुलबुङ्को लेकभरि पोतिएको अँध्यारो पखाले
र अलिकति उज्यालिए आफैँ पनि
सबै उज्यालोमाथि कालो मसीले
आफ्नै नाउँको सहीछाप लगाएर
अलिकति धमिलिएँ म, आफैं पनि ।
आखिर—
मसँगै हुर्किएका गौँथलीका बथानहरू
कहाँ–कहाँ पुगिसक्दा आकाशमा
टाढा–टाढा पुगिसक्दा धरतीमा
म उनीहरूले मेरो उद्यानबाट टिपेको
एकमुट्ठी धानचामलको हिसाब–किताबमा
रात–रातभर अनिदो बसिरहेछु ।
उनी चराहरू यसबेला
इन्द्रेणी सोचिरहेछन् आकाशमा,
जुन बेला म मान्छे
यहाँ धरतीमा
गुलेली सोचिरहेछु ।


Comments

Popular Posts

Introduction to some prominent Nepali poets prepared by Mahesh Paudyal

Dharabasi’s Radha: A Critical Introduction