कर्णालीको पल्लो किनार


[Courtesy: Baarhakhari.com]


æमलाई पल्लो किनारसम्म पु¥याइदिनु न माझी दाइ । म तपाईंलाई सुनको औँठी दिन्छु, आठ वर्षकी नैनीले कर्णाली वारिपारि ढुङ्गा चलाउने एक माझीलाई भनी ।
बिहानको समय, घाम भर्खरै झुल्किएको थियो । कुनै पनि माझीका लागि त्यस दिनको पहिलो यात्रु पाइहाल्ने समय अझै भैहालेको थिएन । दूधका क्यान बोकेका यात्रुको पहिलो हाँचका लागि पनि कम्तीमा आठ बजेसम्म पर्खनुप¥थ्यो उनीहरूलाई । त्यो माझी त्यस दिन अलि छिटै नदीमा आएको थियो । नदीपारि रहेको उसको ससुरालीमा कुनै कार्जे भएको हुँदा आफ्नी श्रीमती, छोरा र छोरीलाई चाँडै त्यहाँ पु¥याउनुपरेको थियो । दिउँसोका लागि भन,े सधैँझै, यात्रु तार्ने काम गर्ने उसले योजना बनाएको थियो । अलि अलि पानी पनि परिरहेकोले परिवारलाई चाँडै उतापट्टि पु¥याएर ऊ नदी किनारमा फर्केको थियो ।
त्यस दिनका लागि उसको पहिलो सवारी, त्यो सानी नैनी फेलापारेपछि उसले सोच्यो, ऊ कमसेकम आजका लागि भाग्यमानी छ । नैनी उसलाई आफ्नै छारीजस्ती लागी ।
माझीलाई त्यो सानी, सुन्दर यात्रुको असाध्य माया लागेर आयो । तर, औँठीको कुरो त्यो पनि सुनको उसलाई खासै पत्यारिलो लागेन ।
बिहानै, अलि थकितजस्तो देखिने माझीले भन्यो, “तिमी किन यो नदी तर्न चाहन्छौँ, नानी?
आकाश आफ्नो सम्पूर्ण मुटु नै पगालेर रोएको रोएकै थियो, र विगतका सात दिनमा कतै कुनै तारा देखिएको थिएन ।
हेर्नुस् न, दाइ ! मेरी हजुरआमा निकै बिरामी हुनुहुन्छ, र छिट्टै उहाँ नदीपारि पुग्नुहुनेछ । म उत्तैपटि गएर पर्खन चाहन्छु उहाँलाई । एक्लै हिड्न गारो छ नि उहाँलाई कति बूढी हुनुहुन्छ ।
, खुस्किछौँ नानी, तिमी, उसले भन्यो । उसलाई लाग्यो, अरू उसले बुझ्ने कुरा केही थिएन, नैनीको भनाइमा ।
माझीलाई डुङ्गा ख्याउनु नै थियो । यात्रुलाई यात्रा किन गर्ने अथवा नदी किन तर्ने भनेर सोध्ने उसको काम थिएन । तर त्यत्रो विशाल नदी तर्न आउने उमेर नैनीको भएकोजस्तो लागेन उसलाई । त्यसैले नै उसले सोधेको थियो । तर नैनीले उसलाई अन्टसन्ट जवाफ दिई ।
जब डुङ्गा नदीका प्रवाहमान लहरहरू छिचोल्दै पश्चिम हान्नियो, नैनीले आफ्ना औँला लहरहरूमा चोभेर आनन्द लिन थाली । पानी निकै चिसो थियो । सुनको औँठी रहेको माझ औँलो पानीमा चोभी र त्यसभित्र सुनको औँठीको रङ्ग हरी  । त्यो सुनको पिलिमा पानीभित्र बग्दै गरेको देखियो, सुनको लहरजस्तै । अनि फेरि उनले औँलो पानीबाहिर झिकी, र हेरी । हो, औँठी हातमै थियो । बगेर कतै गएको थिएन ।
