समकालीन सार्क साहित्य : एक सर्वेक्षण


महेश पौड्याल


परिचय

“सार्क साहित्य” भनिने कुनै प्राज्ञिक साहित्यक संज्ञा छैन । यसलाई यस आलेखको शीर्षकमा एक रणनैतिक तात्विकताका लागि मात्रै पयोग गरिएको हो । यसका केही कारणहरू छन् । “दक्षिण एसियाली साहित्य” भन्ने नामले दक्षिण एसिया एउटा अक्षुण्ण भूभागको अवधारणा प्रस्तुत गर्दछ, तर दक्षिण एसियाजत्तिको विविधतापूर्व भूभाव सायदै अन्यत्र कतै होला । राजनैतिक दृष्टिले पनि दक्षिण एसियाली समता एउटा पेचिलो विषय हो । भारत र पाकिस्तानको लामो र निरन्तरको द्वन्दले यस क्षेत्रमा यस्तो ऐक्यलाई विकसित हुन दिएको देखिँदैन । साथै, युरोपियन युनियनजस्तो दक्षिण एसिया कुनै एकीकृत भूराजैतिक व्यवस्था पनि होइन । अमेरिकी सरकारले दक्षिण एसिया मामिलाकै लागि एक मन्त्रालयको गठन गरेपछि दक्षिण एसियालाई विश्वले एक अक्षुण्ण भूभावको रुपमा स्वीकार गरेको त पाइन्छ, तर यो मात्र व्यापारिक र सूरक्षाका दृष्टिले बनाइएको अवधारण हो । लामो समयसम्म “कमनवेल्थ राष्ट्र” भनेर पनि यी राष्ट्रहरूलाई भनियो, तर कमनवेल्थ बेलायती महारानी अलिजावेथलाई राष्ट्रप्रमुख मान्ने र अतीतमा बेलायती उपनिवेशमा रहेका राष्ट्रहरूको संगठन भएका कारण दक्षिण एसियाको प्रतिनिधित्व गर्न सक्दैन । कति चिन्तकहरूले दक्षिण एसियाका राष्ट्रलाई उत्तर–उपनिवेशिक राष्ट्रको रुपमा पनि हेरे, तर त्यसमा नेपालजस्ता कहिल्यै उपनिवेशमा नरहेका राष्ट्रहरू अटाएनन् । दोस्रो विश्वयुद्धपछि अमेरिका र रुसबीच चलेको शीत युद्ध ताका, अमेरिका र उसका सहयोगी युरोपेली राष्ट्रलाई पहिलो विश्व, र सोवियत संघ अन्तर्गतका राष्ट्रलाई दोस्रो विश्व भन्ने प्रचलन शुरु गरियो । त्यसताका, दक्षिण एसिया र अन्य गैरपश्चिमा मुलुकलाई तेस्रो विश्व पनि भनिन थालियो । तर आज, दोस्रो विश्व भनिने सोवियत संघको विघटन भैसकेको अवस्थामा तेस्रो विश्व भन्ने नाममा पनि कुनै तुक देखिँदैन । बरु पछिल्लो समय, साझा मुद्दा र समस्याका आधारमा संगठित हुने, र साझा समस्यामाथि संयुक्त रुपले प्रस्तुत हुने क्रम विश्वभरि नै चलेकोले भारत र यसको छिमेकका सात राष्ट्रलाई सार्क क्षेत्र भन्नु नै उपयुक्त हुन्छ, र यस क्षेत्रको साहित्यलाई सार्क साहित्य भन्दा सायद अत्युक्त हुँदैन ।

