हस्तक्षेप अभियान
हस्तक्षेप अभियान : एक मूल्याङ्कन
महेश पौड्याल
इटालियन चिन्तक आन्तोनियो ग्राम्चीको तर्क थियो, शासन व्यवस्थामा बस्नेहरू शासितहरूमाथिको आफ्नो आधिपत्यलाई दीर्घकालसम्म कायम राख्न केही सङ्कथनहरूको निर्माण गर्छन्, र ती शक्ति–राजनीतिले प्रेरित सङ्कथनहरूलाई “सत्य” को रुपमा आरोपित गरिदिन्छन् । ती सत्यहरू समाजिक तथा राजनैतिक संचरनामार्फत प्रवाहित गरिन्छ, जसलाई शासितहरू प्राकृतिक नियमको रुपमा स्वीकार गरिदिन्छन्, र आफू स्वतःस्फूर्त उक्त संकथनहरूलाई स्वीकार गर्न राजी हुने गर्छन् । ग्राम्चीको यस चिन्तनकै आधारमा लामो समयदेखि नवइतिहासवाद, संकथन प्रविधिबाट साहित्यको विपठन र सांस्कृतिक–वस्तुवादजस्ता सिद्धान्तहरू विकास भएर आएका छन् । यी सबै अध्ययन विधिहरूको केन्द्रमा शासनव्यवस्थाले निर्माण गरेका उक्त संकथनहरूको बुनोटलाई विनिर्माण गर्नु हो । सबल्टर्न इतिहासकारहरू यसभन्दा पनि एक कदम अगाडि बढे; उत्घाटित संकथनको विनिर्माणले मात्रै पुग्दैन; यस्ता सङ्कथनहरूलाई युगौंदेखि सत्यको रुपमा स्वीकार गर्दै आएका सबाल्टर्नहरूको मनोविज्ञान नै गलत छ । त्यस मनोविज्ञानलाई, उनीहरूकै बीचमा रहेर, उनीहरूकै भाष्य र लोकजीवन शैलीकै माध्यमबाट उनीहरूको मनोविज्ञानलाई प्रशिक्षित गर्नु, परिवर्तन गर्नु जरुरी हुन्छ ।
यी समकालिन सिद्धान्तका सारतत्व, र स्थानीय वस्तुस्थिबाट सिर्जित केही मौलिक मान्यताका आधारमा भारतीय प्रन्त पश्चिम बङ्गालको सिलिगुडी, कालिम्पोङ् र दार्जीलिङ् क्षेत्रका युवा लेकहरूले कविता लेखन र विमर्शमार्फत हत्सक्षेप नामक एक अभियानको नेतृत्व गरिरहेका छन् । हाल कविता लेखन र विमर्शकै रुपमा अगाडि आएको यो अभियान आफैंमा एक अध्ययनविधि बन्नसक्ने सम्भावना राख्दछ, र यसले आफैँलाई प्राज्ञिकरुपमा एक विकसित आन्दोलनको रुपमा परिभाषित गर्ने कोशिसमा रहेको देखिन्छ ।
हस्तक्षेप आन्दोलनका केही स्पष्ट मान्यताहरू देखिन्छन् । यसले मानव र कलाका बीचमा रहँदै आएको निकै ठुलो खाडललाई पुर्ने प्रचेष्टा गरेको देखिन्छ, जसका लागि यस अभियानका लेखक–कविहरू सीधै समाजसँग साक्षात्कार गरिरहेका छन् । उनीहरूले आफ्नो कथ्यप्रधान लेखनको भाषा र शैलीलाई पनि त्यसै अनुरुप विकसित गरिरहेका छन् । कृत्रिम शैलीगत क्लिष्टता र वैचारिक अस्पष्टतालाई कलाको उच्च मानविन्दू मानेर त्यैतिर साहित्यलाई लामो समयदेखि अभिप्रेरित गर्नेहरूसँग उनीहरूको सोझो असहमति छ । उनीहरूको हस्तक्षेप त्यस्ता अव्यवहारिक मस्तिष्कविलासमाथि पनि प्रहार गरिरहेको छ । शासन, सत्ता, देशी–विदेशी शक्तिकेन्द्र र समाजभित्रका नवधनाड्यहरूबाट जनसाधारणमाथि हुनेगरेका सम्पूर्ण विभेदमाथि सीधै हस्तक्षेप गर्नु, र एउटा विभेदरहित समाजको विकासका लागि वकालत गर्नु उनीहरूको ध्येय रहेको पनि प्रतीत हुन्छ । उनीहरू हस्तक्षेप केवल समाजिक–आर्थिक संरचनामाथि मात्रै सीमित छैन । यो विभेदकारी इतिहासको विपठन र पुनरर्लेखन, आम जनताका मनोविज्ञानमा काईजस्तै जमेर बसेको अन्धविश्वास र परम्परामाथि हस्तक्षेप, ठूला भनिएका शक्तिकेन्द्रहरूको आन्तरिक साम्राज्यवाद र यसले सिर्जना गरेको प्राज्ञिक–हिंसा
-एपिस्टमिक भाइलेन्स_ को विरोध तथा आम पाठकको सामूहिक अवचेतनमा व्याप्त सम्पूर्ण विभेदकारी अवाधारणहरूको विनिर्माण उनीहरूको ध्येय हो भन्न सकिन्छ । लामो समयदेखि चलिरहेको गोर्खालैण्ड आन्दोलन र अन्य सामाजिक–राजनैतिक अवस्थाबाट सिर्जित परिस्थितिहरूप्रति पनि हस्तक्षेप अभियानका कविहरू निकै संवेदनशील रहेको प्रतीत हुन्छ ।