र पुनः चोभी । डुङ्गा केही हल्लिएपछि पुलुक्क पछाडि फर्केर माझीले नहकार्दासम्म यो क्रम जारि नै रह्यो ।
कर्णली निकै चौडाइ भएको नदी हो । त्यसैले एक किनारबाट अर्को किनारसम्म डुङ्गा ख्याउनलाई एक माझीले दसदेखि पन्द्र मिनेट त लिने नै भयो । डुङ्गा चलाउँदै गर्दा पनि माझीले पुलुक्क यताउती हे¥यो, कुनै डल्फिन कतै उफ्रेको देखिन्छ कि भनेर । यही मौका छोपी नैनी पुनः आफ्नो माझ औँलो पानीमा चोभ्थी र पानीभित्र स्वर्णतरङ्ग हेर्थी । माझीले आफ्ना आँखा आफूतिर फर्काउनासाथ ऊ औँलो पानीबाट बिजुली चम्केकोभन्दा पनि छिटो झिक्थी । यसैगरी एकपल्ट पानीबाट औँलो झिक्दै उनले भनी, “माझीदाइ, तपाईंको घरमा हजुरआमा हुनुहुन्छ?
हुनुहुन्न । धेरै पहिले बित्नुभाको ।
कस्तो दुःख । उहाँले तपाईंकै डुङ्गामा यो नदी तर्नुभाको हो?
पागल !
धन्न तपाईं आफैँ माझीदाइ हुनुहुन्छ । तर म त माझी परिनँ ।  म पनि माझी भैदिएकी भए मेरी हजुरआमा कति खुसी हुनुहुनेथियो ।  अहिले त सारै दुखी हुनुभाछ । कसैसँग पनि नबोलेको धेरै दिन भैसक्यो ।
कठैबरा, दुःखको कुरो । बिरामी हुनुहुन्छ हो?
हो । तर त्योभन्दा पनि दुःखको कुरो त उहाँ अब कसरी यो नदी तर्नुहुन्छ भन्ने हो ।
माझीलाई अब भने नैनीको मजग ठीक छैन भन्ने यकिन भयो । उसको बेतुक कुरा सुन्नुभन्दा डल्फिन देखिन्छ कि कतै भनेर नदीतिरै हेरिरहनु मनासिब मान्यो उसले ।
माझी दाइ, घरमा म त सधैँ हजुरआमासँगै सुत्थेँ । उहाँ भन्नुहुन्छ, म दुई वर्ष पुगेदेखि नै उहाँकै पछिपछि हिड्थेँ रे ।
यो बेला, पहिलोपल्ट माझीलाई लाग्यो, नैनी बहुलाई होइन ।
मामुले भन्नुहुन्छ, हजुरआमाले मलाई औँला समातेर हिँड्न सिकाउनुभाको रे । उहाँ भन्नुहुन्छ, मामु बिरामी हुँदा हजुरआमाले मलाई आफ्नै बुबु पनि खुवाउनुभाको रे ।
पल्लो किनार पुग्न अब धेर समय लाग्ने थिएन । त्यसैले, माझीले डुङ्गा अर्कै दिशातिर मोड्यो र दक्षिणतिर लाग्यो, ताकि अझ धेरै समय नदीमै बितोस् र  नैनीको कथा पूर्णरूपमा सुन्न सकियोस् । नैनीलाई दिशा मोडेको थाहा हुने कुरै भएन ।
माझीको ध्यान डुङ्गा ख्याउने आग्लोमा थियो । मौका छोपेर नैनीले फेरि औँलो पानीमा जोभी, र फेरि एकपल्ट हेरी सूनको प्रवाह ।
मामु भन्नुहुन्छ, जवान हुँदा हजुरआमा मजस्तै देखिनुहुन्थ्यो रे । घरमा फोटो पनि छ ।
तिम्री हजुरआमा कहाँ हुनुहुन्छ?
पर, घरमै, माझी दाइ । कस्तो बिरामी र दुःखी हुनुहुन्छ । यो नदी तर्न त पक्कै सक्नुहुन्न ।
पगली, उसले फेरि भन्यो र मनमनै सोच्यो, फुच्चीका कुरामा ध्यान दिनु जरुरी छैन ।