१९८५ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन अर्थात सार्कको गठन त्यो मोडमा गएर भयो, जुन बेला विश्वको साहित्यक र सैद्धान्तिक परिदृश्यमा आमूल परिवर्तनहरू भइरहेका थिए । पचासको दशकदेखि असीको पूर्वाद्र्धसम्मको दक्षिण एसियाली साहित्य मूलतः उत्तरऔपनिवेशिक साहित्य थियो, जसको मूल स्वर पश्चिमको उपनिवेशको विरोधमा लेख्नु थियो । यसमा नेपाल अपवादको रुपमा रह्यो, र नेपालका लेखकहरूले नेपालभित्रको अस्थितर राजनीति र यसले प्रेरित गरेका आवाजहरूलाई नै मूल रुपमा लेखे ।  सन् १९७८ मा प्रकाशित एडवार्ड सैयदको युगान्तकारी सिद्धान्त “ओरियान्टलिज्म” को विश्वव्यापी असर असीको दशकमा देखियो, जसको सबैभन्दा बढी प्रभाव सायद दक्षिण एसियाका ती देशहरूमा प¥यो, जो बेलायती साम्राज्यवादबाट चालीस र पचासको दशकमा मुक्त भएका थिए । सैयदका अनुसार, पश्चिमा साहित्य ती तमाम संकथन र मिथ्यावाची स्वेरकल्पनाको अभिलेख हो, जसद्वारा गैरपश्चिमा मुलुकलाई असभ्य र तिलस्मी क्षेत्रको रुपमा व्याख्यातित गरिने काम गरियो, र ती असभ्य मुलुकहरूलाई सभ्य बनाउन ईश्वरको निर्देशनअनुसार धर्म प्रचरकहरू यी क्षेत्रमा प्रवेश गरे । बन्दुकसँगै प्रवेश गरेको त्यो धर्मप्रचार कालान्तरमा उपनिवेशमा परिणत भयो । सार्कका अधिकांश मुलुकबाट सिर्जित साहित्यमा, यसै कारण पनि, पश्चिमा साम्राज्यवादको विरोध, र पश्चिमको व्यतिरेकमा एक पूर्वीय विकल्पको अवधारणाको विकासका प्रयासहरू गरिए । यसको परिणाम यो भयो, कि असीको दशकसम्म पश्चिमी साम्राज्यको विरोधमै केन्द्रित लेखकहरू यसपछि दुई अन्य प्राथमिकतालाई अँगाल्न पुगे । पहिलो, पश्चिमा संकथनले निर्माण गरेको पूर्वको तिलसिम्क, असभ्य र परलौकिक छविलाई विनिर्माण गर्नु, र दोस्रो, दक्षिण एसियोको मौलिक ज्ञानको उत्खनन् गर्दै त्यसलाई पश्चिमको विकल्पको रुपमा प्रस्तुत गर्नु । यी दुवै प्रयासमा लेखकहरूलाई याक्स डेरिडाको विनिर्माणवादको सिद्धान्त, र उत्तराआधुनिक चिन्तक ल्योटार्डको लघुआख्यानको अवधारणाले सहयोग ग¥यो ।
साठीको दशकदेखि पश्चिममा लोकप्रिय भएको उत्तरआधुनिकताको दक्षिण एसियाली स्वरुप मूलतः उत्तरऔपनिवेशी साहित्यको रुपमै विकसित भएको देखिन्छ । यसका केही धरातलीय कारणहरू पनि छन् । यो बेला पश्चिम आफैँलाई सञ्चार र प्रद्योगिकीमा पोख्त पार्न तल्लिन थियो । दोस्रो विश्वयुद्धपछि विकासित राज्य व्यावस्थाका स्वरुप मोटामोटी रुपमा स्थिर थिए, र पश्चिमसँग व्यापार–विस्तारका धेरै योजनाहरू थिए । यिनीहरूलाई नै व्यवस्थित गर्ने हेतुले नयाँ नयाँ विकल्पको खोजीकै क्रममा उत्तरआधुनिक सिद्धान्तहरूलाई अघि सारिएको हो । तर भर्खरै साम्राज्यवादबाट मुक्त भएका दक्षिण एसियाली देशहरू आफ्नै मौलिक शैलीको वैकल्पित आधुनिकताको खोजीमा थिए । यो वैकल्पित आधुनिकताको खोजी आजपर्यन्त जारी रहेको देखिन्छ । बरु यो, सांस्कृतिक अध्ययनका तमाम नयाँ आयामहरूको रुपमा विकास भएको देखिन्छ ।
असीको दशकको उत्तरार्धमा माक्सवादी चिन्तनमा पनि एउटा नयाँ सैद्धान्तिक बहस थालियो । यस सिद्धान्तको जग पश्चिमी चिन्तनमै भए तापनि यसलाई प्राज्ञिक रुपमा सैद्धान्तिक्रीत गर्ने काम भारतीय प्राज्ञहरूले गरे, र यसको प्रयोग पनि भारतबाटै भयो । यसलाई सबाल्टन स्टडिज अर्थात पददलित वर्गको अध्ययन भनियो । यसको सार थियो, राष्ट्रवादी इतिहासले छोडेका, वा उपेक्षित गरेका अशिक्षित र अविकशित वर्गहरूको पनि आवाज छ, तर त्यो आवाज निर्णायक समूहसम्म पु¥याउने पूर्वाधारहरू छैनन्, र साहित्यले त्यो पूर्वाधारको रुपमा काम गर्नुपर्छ । भारत रणजीत गुहा र उनका सहयोगी पार्थ चटर्जी, गायत्री स्पीभाक, दीपेश चक्रवर्ती, ज्ञानेन्दै पाण्डेहरूको समूहले विकासित गरेको यस सिद्धान्तको सम्पूर्ण दक्षिण एसियाभरि प्रभाव परेको देखिन्छ । यस प्रकृतिको मूल स्वर राष्ट्रवादी इतिहास र सबाल्टर्न इतिहासबीचको खाडल पुर्नु हो, र ती पूर्वाधारहरूको विकास गर्नु हो, जसद्वारा निमुखाहरूको कल्पनाप्रक्रियालाई पनि प्रशिक्षित गर्न सकियोस, र राष्ट्रको विकासमा उनीहरूले गरेको भूमिकालाई राष्ट्रको इतिहासमा प्राथमिकताका साथ लेखियोस् । यसको पूर्वसर्त, उनीहरूको आवाजलाई निर्णयप्रक्रियामा पनि सम्मिलित गराइयोस् । यसता मान्यताहरूले, विगत केही दशकमा दक्षिण एसियाका भारत, पाकिस्तान र नेपालमा दलित साहित्यको विकासमा ठुलै टेवा पु¥याएको देखिन्छ ।

उत्तरऔपनिवेशिक समयमा, विशेष गरी बढ्दो विश्वव्यापीकरण र आर्थिक उदारिकरणको समयका धेरै दक्षिण एसियालीहरू पश्चिम तथा भूगोलका अन्य भागका मुलुकहरूमा छरिने क्रम पनि बढेको छ । फलस्वरुप आप्रवासीहरूबाट सिर्जना गरिने डायस्पोरा साहित्य पनि सार्क क्षेत्रको एक विशेषता हो । यस साहित्यमा विशेष गरी लेखकहरूले आफ्नो वा आफूले चित्रण गरेको पात्रको मानसिक र सामाजिक–राजनैतिक अवस्थाको चित्रण गरेको पाइन्छ । मानसिक अवस्थामा घरदेश र परदेशबीचको त्यस द्वन्दलाई चित्रण गरिएको हुन्छ, जुन, समालोचक होमी भाभाका अनुसार पात्रमा एक द्वेत अवास्थाको सिर्जना भएको हुन्छ । यस परिस्थितिमा, पात्रले परदेशका कुराको आंशिक अनुकरणबाट आफू त्यस देशमा अनुकुलित हुने प्रयास गरेको हुन्छ ।
दक्षिण एसियाली चिन्तकहरूले नै जस पाउने अर्को अवधारणा हो तेस्रो विश्वको नारीवादी चिन्तन । पश्चिमा नारीवादी चिन्तनले पुरुष र महिलाबीचको असमानतालाई मात्रै सम्वोधन गरेको, तर गोरा महिलाहरूले अस्वेत महिलाहरूमाथि गरेको विवेधलाई कुनै पनि नारीवादी चिन्तनले सम्वोधन नगरेको भन्दै भारतका उमा नारायणन, यागत्री स्पीभाक र लीला गाँधी र पाकिस्तानकी सारा सुलेरीजस्ता लेखकहरूले थर्ड वल्ड फेमिनिज्म अर्थात तेस्रो विश्वको नारीवादालाई विकसित गरे, जसको प्रभाव अफ्रिका र लेटिन अमेरिकाका नारीहरूमा पनि देखियो ।

