देवकोटा र नेपाली साहित्यबारे के–के भयो चीनमा यस पालि?



देवकोटा र नेपाली साहित्यबारे के–के भयो चीनमा यस पालि?









यसपालि, अर्थात २०७२ भाद्रको २१ गते देखि २६ गतेसम्म मित्रराष्ट्र चीनको राजधानी बेइजिङ्को प्राज्ञिक जगत तथा साहित्य पारखीले नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटोको उचाइ र नेपाली साहित्यको विस्तारको केही न केही अन्दाज पाएका छन् । नेपालबाट देवकोटा चिनाउन चीन पुगेको देवकोटा–लुसुन प्रज्ञाप्रतिष्ठानको टोलीले बेइजिङ्मै पुगेर गरेको प्रदर्शनी, विचार गोष्टी र प्रवचनले चिनियाँ साहित्यकार र विद्यार्थीहरूबीच देवकोटा बारे चासो जगाएको छ । समालोचक निनु चापागाइँले नेतृत्व गरेको टोलीमा साहित्यकारहरू रामबाबु सुवेदी, रणेन्द्र बराली, हरिगोविन्द लुइँटेल, कृष्ण प्रसाई, मातृका पोखरेल र महेश पौड्याल, तथा गायक जीवन शर्मा सामिल हुनुहुन्थ्यो । टोलीले चार दिन देवकोटाको जीवन र लेखनसम्बन्धी प्रदर्शनी, एक दिन विचार गोष्ठी र एक दिन चीनको रेन्मिन विश्वविद्यालयको प्राध्यापक र विद्यार्थीहरूमाझ विचार विमर्श सम्पन्न गरेर भाद्र २७ गते काठमाडौँ फर्किएको छ ।
बेइजिङ्मा सोही सहरस्थित बेइजिङ् लुसुन म्युजियमले आयोजना गरेको प्रदर्शनी २१ र २२ गते मात्र हुने भनिएकोमा दर्शकहको सुविधालाई ध्यानमा राखी आयोजकहरूले अरु २ दिन थप गरेर २४ गतेसम्म बढाए । उक्त अवसरमा देवकोटाको लेखन र जीवन झल्कने करीब ४० फ्लेक्स प्रिन्ट, २३ वटा चित्रकला, देवकोटाले लेखेका र देवकोटामाथि लेखिएका पुस्तक र पत्रिकाका विषेशाङ्क गरी ९० पुस्तक र एउटा वृत्तचित्र प्रर्दशित गरियो । देवकोटाको लेखनका विभिन्न पक्ष, उनको जीवनी, उनीमाथि बनाइएका विभिन्न कलाकृति तथा आयोजक संस्था देवकोटा लुसुन प्रज्ञाप्रतिष्ठानका विभिन्न क्रियाकलापको विवरण समेटिएको पुस्तक “हार्मनी” तथा देवकोटाका चित्र प्रदर्शनी र गोष्ठी हेर्न वा सुन्न आउने चिनियाँ दर्शक र श्रोताहरूलाई निःशूल्क वितरण पनि गरियो । उदघाटन समारोहमा सबैलाई स्वागत गर्दै बेइजिङ लुसुन म्युजियमका निर्देशक गुओ जुनयिङ्ले पारस्परिक आदानप्रदान जारी राख्नुपर्ने धारणा राखेपछि पाहुना टोलीका तर्फबाट अध्यक्ष निनु चापागाइँले पौराणिक कालदेखि नै कायम रहेको नेपाल–चीन सम्बन्धमा साहित्यक आदानप्रदाभ भने अपेक्षाकृत कम भएको धारणा राख्दै सोको परिपूर्ति हेतु देवकोटा–लुसुन प्रज्ञाप्रतिष्ठानको गठन गरिएको धारणा राख्नुभयो । चीन सरकारको तार्फबाट संस्कृति तथा पुरातत्व ब्युरोका उपनिर्देशक झाङ् जियाशिनले यसप्रकारका आदानप्रसानले दुवै देशको साहित्यक सांस्कृतिक अभिवृद्धिमा टेवा पु¥याउने बताउनु भयो । चीनका लागि नेपाली राजदूत डा. महेश कुमार मास्केले नेपाल–चीन कुटनैतिक सम्बन्धको ६० वर्षगाँठमा यस्ता साहित्यक–सांस्कृतिक कार्यक्रम हुनु सुखद कुरा भएको धारणा राख्नुभयो ।
२२ गते बेइजिङ्कै तपाओ होटलको सभाकक्षमा नेपाली र चिनियाँ साहित्यकारहरूबीच एक विचार गोष्ठी भयो, जसमा समालोचक निनु चापागाइँले देवकोटाका विभिन्न अविस्मरणीय पक्षका बारेमा कार्यपत्र प्रस्तुत गर्दै देवकोटाको जनपक्षीय साहित्य र मानवतावाद लुसुनसँग दाँज्न मिल्ने खाल्को बताउनुभयो । यसलाई पुष्टी गर्दै, रामबाबु सुवेदीले नेपालीमा लुसुनको लोकप्रियाताबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । देवकोटा र लसुनका लेखनमा समान रुपले देखिने परिवर्तनको पक्ष, र उत्पीडित जनताको हकहितको वकालतका बीच तुलनात्मक अध्ययन सम्भव भएको भन्दै गोष्ठीमा बोल्ने चिनीया वक्ताहरूले लुसुनका ती पक्षहरूबारे नेपाली प्रतिनिधिहरूलाई जानकार गराए, जसले लुसुनलाई चीनका महानतम साहित्यकारहरूमध्येका एक बताए । लुसुनले रसियाली उपन्यासकार दोस्तोभ्स्कीले जस्तो बहुल आवाजहरूलाई समेट्दै सधैँ परिवर्तनको पक्षका उभिएको बताउँदै चीनको रेन्मिन युनिभर्सिटीको मानविकी सङ्कायका डीन प्राध्यापक शुन यू ले लुसुन दोस्तोभ्सीकीबाट अत्यधिक प्रभावित भएको बताउनुभयो । पेकिङ् युनिभर्सिटीका प्राध्यापक गाओ युआङ्गदोङ्ले लुसुन ठुला राष्ट्रहरूले साना राष्ट्रलाई विभेद गर्न नहुने, र समान व्यवाहार गर्नुपर्ने भन्ने मत राख्ने लेखक भएको बताउनुभयो । बेइजिङ् लुसुन म्यूजियमकी उप निर्देशक जियाङ् यिनजिन्ले लुसुन सबैखाले अतिरञ्जना र आत्मगत विश्लेषणको सधैँ विरोधी रहेको बताउनुभयो । उदहरणका लागि पेकिङ् अपेरा, केही अतियथार्थवादी चिनियाँ फिल्म र ग्रेटवाल बारेको अतिशय प्रसंशा अनुचित भएको कुरा लुसुनले बताएको प्रसङ्ग सुनाउनु भयो ।