र उहाँ बिरामी हुँदा, मैले दिएको पानीमात्रै खानुहुन्छ । मैले नै कपाल कोरिदिन्छु, र गर्मी हुँदा पङ्खा लाइदिन्छु । हिजोराति मैले मेरो नयाँ नेलकटरले नङ् काटिदिएकी ।
र यत्तिकैमा उनीहरू नदीको अर्को किनारसम्म पुगिसकेछन् ।
धन्यवाद, माझी दाइ । तपाईंले मलाई मद्दत गर्नुभयो । म तपाईंलाई औँठी दिन्छु, भन्दै नैनीले आफ्नो दाहिने हातको माझ औँलाबाट औँठी फुत्त निकाली र माझीलाई दिई । माझीलाई पहिले त लाग्यो त्यो पित्तल हो, तर हातैमा लिएर हेरिपछि थाह भो, त्यो सोह«ै आना सुन रहेछ । ऊ छक्क प¥यो ।
छोरी, यो त सक्कली सुन हो ।
हो नि । तर तपाईं लानुस् । मलाई अब यसको कुनै काम छैन । म त हजुरआमासँग जाने हो । हामी बादलभन्दा पनि माथि पुग्छौँ ।
माझीले फेरि एकपल्ट त्यस औँठीलाई नियालेर हे¥यो । हो, सक्कली सुन नै थियो ।
तर, यो मैले पाउनुपर्ने हाँजिराभन्दा धेरे महङ्गो चीज हो । मलाई त दस रुपियाँ भए पुग्छ ।
मसँग दस रुपियाँ छैन, माझी दाइ । लानुस्, केही हुन्न । घरमा लगेर राख्नू न । त्यसका लागि मलाई थप एउटा सहयोग गर्न सक्नुहुन्छ?
कस्तो सहयोग, नानी?
पानी थोप्पै खान नसक्ने भएपछि हजुरआमा नदीमा आउनुहुनेछ । कति बूऽऽढी हुनुहुन्छ, नदी पार गर्न सक्नुहुन्न । तपाईं उहाँलाई तार्दिनू न, प्लिज । यहाँ म भएसम्म ल्याइदिनू न । म यही ढुङ्गामाथि बसेर पर्खिरहन्छु ।
नैनीले ढुङ्गामाथि बसिरहँदा माझीले धेरै गहिरोसँग केही कुरा सोच्यो । त्यो औँठी गुमाउनुपर्दाको कुनै पनि पीडाको एक क्लेशसम्म पनि नैनीको अनुहारमा थिएन । ढुङ्गामाथि बसेकी ऊ, निर्दोष देखिन्थी, घरमा भएकी उसकी छोरीजस्तै । उसले सोच्यो, आत्मालाई धूमिल हुन दिनुहुन्न, हृदय बेच्नुहुन्न । हृदय नै सुनको भएकालाई सुनको औँठीको के अर्थ, उसले आफैँलाई सम्झायो ।
भो नानी, म तिमीसँग कति पनि भाडा लिन्नँ । यो औँठी आफैँसँग राख । तिमी पनि त मेरी छोरी नै हौ ।
लानू, लानू । मलाई अब त्यो चाहिँदैन । फेरि, मैले तपाईंलाई भाडा दिइनँ भने, भगवान मसँग रिसाउनुहुन्छ ।
केहीबेर गम्भीररूपमा सोचेपछि माझीले फेरि भन्यो, “बरू मलाई तिम्रो त्यो शिशाको चुरो दऊ र यो औँठी राख । मेरो भाडा त्यसले पुगिहाल्छ ।
र नैनीले माझीलाई शिशाको चुरो दिई र औँठी फिर्ता लिई ।
तर माझी दाइमैले कम भाडा दिएँ भनेर हजुरआमालाई किनारमैचाहिँ नछोड्नू नि । उहाँलाई ल्याएपछि म अर्को पनि चुरो दिन्छु ।
हुन्छ नानी, भन्दै माझी पश्चिमतिर हान्नियो । एकैछिनमा ऊ विशाल नदीका प्रवाहमान लहरसँग हेलिँदैन टाढा पुग्यो, र अदृश्य भयो ।