यस आलेखमा, यिनै मान्यताहरूको आधारमा सार्क मुलुकका प्रतिनिधि साहित्यक चरित्रहरूको विश्लेषणको प्रयास गरिएको छ, र सन्दर्भअनुसार केही लेखकहरूको पनि चर्चा गर्ने प्रयास गरिएको । पंक्तिकारको अध्ययनको सीमाकै कारण, ती साहित्यको मात्रै उल्लेख गरिएको छ, जुन कुनै न कुनै रुपमा वैश्विक भाषाहरूमा लेखिए वा अनुदित भए, र विश्व वजारमा उपलब्ध भए । सम्पूर्ण सम्मानका साथ स्थानीय भाषा र भाषिकामा लेखिएका साहित्यलाई थप अध्ययनका लागि छोडिएको छ ।

भारत

सार्क साहित्य मूलतः भारतीय साहित्यको केन्द्रको सेरोफेरोमै विकासित भएको देखिन्छ । भारतसँग वर्षौं पुरानो शास्त्रीय परम्परा, र विशाल वैभेद्य बोकेको मौलिक साहित्यको कोष हुनु, र भारतीय उपमहादीपका धेरैजसो सभ्यता भारतीय सभ्यताकै उपज हुनुले पनि यो सम्भव भएको हुन सक्तछ । सार्कको गठन अर्थात १९८५ पछिको भारतीय लेखन टेगोरको अध्यात्मिक र राष्ट्रवादी चिन्तन् भन्दा प्रेमचन्दको समाजवादी चिन्तनको धारमा बढी बगेको देखिन्छ । अधिकांश मूलधारक र अन्तर्राष्ट्रिय ख्याति कमाएको भारतीय लेखकहरू कि माक्सवादी चिन्तनको नजिक देखिन्छन्, कि त ल्योटार्डले भनेजस्तो लघुआख्यानको उत्खनन्तिर बढी उन्मूख भएको देखिन्छन् । आज भारतमा सरोजिनी नाइडू, रामधारी सिँह दिनकार, सुमित्रानन्दन पन्त, सुभद्राकुमारी चौहान अथवा जयशङ्कर प्रसादको जस्तो समग्र भारतको एकीकृत स्वर लहरी गाउने लेखकभन्दा विभिन्न भाषिक वा सामुदायिक लघुभारतहरू विभक्त भूगोलकोे लघुभष्य गाउने अनेक स्वरहरू बढी मुखरित भएको पाइन्छ । भारतीय सिद्धान्तकार होमी के भाभा, आर राधाकृष्णन्, पार्थ चटर्जी, दिपेश चक्रवर्ती, गायत्री स्पीभाक, गौरी विश्वनाथन्, आशीष नन्दी लगायका चिन्तकहरूको समग्र स्वर पनि केन्द्रिक्रीत भन्दा विकेन्द्रित आवाजहरूकै पक्षमा उभिनु हो । निरज चौधरी, मुल्कराज आनन्द, महास्वेता देवी, आर. के. नारायण, अमिताभ घोष, अम्रिता प्रितम, शशि थरुर, अरुन्धती रोय, सद्दात हसन मन्तो, खुशवन्त सिंह, भारती मुखर्जी, जुम्पा लाहिरी, कमला दास, ए. के. रामानुजन, निसिम इजेकियल, अनिता देसाई, अरिवन्द अडिगा, इरा त्रिवेदी आदि असङ्ख्य भारतीय लेखकहरू मूलप्रवाहभन्दा फरक, एक उपेक्षित परिचयमा बाँचेका पात्रका सामाजिक, आर्थिक र मानसिक मनोदशा लेख्न तल्लिन छन् । बङ्गालका कवितापय कविहरू अमेरिकको बिट सम्प्रदाय, विशेष गरी एलेन गिन्सबर्गको व्यवस्था विरोधी तीब्र प्रयोगशील कविताबाट प्रभावित देखिन्छन्, जसको प्रमाणिकरण हङ्ग्री जेनेरेशनका कविहरूमा देख्न पाइन्छ । सलमान रुसदी र अनिता देशाई आप्रवासनमा परेका भारतीयहरूका मर्मलाई लेख्ने लेखक हुन् । पछिल्लो समय, चेतन भगत गलायतका लोकप्रिय उपन्यासकारहरू बढदो भौगोलिकरणका माझ युवा जमातको फेरिँदो स्वार र निरन्तर बढ्दो महात्वकांक्षाका बारेमा लेखिरहेका छन् ।

भारतीय कवितामा देखिएको एउटा विशेषाता के छ भने, मैथिलीशरण गुप्ता र अयोद्यासिँह हरिऔधको समयपछि भारतीय कविताले छन्द परम्परालाई पूर्ण रुपमा परित्याग गरेको देखिन्छ । यसको अर्थ कविता स्वरुपप्रधान भन्दा कथ्यप्रधान विधा हुनपुगेको छ । कथ्यप्रधान हुनेवित्तैकै कविता समसामयिकता, विशेष गरी राजनैतिक यथार्थलाई अङ्गीकार गरेर विकशित हुँदै गरेको देखिन्छ । सच्चिदानन्द वात्सायन अज्ञेयबाट प्रेरित प्रयोगवादी धारा, र त्यसैको एक विकसित रुप राजनैतिक लेखन आजको भारतीय कविताको मूल स्वरुप हो भन्न सकिन्छ । धूमिल, अवतार सिँह पास, केकी दारुवाला, जयन्ता महापात्रा, ए.के. महरोत्रा, सत्येन्द्र श्रीवात्सव, सुजान भट्ट, तोरु दत्त र अनेकानेक स्थानीय भाषाका लेखकहरू प्रयोगशील कवितामार्फत आफ्नो निजी पहिचान र सामाजिक न्यय र मुक्तिको मुद्दा नै लेखेका कवि हुन् । साहित्य अकादमी जस्तो राष्ट्रीय व्यवस्था, विकासित पुस्तकालय सञ्जाल, अनुवादको राम्रो व्यवस्था, विश्वस्तरका प्रकाशन गृह र आमसंचारको अभूतपूर्व विकासले भारतीय साहित्यको स्थिति दक्षिण एसियामा अरु राष्ट्रको तुलनामा अत्यन्तै बलियो बनेर आएको छ ।