कार्यक्रमको तेस्रो दिन, बेइजिङँस्थित रेन्मिन विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीबीच पुगे नेपालका साहित्यकार । विषय फेरि पनि देवकोटा र समग्र नेपाली साहित्य । समालोचक निनु चापागाइँले देवकोटाको अत्तर्राष्टीय विस्तार र अन्य मुलुकमा देवकोटाजस्तै प्रतिभाहरूबीच तुलनात्माक अध्ययन, तथा मित्र राष्ट्रबीच साहित्यक र सांस्कृतिक आदानप्रदान गर्नका लागि गठिन संगठन देवकोटा लुसुन प्रज्ञाप्रतिष्ठानको प्रकृति, लक्ष्य र उद्देश्यका बारेमा जानकारी गराउनु भयो भने, महेश पौड्यालले नेपाली साहित्यको विगतदेखि वर्तमानसम्मको एक संक्षीप्त सिंहावलोकन प्रस्तुत गर्नुभयो ।
प्रदर्शनीको अन्तिम दिन देवकोटा लुसुन प्रज्ञाप्रतिष्ठान र बेइजिङ् लुसुन म्युजियमका पदाधिकारीबीच द्विपक्षीय विचार विमर्श भयो, जसमा एकअर्काको साहित्यलाई एकअर्काको मुलुकमा प्रचारप्रसार र प्रवद्र्धनका लागि आगामि दिनमा थप नयाँ आधारहरू विकास गर्दै लाने प्रतिबद्धता गरियो । आगामि वर्ष, उक्त म्युजियमको स्थापनाको ६० औँ वर्षप्रवेश तथा लुसुनको मृत्युको ८० वर्ष पूरा भएको सन्दर्भमा नेपाली र चिनियापक्षबीच पुनः केही नयाँ कार्यक्रमहरू नेपाल र चीनमा गरिने कुराहरू पनि व्यक्त भए ।


चीनका लागि नेपाली राजदूत महेश कुमार मास्केले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्नुभएको रात्रीभोजका अवसरमा पनि नेपाल र चीनबीच यथासम्भव साहित्यक–सांस्कृतिक आदानप्रदानका थप प्रयासहरू जारी रहनुपर्ने बारे विचारहरू व्यक्त गरिए । सो अवसरमा देवकोटाको मुनामदन खण्डकाव्यलाई चिनिया भाषामा अनुवाद गर्ने प्राध्यापक लिउ जिअन तथा लुसुन सांस्कृतिक प्रतिष्ठानका उपाध्यक्ष मेङ् हाइ दोङ्ले पनि नेपाली र चिनिया साहित्यका बीच पारस्परिक सम्बन्ध विकास गर्नुपर्ने भन्दै सहकार्यका केही प्रस्तावहरू पनि राख्नुभयो ।
यसरी, चीनका विभिन्ना साहित्यक–सांस्कृतिक समूह, साहित्यका पारखी, प्राध्यापक, विद्यार्थी, अनुसन्धाता तथा आम चिनियाँ जनताबीच महाकवि लक्ष्मीप्रसाद देवकोटा र समग्र नेपाली साहित्यलाई केही हदसम्म भए पनि परिचित गराएर उक्त टोली काठमाडौँ फर्किएको छ ।

Comments

Popular Posts

Introduction to some prominent Nepali poets prepared by Mahesh Paudyal

Dharabasi’s Radha: A Critical Introduction

Postmodernism in Nepali Literature : A Theoretical Mimatch