सानी नैनी नदी किनारमा बसी, र पानीमा आफ्नो औँलो चोभ्दै बग्दो पानीभित्रको सुन कस्तो देखिन्छ, हेर्न थाली । पश्चिमतिर, डुब्नैलागेको घामका किरणहरू ठ्याक्कै उसका आँखामा परे, र उसले त्यसो गर्न छोडी । फेरि एकपल्ट ऊ नदी किनारको त्यही विशाल ढुङ्गामाथि उक्लिई  र आँखाले भ्याएसम्म पूर्वतिर हेरी । पर, नदीपारि, उसले आफ्नो घर ठम्याई जुन अहिले कमिलाको ढिस्कोजत्रो मात्रै देखियो, र मानिसहरू कमिलाजत्रा । मान्छे को को हुन् भन्नेचाहिँ ठम्याउन सकिन ।
उसले त्यस विशाल कर्णाली नदीलाई हेरी । पोहोर सालको हिउँदमा त्यस बगरको पल्लोपट्टि कत्तिपटक उसले र उसकी हजुरआमाले दाउरा टिपेका थिए । नदी किनारमै लहरै उभिएका कट्टुसमा कत्ति लटरसम्मै फलेका थिए सुन्दर दानाहरू, र उनीहरूले तिहारताका कस्तरि पोलेर खाएका थिए ती दाना । पल्लो घर, पुरोत बाजेका छोराछोरी सधैँ कर्णालीमा डल्फिन देखेको गफ सुनाउँथेतर ऊ आफैँलेचाहिँ कहिल्यै देखेकी थिइन । त्यसैले उसलाई लाग्यो, उनीहरू छेपारा देख्दाहुन् र डल्फिन भनेर झुक्किँदाहुन् ।
साँझको बेला थियो । घाम अस्ताउने तर्खरमा थिए । नैनीको नजिकैको ढुङ्गोको टुप्पोमा, घाँटीमा रातो मालाकारको भुत्ला भएको एउटा पहेँलो चरो टक्क बस्यो, “सीसिट् गरेर गीत गायो, र नैनीलाई देखेपछि पुच्छर एकातिर ढल्कायो, र उत्तरतिर हान्नियो । साँझको पिलिमाका उसले त्यस चरोलाई देखेसम्म हेरी । केही बेरमा त्यो चरो अदृश्य भयो ।
यो चरो अलि ठूलो भएको भए ढाडमा राखेर हजुरआमालाई बोकिल्याउने थियो होला, उसले सोची । तर ऊ आफैँलाई थाह थियो यो कति अव्यवहारिक चिन्तन् हो भनेर ।
बादल अलिअलि लागेको दिन थियो । माथि, हिमालतिर पानी परेको हुनुपर्छ, कर्णालीमा पानीको वजन निरन्तर बढिरहेको थियो । माथि, पहाडतिर भने बाक्लै जम्मा भैरहेको कुहिरो देखिन्थ्यो । यस्तो दिनमा माझीहरू खासै नदीमा आउँदैनथे । नैनीले अघि आफूलाई तार्दिने त्यो बूढो, दयालु माझीलाई सम्झिई र ऊ कतै देखिन्छ कि भनेर पर परसम्म हेरी । तर कतै पनि ऊ देखा परेन । पहिलोपल्ट नैनीलाई त्यस निर्जन बगरमा आफू एक्लै रहेको अभास भयो, र झस्किई ।
तर पनि, उसलाई कतै जानु त थियो नै । नदीमथि, पल्लो किनारबाट वल्लो किनारसम्म सेता चरा बाक्लै सङ्ख्यामा उडिरहेका थिए । उसले तिनीहरूको उडानलाई कुनै आशाका साथ हेरी, तर त्यस आशाको खास कुनै अर्थ थिएन भन्ने पनि महसुस गरी ।
हजुरआमाले पानी खानुभो?
सानी चरी, मेरो घरछेउ भएर आएकी हौ तिमी? हजुरआमाको कपाल कसले कोरिदियो?