पाकिस्तान

पाकिस्तानी साहित्यको पछिल्लो स्वर पनि उत्तरऔपनिवेशी स्वर हो । तर, यसका अतिरिक्त पाकिस्तानभित्र बढ्दो अराजकता र राज्यविहीनता पनि पाकिस्तानी लेखकहरूले उठाउने गरेको विषय हो । नोमेडिक अर्थात यायावर संस्कृति र आधुनिकताबीचको द्वन्द पनि पाकिस्तानी लेखनको एउटा स्वर हो । यसका लागि जामिल अहमदको “द वाण्डरिङ् फेल्कन” जस्ता उपन्यासलाई आधार मान्न सकिन्छ । मोहम्मद इक्बालको पुस्ताका कविहरूमा धार्मिक आदर्शवाद र वैश्विक बन्धुत्व र राष्ट्रप्रेमको चिन्ता बढी थियो भने, वर्तमान पुस्ताका पाकिस्तानी कविहरू धर्म र आधुनिकताबीचको अन्दरद्वन्द र यसबाट पात्रमा परेको मनोवैज्ञानिक चापलाई बढी लेखिरहेका छन् । साहिद सुरावद्री, अहमद अलि, अलामगिर हासमी, तौफिक राफत, दाउद कमाल, माकी कुरैसीजस्ता कविका कविताभरि उपनिवेशविरोधी आवाज, र समानताको खोजी मूल रुपमा मुखरित भएको पाइन्छ ।
यसीगरी पाकिस्तानी उपन्यासकारहरूमा अहमद अली र जुल्फिकर घोषको नाउँ अग्रगण्य हो भने, बाप्सी सिध्वाको “द क्रो इटर” जस्ता उपानान्यासले पाकिस्तानी उपन्यासलाई अन्तर्राष्ट्रिय ख्याति प्रदान ग¥यो । पाकिस्तानबाहिर बस्ने पाकिस्तानी मूलका लेखकहरूमा हनिफ कुरैशीको “द बुद्ध आफ सबर्बिया” उल्लेखनीय मानिन्छ, जसका लागि उनलाई ह्वाइटवर्ड अवार्ड पनि प्रदान गरिएको थियो । यसै गरी, मोनिजा अल्वी ख्यातिप्राप्त पकिस्तानी कवि हुन् । अनेक उपन्यासका लागि तारिक अलिको नाम पनि सम्मानका साथ लिइन्छ । सारा सुलेरी पकिस्तानी मूलकी ख्यातिप्राप्त नारीवादी लेखक र सिद्धान्तकार हुन्, जसको त्रेस्रो विश्वको नारीवादमा निकै ठूलो योगदान रहँदै आएको छ । अन्य ख्यातिप्राप्त पाकिस्तानी उपन्यासकारहरूमा माहसिन हामिद, कामिला सामसी, उज्मा असलम खान, नदिम असलम, मोहम्मद हनिफ र दनियाल मुइनुद्दिन प्रमुख हुन् ।

बाङ्लादेश

जहाँसम्म बाङ्लादेशी साहित्यको प्रश्न छ, यो सार्क क्षेत्रमा सबैभन्दा कान्छो मौलिक स्वरको साहित्य हो । बाङ्लादेशको उदयभन्दा अघि बाङ्लादेशी साहित्य मूलधारको बङ्गाली साहित्यकै प्रभावमा थियो, र रबिन्द्रनाथ ठाकुर, सरदचन्द्र बेनर्जी र बंकिचन्द्र चटोपाध्यायको साहित्यबाटै प्रेरित थियो । तर बङ्लादेशको उदयपछि बङ्लादेशी लेखकहरूले आफूभित्र केही मौलिक कथ्यहरूको अन्वेषण गरे, र बाङ्लादेशी साहित्यले आफ्नो मूल स्वरुप अङ्गिकार ग¥यो । बङ्ला र अङ्ग्रेजीमा लेख्ने लेखकहरूले नै बङ्लादेशी वाङ्मयलाई वर्तमान स्वरुप दिएका हुन् । अब्दुल अह्मद, अब्दुल हाकिम र अख्तारुज्जमान इलियासजस्ता बाङ्लाभाषी कविहरू आधुनिक बाङ्लादेशी साहित्यको पहिलो पुस्ताका लेखक हुन् भनेर भन्न सकिन्छ । उनीहरूपश्चात अल महमूद, अनिसुल हक, अलि जाकर, अहसान हबिब, अहमन सोफाजस्ता कथाकार र उपन्यासकार पनि छन् । बाङ्लादेशी साहित्यमा अन्तर्राष्ट्रिय हस्ताक्षर कवि काजी नजरुल हक इस्लाम र उपन्यासकारहरू तस्लिमा नशरीन र मोनिका अलि नै हुन् । इस्लाम आफ्ना कविता र गीतमार्फत मुस्लिम जगतमा व्याप्त फासीबादी चिन्तनप्रतिको तीब्र असन्तुष्टी र विद्रोहको स्वरका लेखक हुन् । यसको प्रमाण हो, उनको सबैभन्दा चर्चित कृति “द रिबेल पोएट,” अर्थात विद्रोही कवि । उनको लेखनमा प्रेम, स्वतन्त्रता, क्रान्तिको वकालत पाइन्छ भने आडम्बर, धार्मिक कट्टरता र लैङ्गिक भेदभावप्रतिको विरोध र तीब्र असन्तुष्टी अभिव्यक्त भएको पाइन्छ ।
तस्लिमा नसिरन सम्भवतः बङ्लादेशकी सबैभन्दा चर्चित र विवादित लेखिका हुन् । उनको लेखनको मूल स्वर भने इस्लामभित्रको धार्मिक असहष्णिुताको विरोध, र नारी स्वतन्त्रताको मुद्दा हो । इस्लामविरोधी भनेर उनको उपन्यास “लज्जा” लाई प्रतिवन्धित गरेपछि र उनका विरुद्ध फतवा जारी गरिएपछि उनले बाङ्लादेश छोडेर कलकत्ता, दिल्ली र युरोपलगायतका स्थानमा बसोबास गर्न थालेकी हुन् । अनेक कथा, कविता, आत्मर्वतान्तसहित उनका उपन्यास बढी चर्चित रहेका छन्, जसमा सामेल छन् “द ओपोनेन्ट,” “गेटिङ् इभन,” “इन्भिेशन्,” “रिटर्न,” “लज्जा,” “टेल हिम द सेक्रेट,” “फ्रेन्च लभर” आदि । उनलाई अनेक साहित्यक र मानवअधिकारवादी सङ्गठनहरूबाट पुरस्कार र सम्मानहरू पनि प्रदान गरिएको छ ।
यसैगरी, बर्तमान बङ्लादेशको एउटा अर्को अन्तर्राष्ट्रिय हस्ताक्षर मोनिका अलि हुन् । हाल बेलायतमा बस्ने यी लेखिकाले कलिलै उमेरमा आफ्ना उपन्यासका लागि ख्याति कमाएकी हुन् । २००३ मा ब्रिटेनकी सर्वोत्कृष्ट उपन्यासकारको पुरस्कार जितेपछि चर्चामा आएकी अलिका हालसम्म चारवटा उपन्यास प्रकाशित छन् ः “ब्रिक लेन,” “अलेन्टेजो ब्लू,” “इन द किचन” तथा “अन्टोल्बड स्टोरी” । उनको लेखनका मूल स्वर घरको वास र परदेशो वासका बीचको खाडल र यसले सिर्जना गर्ने मनोवैज्ञानिक पीडा तथा, बल्दँदो विश्व परिवेश र आधुनिक मान्यताका बीच बाङ्लादेशी मान्यता, इस्लामवादी सोच र गरिबीको अन्तरद्वन्द हो । उनका प्रायजसो उपन्यासमा नारीपात्रको पीडा झल्काइएको हुन्छ ।

