जोखिमपूर्ण उडान

छालहरू किन
पानीमा डुबिरहेको सूर्यलाई
थोप्लो बनाएर
बनिदिन्छन् प्रश्नवाचक चिह्न?
(फूलको बान्ता)
 
यो सुन्दर दृश्यविम्ब र यसले बोकिल्याएको कालातीत यक्ष प्रश्न कवि भूपिनको हो। यस्ता अनेका सुन्दर विम्ब र शूक्तिमय अभिव्यक्तिहहरूको संग्रह हो उनको पछिल्लो कविताकृति 'सुप्लाको हवाईजहाज', जसको चर्चा नेपाली कविताको फाँटमा अहिले उत्कर्षमा छ। 
 
यसको आगमनसँगै नेपाली कविताका पारखीहरू कवि भूपिनलाई उनले करिब एक दशकअघि दिएर गएको हस्तक्षेपकारी संग्रह 'हजार वर्षको निद्रा'को सापेक्षतामा हेरिरहेका छन्, र कतै उत्साहित देखिन्छन् भने कतैचाहिँ माथि उनैले सोधेको यक्ष प्रश्न उनैतिर तेस्र्याइरहेका छन्  उनको कविताका छालहरू किन... बनिदिन्छन् प्रश्नवाचक चिह्न?
 
एउटा ओजिलो कवितासंग्रह, कुनै पनि कविका लागि निश्चय पनि लाइफटाइम एचिभमेन्ट हो। सधैंसधैं न यस्तो संयोग जुरिरहन्छ, न त त्यो उत्कर्ष छोइरहनु कुनै एक कविका लागि सम्भव हुन्छ।
 
थोरै कविहरू यस्ता हुन्छन्, जो एकपछि एक संग्रहरूमा नयाँनयाँ उत्कर्षहरू छुन्छन्, आफैंलाई विनिर्माण र नवनिर्माण गर्छन्, र पुनः आफूभित्रको जिउँदो कवित्वलाई पटकपटक पाठकसामु ल्याएर अनुमोदित गराउन सफल रहन्छन्। 
 
उल्लिखित उत्कर्ष र उचाइको विश्वास थोरै कविहरूबाट गरिन्छ र समकालीन नेपाली कविताको हकमा ती थोरै मेधावी काव्यशिल्पीमा पर्छन् कवि भूपिन। उनले भर्खरै नेपाली कविताको हवाई अड्डामा 'सुप्लाको हवाईजहाज' चढेर अवतरण गरेका छन्। यस अवतरणसँगै फेरि उनको आफ्नो काव्यिक ल्याकत स्थापित गरेका छन्।
 
'सुप्लाको हवाईजहाज'ले भूपिनको कथ्यका दुई महत्वपूर्ण पाटा उजागर गरेको छ। एउटा, उनीभित्र यथार्थले जति किचे पनि सधैं अंकुरित भइरहने एउटा रुमानी कवि छ; जो आमा, बालबालिका, प्रकृति, प्रेम, कल्पनाशीलता आदि स्वच्छन्द विषयमा रमाउँछ। 
 
र अर्को, उनको आफूले बाँचेको विसंगत समयमा संगती खोज्ने यथार्थवादी पाटो। आफूलाई स्पष्टतः यथार्थवादी कित्तामा दाबी गर्ने कविको काव्यिक जीवनमा यो एक विपर्यास् पनि हुनसक्छ, कि उनको काव्यकलाको जादु भने उनका रुमानी कवितामै देख्न, बुझ्न र महसुस गर्न सकिन्छ। 
 
उनका 'आमा  एक', 'आमा  दुई', 'शरणर्थी', 'पहाड सुन्दरी', 'छाया' आदि कविता उनको काव्यिक उत्कर्षका जबरजस्त दाबी हुन्। सार्विक मानवीय भावनाका साक्षी यी कविताको बुनोट, लालित्य र शिल्प अनुपम छ, र यी कविताको उचाइँमा कवि भूपिनको काव्यिक उत्कर्ष भेट्टाउन सकिन्छ। 'शरणार्थी' कविताका यी हरफ, सायद उनको भावनात्मक पक्षलाई सुन्दरताको सीमान्त बिन्दुमा प्रस्तुत गर्न सफल छन् ।
 