सानी चरी, हजुरआमाका नङ् हेरेऊ? खासै बढेका छैनन् होला । हिजोमात्रै त हो मैले काटिदिएकी ।
माझी दाइ ! माझी दाइ ! माझी दाइ ! धोका नदिनू है । मैले चुरो दिएकी हुँ नि, र अर्को पनि दिन्छु । म सुनकै औँठी पनि दिन्छु नि ।
तर नैनीका यी सबै सबै उद्गारहरू कर्णालीको सुसाइमा मिसिए । यिनीहरूलाई सुन्ने त्यहाँ केही पनि थिएन ।
नैनी उफ्रिई बुर्कुसिई कराई, चिच्याई, चिप्लिई, घुँडा मारी, लडी, र फेरि उठी, त्यस निर्जन नदीकिनारमा, एक्लै । त्यो विशाल ढुङ्गाभरि सानो अर्को ढुङ्गोले कोरेर दुई अनुहारका आकृति बनाई एउटा बूढो अनुहार, र एउटा कलिलो । कोर्थी, मेट्थी, फेरि कोर्थी, र फेरि मेट्थी । अनि पुनः कोर्थी  र त्यस सन्नाटामा आफूलाई अलि चित्त बुझेका चित्रसँग एक्लै वार्तालाप गर्थी । उसका कुरा यस्ता थिएः
हजुरआमा, तपाईं कत्ति रामी । मामु भन्नुहुन्छ, जवान हुँदा तपाईं मजस्तै देखिनुहुन्थ्यो रे । मामुसँग एउटा फोटो पनि छ ।
हजुरआमा, नरुनू है । तपाईंसँग म छु नि ।
हजुरआमा, मसँग भगवान रिसाउनुहुन्न । मैले माझी दाइलाई चुरो दिएर भाडा तिरेँ नि । मैले त सुनको औँठी पनि दिएकी थिएँ, तर उहाँले लिनै मान्नुभएन । हजुरलाई यहाँ ल्याइदिएपछि म अर्को चुरो पनि दिन्छु । स्वर्गमा शिशाका चुराको के काम है? भगवानलाई मैले चुरा लगाएर गएको मनपर्छ र? मलाई त त्यस्तो लाग्दैन । भगवानलाई त नौनी अथवा धुवाँका चुरा मनपर्छ होला । हजुरले नै भनेको होइन एक दिन, कथामा?
हजुरआमा, हाम्रो बाटो त निकै लामो पो हुन्छ त । मलाई बाटोमा हाई रानी चाँदनी को कथा भन्नू है । मलाई त्यो कथा सारै मनपर्छ । मलाई लाग्छ, उहाँ यही कर्णाली नदीमाथिबाट उड्नुभएको थियो होला, बाक्साभित्र बसेर ।
र एक्कासि पश्चिम पहेँलो देखियो र बाँकी संसार कालो । नैनीलाई हेक्का भयो, घाम अघि नै अस्ताइसके छन् । एउटा भयङ्कर ठूलो त्रासले उसको मुटु निचो¥यो । तर त्यहाँ, ऊबाहेक अर्को मान्छे कोही पनि थिएन ।
मामु !! उसले त्यसै ढुङ्गामाथि चढेर आफ्नु सम्पूर्ण बल लगाएर कराई । आफ्नो परिवार लिन हिँडेको त्यही बूढो माझीले उसको आवाज सुन्यो ।
तिमी अझै यहीँ छौ?
हजुरआमा आउनुभएन । दाइ, मलाई पल्लो किनारमै पु¥याइदिनुस् न प्लिज । म फेरि  अर्को चुरो दिन्छु ।
पर्दैन छोरी । म उतै जाँदैछु मेरो परिवार लिन । म तिमीलाई पु¥याइदिन्छु ।
र नैनी डुङ्गामा बसी । यसपालि भने, उनले केही कुरा गरिन, चुप्प लागेर बसिरही । एकदुई पल्ट हजुरआमा भनेको र आँसुका दुईचार ढिक्का खसाएको भने माझीले देख्यो ।