अफ्गानिस्तान

अफ्गानिस्तानको साहित्य स्वभाविक रुपले अन्य देशका दक्षिण एसियाली साहित्यभन्दा मध्यपूर्वीय साहित्यसँग नजिक रहेको पाइन्छ । अरबी र फारसी भाषाको आख्यान, विशेष गरी लोककथा र दन्त्य कथा परम्पराबाटै आफ्गानी साहित्यको विकास भएको पाइन्छ । त्यसैले, अफ्गानी साहित्य मूल रुपमा कथात्मक साहित्य हो । इतिहासभरि नै आफ्गानी साहित्यको मूल स्वर भनेको इस्लाम र स्वतन्त्रताको स्वर हो । पास्तो र दारी हुँदै आज अङ्ग्रेजी भाषामा पनि प्रकाशित हुनथालेको अफ्गानी साहित्य तालिबान प्रायोजित युद्धकालभन्दा अगाडिसम्म कम राजनैतिक र बढी लोक–पारम्परिक छ ।  उत्तरी आफ्गानिस्तानका आदिवासी मूल्य, यायावर जीवन शैली, र अफ्गानी किसानको घुमन्ते जीवनशैली पनि अफ्गानी साहित्यको एक विशिष्ट विषय हो । खुस्सला कटक र सैयद बुहएनुद्दिन मजरुहजस्ता कवि र कथाकारको धरोहरमा टेकेर अगाडि बढेको आधुनिक अफ्गानी साहित्य लोक मूल्यमै उभिएको साहित्य हो भन्दा अत्युक्ति हुँदैन । तर, रुसले अफ्गानिस्तानमाथि आक्रमण गरेपश्चताको समयका साहित्यमा राजनैतिक विषय पनि समेटिएका छन्, र इश्लामलाई स्वतन्त्रताको बाटोको रुपमा व्याख्या गरिएका छन् । तालेबानी शासन, र त्यसपछि अफ्गानिस्तानमाथि अमेरिका लगायत पश्चिमा मुलुकको सैनिक हस्तक्षेपको समयमा सिर्जित आफ्गानी साहित्य भनेको मूलतः असन्तुष्टीको साहित्य हो । तरै पनि, अफ्गानी साहित्यले कथ्य रुपको कथा वाचन परम्परालाई आजपर्यन्त जीवित राख्न सफल भएको छ, जुन सार्कका अन्य कुनै मुलुकको साहित्यमा त्यति देखिएको छैन ।
विगतका केही दशकमा अफ्गानिस्तानले युद्धका अनेक रुप झेलेको सबैलाई थाह छ । तालिबानी गतिविधि, अल कायदाको आतङ्क, बामियान काण्ड, राज्यविहीनता र पश्चिमी शैन्य हत्पक्षेपजस्ता घटना ताजै छन् । बिगत करीब तीन दशकको अफ्गानी साहित्य लगभग सुप्त साहित्य हो । तर जेजति लेखियो, युद्धकै पीडाबारे लेखियो । २००१ मा प्रकाशित, जाल्मे बाबाकोहीको “द आइडोल्स डस्ट” बामियान काण्डको दारुण रिपोर्ट हो, जसमा तालेबानी आतङ्कारीले बुद्धको प्रतिमालाई धूलोमा परिणत गरिदिएको कथाको चित्रण छ । यसैगरी, मोहमद होसेन मोहदीको कथा “दस ए लैली” सन् २००१ को त्यो घटनाको विवरण हो, जसमा अमेरिकी सेनाले करीब तीन हजार तालेबानी छापामारको सामुहिक हत्या गरेको थियो ।
आधुनिक अफ्गानी साहित्यको अर्को स्वर भनेको आप्रवसनको स्वर हो । हामी यस स्वरलाई आजको पुस्ताका आख्यानकार असेफ सोल्टान्जाडे, परविन फैज जादह मलाल, खान मोहम्मद सिन्द, पीर मोहम्मब कारवान, मोहम्मद मरहुन, र खालेद होसैनीका आख्यनमा पनि पाउँछौ । यीमध्यै विश्वमै अहिले खालिद हुसैनी चर्चाको शिखरमै छन् । “द काइट रनर,” “थाउजेण्ड स्पेन्डिन सन्स्” र “एण्ड द माउण्टेन इकोड” जस्ता उत्कृष्ट कृतिमार्फत उनले आधुनिक आफ्गानी साहित्यको शीर उँचो गरेका छन् ।

