मेरो अजम्मरी कविता

महेश पौड्याल

मैले, बाँस बाँसमा लेखेँ कविता
पात पातमा लेखेँ गीत
तृणहरूमा छोडेँ मुक्तकहरू
भरेँ फूलहरूमा सङ्गीत
र भनेँ  हावालाई —
“म नरहेपछि, प्रिय वातास
वनभरि मैले रोपेको
कविताको यस उद्यानबाट
उडाइ लानू मेरा कविता
मेरो हृदयको मृदुल भाषा
मेरो प्रेमको अजश्र गाथा
र पु¥याएर आउनू, दूर–सुदूर,
छरेर आउनू देश–परदेश ।

मलाई थाह थियो,
सभ्यताको संक्रमणले ग्रस्त मेरो जिन्दगीको उमेर
मेरो कविताको जत्ति पनि छैन
र मैले कविता छोडेका
बाँस, पात र तृणको जत्ति पनि छैन ।

म ढलेपछि, एक दिन
र सँगै गएपछि मजस्ता अरबौँ मान्छे, धरतीबाट
यस मानवशून्य पृथ्वीमा
मेरो कविता, हावाको विमान चढेर
उडेछ, देश–परदेश
पुगेछ दूर–सुदूर
शून्य शून्य यस पृथ्वीमा
र सुनाउन थालेछ
मेरो र मजस्ता मान्छेहरूको प्रस्थान–कथा
एकोहोरो, ढुङ्गा, माटो र कंकडहरूलाई
हाड, पत्थर र अक्करहरूलाई
श्रोतादीर्घामा थिएछ केवल
एक कहालीलाग्दो जडता
वा कतै हिमालको कन्दरामा कुँजिएका
जिन्दगीबाट थाक्नसम्म थाकेका
सात चिरञ्जीवीको आक्रान्त मस्तिष्क ।

ब्रह्माण्डको नादसँग एकाकार
ॐ कारजस्तो
मेरो कविताको ध्वनिमा,
सुन्छौ —
आज पनि प्रतिध्वनित् भइरहेछ
मान्छेको उदय र अस्त्यको परिकथा ।

मान्छेको समयपछि पनि
उडेन भने पृथ्वीको हरियाली
मरेर गएन भने वनस्पतिको प्राण
सुकेन भने पानीको मूल
म विश्वस्त छु—
मेरो प्रेमपुष्पित कविताले छोएको अक्करबाट
कविता पुगेको मरुथलबाट
माटो, पत्थर र हाडहरूको पहाडबाट
फेरि जन्मने छ एउटा मान्छे
धरतीजत्रै विशाल एक उदात्त हृदय लिएर
दहका दह मायाको अमृत लिएर
र पुनः सुरु हुने छ
यस श्रृष्टिमा अर्को मानव गाथा ।

त्यस मानवको स्वाँस–प्रस्वासमा
फेरि पनि गुञ्जिरहने छ
मेरो अजम्मरी कविता
मेरा अजम्मरी मुक्तक गीत र सङ्गीत ।

Comments

Popular Posts

Introduction to some prominent Nepali poets prepared by Mahesh Paudyal

Dharabasi’s Radha: A Critical Introduction