फरक छ
मेरो सपनाको जंगल
र बिनाको यो उराठलाग्दो भूमिमा।
ज्यूनका लागि केवल
 
जन्मभूमिका प्रिय स्मृतिहरू बाँकी छननदीको किनारमा छु
तर तृष्णा बित्ने पलहरू बाँकी छन्। (८०)
 
संग्रहमा अनेक त्यस्ता कविता छन्, जहाँ शूक्तिमय हरफहरू एकपछि एक दुर्लभ काव्यिक उचाइतिर इंगित गर्छन् र भूपिनभित्रको जीवन्त काव्यसरितालाई पाठकको मनमस्तिष्क स्पर्श गर्ने गरी उद्वेलित गर्न सक्छन्। 
 
उदाहरणका लागि, 'अचेल मलाई यो सडक÷पैतालाका छापहरूको म्युजियमजस्तो लाग्छ' (पागलको गीत), 'सम्भव नभएर पो म हैरान छु आमा÷यो दुनियाँमा रगत र मिर्गौलाझैं÷आयु दिनसक्ने कुनै विधि भएन' (आमा २), 'यही डल्लो जाँतोझैं फन्फनी घुमाएर÷आफ्नो उमेर÷अँजुलीभरि सपनाहरूको घान हालेर÷तिमीले मेरा लागि घुमाइरह्यौ जाँतो जीवनभरि' (फेसुबकमा आमाको तस्बिर) आदि। 'बच्चाहरू नभएको बस्ती' शीर्षकको कवितामा उनको काव्यिक विलक्षणता यसरी उद्घाटित भएको छ 
 
बच्चा बेरिएको आमाका नालमा झुन्डिएर
ओर्लन्छ स्वर्ग पृथ्वीमा
र साम्राज्य विस्तारमा निस्किएको नर्क
विस्थापित हुन्छ। (बच्चाहरू नभएको बस्ती)
 
उनको काव्यिक उत्कर्षतिरको अर्को पडाउ भनेको 'पहाड सुन्दरी' हो, जसको काव्यिक मूच्र्छनाले स्वतः नछुने सायदै कोही पाठक होला। पहाडलाई व्यक्तीकरण गरिएको यस कलात्मक कविताको अन्त्यतिर उनी लेख्छन् 
 
हेर, मेरा हात यति साना छन् कि
म तिम्रो कुनै सानो अंग पनि चलाउन सक्दिनँ
मेरो रुमाल यति छोटो छ कि
तिम्रा आँखीभौँ पुछ्न पनि सक्दिनँ। (पहाड सुन्दरी)
 
भूपिनको दार्शनिक चेत यस कवितासंग्रहमा पनि उत्तिकै प्रखर रूपमा मुखरित भएर आएको छ, जस्तो उनका अघि अघिका कविताहरूमा देखिन्थ्यो। 'ग्यालरीमा बुद्ध', 'हल्ट', 'विस्मरण' र 'छाया'जस्ता थुप्रै कविता छन् संग्रहमा, जो दार्शनिकताको एक लोभलाग्दो उचाइबाट निःसृत भएर जीवनको फाँटमा बेगवान् छालहरूसहित बगेका छन्। 
वैचारिक ह्याङओभरले निम्त्याएको यो स्तरको एकांगी दृष्टिकोण भूपिनको कदको कविबाट अपेक्षित छैन। 
उनको 'सुप्लाको हवाईजहाज' आफैमा एउटा यस्तै कलेबरको सून्दर कविता हो, जसभित्र उनी सिकाइको सिद्धान्तमाथि नै धावा बोल्छन्, र दर्शनिक रुसोलेजस्तो मानिसको स्वाभाविक रुझानअनुरूपको स्वतन्त्रताको पक्षमा उभिन्छन्। उनी भन्छन् 
 
म सम्झिन्छु अझै
उड्न खोजिरहेको मेरो जहाज
तपाईंको अहम्को पहाडमा ठोक्किएर
दुर्घटित भएको। (सुप्लाको हवाईजहाज)
 
दर्शन, कल्पना, भावना र प्रेममिश्रित उनको रुमानी व्यक्तित्वलाई कला, कथ्य र कलेवरको सुन्दर त्रिवेणीमा साजएका भूपिनको यस संग्रहले उद्घाटित गरेको उनको अर्को पाटो पनि छ। 
 
सो हो, देश र समयको पछिल्लो संस्करणप्रति सजग र सचेत उनको यथार्थवादी व्यक्तित्व। हुन त यो विरोधाभासजस्तो देखिएला कि स्वच्छन्द कविताका जादुगर भूपिन यथार्थपरक कवितामा यसरी उत्रँदा उनी वैचारिक स्पष्टताका कसीमा आफैंलाई कहाँनिर खोजिरहेका छन् ? वैचारिक विचलन त होइन? 
 