भुटान

भुटानी साहित्यको अन्तर्राष्ट्रिय अनुहार त्यति उन्नत देखिँदैन । छुटपुट साहित्यक गतिवधि र प्रकाशनबाहेक भुटानी साहित्यको जानकारी त्यति अन्तर्राष्ट्रिय पाठकसमक्ष आइपुग्दैन । यद्यपि केही भुटानी लेखक र कविहरूले पछिल्लो समयमा केही ख्याति बटुलेका छन् । यीमध्ये सबैभन्दा महत्वपूर्ण नाम कुन्जाङ चोदेनको हो । भुटानको बुम्थाङ् प्रान्तकी यी उपन्यासकार अङ्ग्रेजी भाषामा उपन्यास प्रकाशन गर्ने पहिलो भुटानी उपन्यासकार पनि हुन् । उनको पहिलो उपन्यास “भुटनिज टेल्स अफ यती” १९९७ मा प्रकाशित भएको थियो । यसपछि उनको  “द सर्कल अफ कर्म” सन् २००५ मा र “दावा, द स्टोरी आफ ए स्ट्रे डग” २००७ मा प्रकाशित भएका थिए ।
चोदेनका अतिरिक्त भुटानबाट दुई कविहरूको नाम पनि फुटकर चरनाका लागि लिन सकिन्छ । ती हुन्, कवि चोनिङ् दोर्जी र कवि तासी ग्योल्सेन । कविताका अतिरिक्त दोर्जीको “द लास्ट स्टार” शीर्षकको उपन्यास पनि प्रकाशित छ । तासी ग्योल्सेन कवि हुनुका अतिरिक्त पत्रकार तथा चलचित्र निर्माता पनि हुन् । उनी भुटानी चलचित्रमार्फत एक पृथक भुटानी परिचयको खोजीमा छन् । उनको “द रेड डोर” नामक चलिचित्र २०१४ को रोटरदम चलचित्र महोत्सवको लागि पनि छानिएको थियो ।

माल्दिभ्स

भुटानकै जस्तो, माल्दिभ्सको पनि साहित्य अन्तर्राष्ट्रिय पाठकका लागि त्यति धेरे परिमाणमा उपलब्ध भएको पाइँदैन, यद्यपि यो चहिँ सात्य हो, कि माल्दिभ्ससँग आफ्नो मौलिक साहित्यको लामो इतिहास छ । बारौँ शताब्दीतिरै लोमाफानु भन्ने माल्दिभी भाषाको पुस्तक प्रकाशित भएको विभिन्न श्रोतमा देखिन्छ । हुसैन सलाहुद्दिनद्वारा लिखित “सियाराथुन्नाबाभिया” नामक ग्रन्थको प्रकाशनसँगै माल्दिभी साहित्यको आधुनिक युग शुरु भएको मानिन्छ । यो एक धार्मिक ग्रन्थ हो । अर्का ख्यातिप्राप्त माल्दिभी कवि हुन् बोदुफेन्भालुगे सिदी, जसले २० औ शताब्दीमा माल्दिभी कविताका विभिन्न स्वरुपको विकास गरे । महिला कवियित्रीहरूमा अमिनाथ फैजा प्रमुख हुन् । माल्दिभी साहित्यमा उनलाई डेजी फूल भनिन्छ । अद्दु बान्देयरी हसन मनिकुफान माल्भ्सिका प्रतिष्ठित कवि हुन् । माल्भ्सिका अन्य लेखकहरूमा मोहम्मद अमिन, इब्राहिम सिहाब, र इब्राहिम इमाम लतिफ सामेल छन् । माल्दिभ्समा थुप्रै कथ्य परम्पराका लोक कथा पाइन्छन्, जसको सुन्दर संकलन जेभियर रोमेरोको “द फोक टेल्स अफ माल्दिभ्स” हो ।