सिलिगुडीका कवि राजा पुनियानी र कालिम्पोङ्का कवि मानोज बोगटीको नेतेत्वमा दार्जीलिङ् जिल्लाभरि चलिरहेको हस्तक्षेप कविता आन्दोलन एक नयाँ आन्दोलन हो, जसलाई २०१३ मा शुरु गरियो । टिका भाइ, भुपेन्द्र सुब्बा र निमा शेर्पाजस्ता कविहरू सँग्लग्न यो अभियान कुनै घोषणापत्र विनै, सीधै कविता लेखनबाट शुरु गरिएको हो तर यसको असर अहिले बङ्गालका अन्य ठाउँ र सिक्किमलगात नेपालको पछिल्लो पुस्ताका कविहरूमा पनि परेको देखिन्छ । धेरै आदर्शवादी विचारमा रुमलिएका साहित्यक आन्दोलन र सिद्धान्तहरूले सीधै जनसाधारणसँग सम्वाद गर्न सक्दैन र उनीहरूको वास्तवविक आवाज, उत्पीडन र दुःखलाई लेख्न सक्दैन भन्ने उनीहरूको तर्क छ । यसै क्रमका उनीहरू इन्द्रबहादुर राई समूहद्वारा सञ्चालित तेस्रो आयाम र लीला लेखनमाथि पनि गम्भीर पुनर्मूल्याङ्कन हुनुपर्ने भन्ने मत राख्छन्, र कविताले अब सीधै उत्पीडित जनतासँग सम्वाद स्थापित गर्नुपर्ने मत राख्छन् । दोस्रो, उनीहरू ती सम्पूर्ण सामाजिक र राजनैतिक व्यवस्थामाथि हस्तक्षेपको आह्वान गर्छन्, जसले आम जनाताको आवाज, चेतना र विकासलाई दशकौँदेखि दबाएरै राखेको थियो । यसै सन्दर्भमा कवि राजा पुनियानीको मत छ, “खासमा कविताको आवाज समाजले बोल्न चाहेर पनि बोल्न नसकेको दबाइएको आवाज नै हुने गरेको छ । वास्तवमा सफल कविताको पाठकलाई काम लाग्ने चरित्र यही आवाज हो । जुन दिन कविताबाट यो आवाज हराउँछ, संसारबाट कविताको पनि उठिबास लाग्छ” । -“कविताको आवाज”, लेखन २०७१ । पृ. ५२–५७ ।_
हस्तक्षेप कविता अभियानको सार बुझ्न राजा पुनियानीको कविता सङ्ग्रह अर्को लश्कर (२०१४) र मनोज बोगटीको काफरे अमेरिका (२०१४) लाई आधार मान्न सकिन्छ । युवा साहित्य अकादमी २०१२ का विजेता बोगटीका यसअघि पनि बिम्ब गोष्ठी, घाउका रङ्गहरू, गीतको रिस, पसिनाको छाला, आँखाबाहिर, काफरे अमेरिका आदि ६ कवितासङ्ग्रह प्रकाशित भइसकेका छन् तर यी सङ्ग्हलाईचहिँ सस्तक्षेप अभियानकै उपज भन्नचाहिँ मिल्दैन, कारण यो अभियान आउनुभन्दा धेरै अघिदेखि मनोज बेगटी कविता लेखिरहेका छन्, तरै पनि अभियानको सार बोध उनको लेखनमा पहिलेदेखि नै अनुभूत गरिएको हो । यसै गरी, २०१४ को युवा साहित्य अकादमी पुरस्कार विजेता कवि टिका भाइको कृति पाइताला तलतिर हस्तक्षेप अभियानको पछिल्लो कडीको पुस्तक हो । निमा शेर्पाको कुरुप फूलको गन्ध र भूपेन्द्र सुब्बको बजिया आँखाहरू यस अभियानका अन्य शक्तिशाली उपलब्धिहरू हुन् ।
आम जनता र सामाजिक–राजनैनिक व्यवस्थाका कारणले दबेकाहरू स्वन्तत्रताको ध्येयले नै शुरु गरिएको हुँदा हस्तक्षेप अभियानले आफ्ना एजेण्डामा थप केही कुरा समावेश गर्नु जरुरी देखिन्छ । जति भनिए पनि यी कविहरूका कविता त्यति सरल छैनन्, कि ती पाठकसँग सीधै संवाद गर्ने हदका हुन् र ती कविताको जग लोक–वाङ्मय पनि होइन । यतातिर अभियानले अझ गृहकार्य गर्नु जरुरी छ । फेरि, भारतीय नेपाली समाजको वर्गव्यस्थताको मामदण्ड आर्थिक विभेदमात्रै होइन; यसमा अन्य अन्तरसांस्कृति संस्कारगत मापदण्डहरूको पनि प्रभाव रहन्छ । त्यसैले हस्तक्षेप अभियानले आफ्नो मान्यताको परिधिलाई अलि विस्तारित गरेर यस्ता पक्षहरूलाई पनि सम्वोधन गर्नुपर्ने देखिन्छ ।
Comments
Post a Comment