छिट्टै उनीहरू नदीको वल्लो किनार आइपुगे । माझीले आफ्नो डुङ्गा किनारा लाउन भ्याउँदानभ्याउँदै पानी पर्न थाल्यो ।
माझी दाइ, मेरो घर यहीँ छ । नजिकै । मलाई तपाईंको छाता ओढाएर घरसम्म पु¥याइदिनुस् न, नैनीले भनी ।
हुन्छ, माझीले भन्यो, र दुवै जना नैनीको घरतिर लम्किए ।
बाटोमा मौका छोपेर माझीले सोध्यो, “नानी, तिमी कर्णालीको पल्लो किनारसम्म किन गएकी थियौ वास्तवमा?
दाइ, मेरी हजुरआमा सारै बिरामी हुनुहुन्छ । सप्पै भन्छन्, उहाँ मेरेपछि स्वर्ग जान ठूलो नदी तर्नुपर्छ रे नि त ।
माझीका दुवै आँखा सीमान्त विस्फारित भए ।
अनि मलाई थाह थियो, त्यो नदी भनेको यही कर्णाली त हो ! कस्तो ठूलो छ नि यो नदी । हजुरआमाले कलाई कति माया गर्नुहुन्छ । उहाँ एक्लै गएको मलाई मनपर्दैन नि । बुवालाई म पनि जान्छु भन्यो भने मार्नुहुन्छ । त्यही भएर पल्लोपट्टि पर्खन्छु भनेर म गएकी । तर आउनु नै भएन ।
माझी अवाक भएर उभ्भियो । हिड्दाहिड्दैका उसका पाइला रोकिए । उसले जमिनमा घुँडा मा¥यो, र नैनीलाई बाँहमा लिँदै एक्कासि भन्यो, “छोरी ! । उसको आँखाको डिलसम्म आइपुगेका आँसुका दुईचार थोपा नैनीको जीउमा खसे ।
उनीहरू घर पुग्दा नगुग्दै नैनीकी आमा आँगनबाट अताल्लिँदै उनीहरूतिरै कुदेर आइन् । उनले त्यो अपरिचित माझीका बारेमा भने केही सोध्ने चेष्टा गरिनन् ।
हजुरआमाले बिहान आठ बजे आँखा खोल्नुभएको थियो । नैनी ! भनेर दुईपटक बोलाउनुभयो । हामीले तँलाई कहाँ कहाँ खोजेनौँ? ठूलाबाले तँलाई नदीले बगाएको हुनसक्छ भनेको कुरो सुनेपछि हजुरआमा फेरि बेहोस् हुनुभयो र स्वर्गे हुनुभयो ।
आमा भक्कान्निइन् र नैनीलाई आँगालो मार्न दुई पाइला अघि सरिन् । नैनी भने आमाबाट भग्दै हजुरआमा ! भनेर एकपल्ट कराई र दगुरेर भित्र पसी । कसैले सोधपुछसम्म नगरेको माझीले नैनीको चुरो सबैले देख्ने ठाउँको एउटा ढुङ्गोमाथि राखिदिया,े र फर्कियो उसैको बाटो, आँखाबाट मौन मौन आँसुका दाना झार्दै, बाटोभरि ।





Comments

  1. Heart touching story 😢😢

    ReplyDelete
  2. Mahesh sir ko katha haruko barema maile kei bhannai pardaina. He is one of the best story writer in nepal.

    Yo story ma naini nadi paari basi rahada maajhi le din bhar pani nakhojnu alik sandarbhik bhayena ki sir.

    ReplyDelete

Post a Comment

Popular Posts

Introduction to some prominent Nepali poets prepared by Mahesh Paudyal

Dharabasi’s Radha: A Critical Introduction

Postmodernism in Nepali Literature : A Theoretical Mimatch