श्रीलङ्का


अफ्गाघानिस्ताको जस्तै श्रीलङ्काको साहित्यको अधिकांश श्रोत यसको कथावाचान परम्परा हो । पछि, बौद्ध धर्मको प्रभावले पनि श्रीलङ्काको साहित्यमा महत्वपूर्ण प्रभाव पा¥यो । जातक कथालाई धेरै साहित्यक प्रसङ्गमा दृष्टान्तको रुपमा प्रयोग गर्ने प्रचलन आजपर्यन्त पाइन्छ । सिन्हाला, पाली, तामिल र अङ्ग्रेजी भाषामा लेखिएको श्रीलङ्काली साहित्य आफ्नै निजी इतिहासले लोक जीवनको उपज पनि हो । तर तमिल बिद्रोहीहरूको उदयपश्चातका दशकमा लेखिएको श्रीलङ्काली साहित्यमा युद्धको विषयले पनि राम्रै गरी प्रवेश पायो । अर्थात, स्वतन्त्रतापछिको श्रीलङ्काली साहित्यमा राष्ट्रिय नैराश्य, भ्रम, विभिषिका, राजनैनिक र सामाजिक उथलपुथल आदि विषयहरूको बाहुल्यता पाइन्छ । ससस्त्र द्वन्द, सामुद्रिक आँधीको पीडा, डेङ्गु महामारी, प्रजातन्त्रमाथिको पटकपटकको आक्रमण, आदि विषय समकालिन श्रीलङ्काली साहित्यका विषयवस्तुहरू हुन् ।
श्रीलङ्कामा लेखक र प्रकाशनको राम्रो विकास भएको हुँदा ख्याति पाएका लेखकहरू धेरै छन् । साइमोन नभगथथेगामा को “द हन्टर” विश्वविख्यात कृति हो, जसको विषयवस्तु बौद्ध दर्शन हो । अरियावंश रणविरा को “एट द सुपरमारकेट” कवितासङ्ग्रह विश्वस्तरको मानिएको छ, र यसको कारण स्थानीय विषयवस्तुलाई साधारण भाषामा वैश्विक कलेवर दिने कविको क्षमतालाई मानिएको छ । सामाजिक र आर्थिक विषयवस्तुमा लेखिने कथाहरूका कारण कलैवथ्थी कलिलको पनि अग्रस्थान छ श्रीलङ्काली साहित्यमा ।
श्रीलङ्काबाट केही विश्वविख्यात लेखकहरू पनि आएका छन् । तिनीहरूमा अग्रगण्य नाम माइकल ओन्दाटजेको हो । बुकर पुरस्कार विजेता कवि ओन्दाटजेका कविता विश्वका अधिकांश विश्वविद्यालयका पाठ्यक्रममा पढाइन्छन् । यसै गरी लकी दी सिकारा, इमाद हुसैन, निहाल दी सिल्भा, राजव विजेसिन्हा, र सेहान करुणतिलक समकालिन श्रीलङ्काली साहित्यका अन्तर्राष्ट्रिय हस्ताक्षर हुन् । करुणतिलकको हालै प्रकाशित उपन्यास “चाइनामेन ः ए लिजेण्ड अफ प्रदीप मेन्थू” कमनवेल्थ बुक प्रइज विजेता रहेको थियो । प्रदीप मेथ्यू नामक एक चर्चित क्रिकेट खेलाडीको जीवनीमा आधारित यस उपन्यासले वर्तमान श्रीलङ्कका आडम्बरहरूमाथि प्रहार गरेको छ ।

नेपाल

नेपालसँग साहित्यको लामै इतिहास छ । अन्य दक्षिण एसियाली मुलुकजस्तो नेपाल प्रतक्ष रुपमा युरोपको उपनिवेशमा परेर । त्यसैले उत्तरऔपनिवेशी चरित्रको साहित्य लेखन नेपालको प्रवृत्तिभित्र परेन । बरु, अन्य देश बेलायती साम्राज्यवादबाट मुक्तिको प्रयासमा रहिरहेको बेला नेपाल जाहानिया राणा शासनबाट मुक्तिको लडाइ लडिरहेको थियो, जुन १९५० आएर राणाका पतनसँगै सफल भयो । त्यसपछि, आंशिक रुपमा पुनस्र्थापित प्रजातन्त्रमा विभिन्न प्रकृतिका राजनैतिक हस्तक्षेप भैरहे, जसबाट देशलाई जोगाउन नेपाल विभिन्न आन्दोलनहरूको क्रिडास्थल बन्यो । वि.सं. १७ सालको पञ्चायती व्यवस्थाको घोषणा, २८ सालको आन्दोलन, ३६ सालको जनआन्दोलन, ४६ सालको आन्दोलन, ५० को दशकभरिको माओवादी जनयुद्ध,  र ६२–६३ सालका जनआन्दोलन नेपालले भोगेका राजनैनिक घटनाक्रमहरू हुन् । यसको अर्थ विगत करीब  आधा शताब्दीको नेपाली परिवेश राजनैनिक अस्थिरताको परिवेश हो । यस्तो समयमा लेखिएको नेपाली साहित्यको मूल स्वर, त्यसैले, राजनीति नै हो, यद्यपि स्वच्छन्दवादी र आदर्शवादी साहित्य पनि नलेखिएको भने होइन । लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठको युगमा शिखरमा पुगेको स्वच्छन्दवादी र प्रकृतिवादी साहित्य सिद्धिचरणकै समयबाट राजनैनिक स्वरुप लिन थालिसकेको थियो । यही धार पछि गएर प्रगतिशील साहित्यको धारामा विकसित भयो, र गोपालप्रसाद रिमाल, भूपी शेरचन, पारिजात, पूर्णविराम, बम देवान, मञ्जुल, कृष्णसेन इच्छुक हुँदै समकालीन कविहरू विप्लव ढकाल, अभय श्रेष्ठ, निमेश निखिल, सरिता तिवारी, भूपिन, केशव सिलवाल, विष्णु भण्डारी आदी कविहरूमार्फत प्रगतिशील कविताको एउटा समृद्ध श्रृङ्खला निर्माण गर्न सफल भयो । यसको समानान्तर, मानव जीवनका अन्य विविध पक्षको गैरमाक्र्सवादी परिभाषा, र मानवीय मूल्यहरूका विषयमा पनि नेपालले थुप्रै कवि र आख्यानकार पाएको छ, जसमा सम्मानका साथ विजय मल्ल, मोहन कोइराला, हरिभक्त कटवाल, ईश्वर बल्लभ, बैरागी काइँला, रत्न सम्शेर थापा, तुलसी दिवसआदि कवि, तथा मदनमणि दीक्षित, विपी कोइराला, धनुष चन्द्र गोतामे, ध्रुवचन्द गौतम, शङ्कर कोइराला हुँदै शारदा शर्मा, कृष्ण धरावासी, नयनराज पाण्डे, बुद्धिसागर चपाई र अमर न्यौपानेजस्ता धेरै उपन्यासकारहरू साहित्यको परिदृश्यमा देखा परेका छन् । डायमण्ड समशेरले अङ्किार गरेको ऐतिहासिक र राजनैतिक उपन्यासले लेखनको धारा पनि अगाडि बढि नै रहेको पाइन्छ । जगदीश घिमिरे, नारायण वाग्ले, युग पाठक आदि लेखकहरूले राजनीति, विशेष गरी माओवादी जनयुद्धको सेरोफेरेमा शक्तिशाली उपन्यासहरू लेखेका छन् ।  यसै गरी कथा र निबन्धको क्षेत्रमा पनि थुप्रै उपलब्धिहरू नेपालले हाँसिल गरेको छ ।
नेपाली साहित्यको पछिल्लो स्वर मूलतः राजनैतिक, त्यसमा पनि पहिचानको खोजी भएको प्रतीत हुन्छ । समकालिन कविताले प्रमुखतः यस विषयलाई मुखरित गरेको छ । श्रवण मुकारुङ्, स्वप्नील स्मृति, चन्द्रबीर तुम्बापो लगायतका कविहरू आदिवसी र जनजातीको पहिचानको मुद्दामा जोडतोडसँग कलम चलाइरहेका छन् भने कृष्ण प्रसाई, हेमन यात्री, फूलमान बल, हेमन्त विवश, राबत, उपेन्द्र सुब्बा लगायतका कवितहरू मौलिक नेपाली मिथक, लोक जीवन, नेपाली विश्वास र क्षेत्रक्षेत्रको विशिष्ट मौलिक विम्बहरूमा आधारित रहेका मानवीयताका कविताहरू लेखिरहेका छन् । सँगसँगै, मानव जीवनका सूक्ष्म अतिसूक्ष्म अनुभूतिहरूको मिहिन बुनोटमार्फत समताको वकालत गर्दै दिनेश अधिकारी, रमेश क्षितिज, भीष्म उप्रेती, मोमिल, हेमप्रभास, रमेश सायनलगायतका कविहरू शक्तिशाली कविता लेखिरहेका छन् ।
अन्तर्राष्ट्रिय परिदृश्यमा भने छुटपुट बाहेक नेपाली साहित्य त्यति परिचित देखिँदैन । स्तरीय अनुवादको कमी र निर्यातका अप्ठेरा यसका केही कारण हुनसक्छन् । अङ्ग्रेजीमै लेखेर केही ख्याति बटुल्न सफल नेपाली सर्जकहरूमा सम्राट उपाध्याय, मञ्जुश्री थापा, सुषमा जोशी, शिवा शाह, डी.बी.गुरुरू् आदि केही उपन्यासकारहरूको नाम लिन सकिन्छ । आज अनुवादमा, र सीधै अङ्ग्रेजीमै लेख्ने दिशामा धेरे सर्जकहरूको तत्परता देखिएको हुँदा नेपाली साहित्यको अन्तर्राष्ट्रिय उपस्थित निकट भविष्यमा निकै बढ्न सक्ने सम्भावना देखिन्छ ।

