Posts

Showing posts from September, 2017

त्यो अपरिचित अनुहार

( कथा ) — महेश पौड्याल सप्तकोशी उर्लिएको थियो । माथि हिमालमा निकै पानी परेका हुनुपर्छ , नदीमा उफान थियो डरलाग्दो । धमिलो पानी , पानीको माथिल्लो सतहमा वाफ उडेजस्तो पनि देखिन्थ्यो । विशाल नदीको कर्कश सुसाइ — कुनै शोकगीत जस्तो । लाग्थ्यो , आकाशले यसै नदीको छातीमाथि आफ्नो कुनै मृत सन्तानको देह भर्खरै विसर्जन गरेको छ , र अहिले ऊ शोकमा आँसुका धारा खसाइरहेको छ । यो बेला कोशीमा कोही थिएन । बेफ्वाँक बगिरहेको थियो नदी , सागरतिर । किनारमा माझीका दुईचार डुङ्गा बाँधिएका देखिन्थे , तर मान्छेको छावासम्म पनि देखिँदैनथ्यो ।   तल कोशी ब्यारेजमा भने केही चहलपहल थियो , तर आज माछा तारेर बेच्ने , अथवा किन्ने – खाने मान्छे देखिँदैनथे । कोशी पुलमाथिबाट पूर्व – पश्चिम गुड्ने गाडीको सङ्ख्या पनि , बर्सातले होला , निकै नै पातलो थियो । शुक्र माझी सप्तकोशीका निर्जन बगरहरूको पर्यटक बन्न थालेको करिब एकवर्ष भइसकेको थियो । घरमा भुनी दिनरात भन्थी , “ किन जान्छौ कोशीमा सधैँ ? घरै बसे हुन