उपसंहार

सार्क क्षेत्रको सालाखाला साहित्यक चित्र यही हो । सार्ककै व्यवस्थाअन्तर्गत पनि सार्क लेख संघ गठन गरिएकोछ, जसले विभिन्न समयमा लेखहरूका सम्मेलनको आयोजना गर्ने र लेखकहरूलाई पुरस्कृत र सम्मानिक गर्ने गरेको छ । तर सधैँ राजनैतिक कारणले स्थगित हुने गरेको सार्कको नियमित कार्यतालिकालाई सुचारु रुपमा अगि बढाउने हो भने कला साहित्यले पनि प्रश्रय पाउने थियो । सार्क क्षेत्रसँग रहेका साझा शक्ति र सीमाहरूलाई साझा मञ्चमा छलफल गरी लेखनका नयाँ आयामहरू पत्ता लगाउनु जरुरी छ । पश्चिमा साहित्यको ग्रहणबाट उन्मुक्तिका लागि पनि सार्क साहित्य आफ्नै मौलिक ज्ञानकोष, र स्थानीय यर्थाथतिरै फर्कनु जरुरी देखिन्छ ।
सार्क साहित्यलाई स्पष्ट रुपमा एउटा मौलिक कलेवर दिन समालोचना र सिद्धान्तले पनि केही नयाँ आयाम खडा गर्नु आवश्यक देखिन्छ । उपनिवेशमा परेका र नपरेका दुवै प्रकारका राष्ट्र सार्कमा रहेका हुँदा, यी दुवै प्रकृतिका साहित्यको संयुक्त व्याख्याका लागि नयाँ समालोचकीय दृष्टिविन्दुहरू तयार पार्नु अनिवार्य छ । दोस्रो, सार्कका अधिकांश राष्ट्रका जनतालाई राजनीतिले भन्दा संस्कृतिले जोड्ने हुँदा सार्क साहित्यको व्याख्याका लागि नयाँ सांस्कृतिक मापदण्डहरू निर्माण गर्नुपर्छ र पश्चिमा सिद्धान्तको अन्धो अनुकरणको अभ्यासलाई निरुत्साहित गर्नुपर्छ । तेस्रो, पश्चिमा सिद्धान्तले अङ्गीकार गरेको आधुनिकता र उत्तरआधुनिकताको इतिहास सार्कको सँग मिल्दैन । अठारौँ शताब्दीको ज्ञानोदयसँगै शुरु भएको मानिएको पश्चिमा आधुनिकता, र साठीको दशकबाट शुरु भएको भनिएको उत्तरआधुनिकताको सापेक्षतामा उपनिवेशबाट वा राणा शासनबाट मुक्तिपश्चातमात्रै आधुनिकतामा प्रवेश गरेको सार्क क्षेत्रको साहित्यमा तद्रुप पश्चिमा सिद्धान्त मेल खाँदैनन् । यो कुराको बोध सबैले गर्नु जरुरी छ । अर्को कुरा, युरोपेली वा अमेरिकी समाज, भाषिक रुपले भिन्न भएपनि सांस्कृतिक रुपले समान छ, तर दक्षिण एसिया विविधताको क्षेत्र हो, र हाम्रा साहित्यक प्रयासहरूले आफ्नो वैभेद्यलाई यसैगरी सम्वोधन गर्नु जरुरी हुन्छ । यस सम्वेदनशीलतालाई केन्द्रमा राखेर, सार्क साहित्यको अध्ययन गरिनुपर्छ र कुनै एक वा दुई दृष्टान्तको आधारका सम्पूर्ण क्षेत्रलाई यो वा त्यो प्रवृत्तिको भनेर साधारणीकृत गर्ने अभ्यास बन्द हुनुपर्छ ।







Comments

Popular Posts

Introduction to some prominent Nepali poets prepared by Mahesh Paudyal

Dharabasi’s Radha: A Critical Introduction