स्वाभाविक प्रश्न हो। तर देश र समय नदुख्ने कवि हुँदैन सायद। उनी देश र समयले छोइएका, पिटिएका, आक्रोशित तुल्याइएका एक आमनागरिक पनि त हुन्। यथार्थ पहाड बनेर मान्छेसामु खसिसकेपछि सायद मान्छेले बादलपारिको कुनै काल्पनिक एकादेश सम्झँदैन। भूपिन पनि अवपाद होइनन्।
 
तर जटिल यक्ष प्रश्न भने अझै बाँकी नै छ। उनले 'सुप्लाको हवाईजहाज'लाई शीर्ष कविताका रूपमा स्वीकारेपछि र संग्रहलाई नै यही नाम दिएपछि पाठकसँग यो सोच्ने स्वतन्त्रता रहन्छ, कि यस कविताको कथ्य उनको कवित्वको र चिन्तनको पनि निचोड हुनुपर्छ। 
 
'सुप्लाको हवाईजहाज' कविता कल्पनाशीलताको पक्षमा हो, जसको विरोधमा उभिन्छन् यथार्थवादीहरू। कविताको तेस्रो अन्तरामा कविको वयस्क मस्तिष्क पनि अझै सुप्लाको हवाईजहाज बनाउँछ, र बाल्यकालमा जस्तै चन्द्रमा छुने कल्पना गर्छ। उनी ती विद्यार्थीको प्रतीक्षामा छन्, जो 'कल्पनामै सही÷एउटा बैंसालु देशको चित्र मनमा सजाएर÷देश देशान्तर पुग्छन्।'
 
हुन त यो कल्पना यस देशको भोलिको यथार्थको सपना हो, जहाँ उन्नति, प्रगति र स्वतन्त्रता हुनेछ तर यसका लागि कल्पना, सपना र रुमानी चिन्तन कति आवश्यक छ, त्यसको उपादेयता कविले स्वीकार गरेका छन्। 
 
बरु सर्वत्र देखिएको अधोगति, दुर्घटना र दिनदिन बढ्दै गरेको व्यथितिका बारेमा उनी भन्छन्, 'म पत्याउन चाहन्नँ यो कुरा÷पत्याउन चाहन्नँ।' जोन् किट्सको 'निगेटिभ केपेबिलिटी' नजिकको यो एक पाटो, र अर्को समाजवादी पाटो। तालमेल-टु-एन्ड-फ्रो ! अर्को यक्ष प्रश्न पनि। उनले आफैंले भनेको 'टु-एन्ड-फ्रो मोसन'को सैद्धान्तिक भासमा कतै उनी आफैं फँसेका त होइनन् ?
 
यस आलेखको उठानमा उल्लिखित, भूपिनले आफैंले सिर्जना गरेको यक्ष प्रश्नको अर्को पाटो पनि छ, जो भूपिनका आधाउधी कविताको अघिल्तिर तेर्सिएको छ। यी प्रश्नहरू भूपिनमा दिनदिन अग्लिँदै र चुलिँदै गएको कवित्वको खोजी गरिरहेका पाठकहरूले सोध्ने प्रतिनिधि प्रश्न हुन सक्छन्। 
 
यी प्रश्नहरू पनि 'टु-एन्ड-फ्रो मोसन'मा झुलिरहन्छन्  कहिले कविताको कथ्यको नजिक, कहिले शिल्पको नजिक। भूपिनले सम्बोधन गर्नैपर्ने एउटा प्रश्न यो देखिन्छ, कि धेरै कवितामा उनले उस्तैउस्तै कथ्यको भारी बोकेका छन्, जो सत्ता-शक्ति, सामन्त वा छिमेकीप्रतिको आक्रोशको रूपमा मुखरित भएर आएको छ। 
 
उनलाई आफ्नो प्याटेन्ट अनिश्वरवाद र स्पष्ट वाम रुझान धेरै ठाउँ र धेरै कवितामा अवृत्त गर्नुपर्ने सायद थिएन। त्यो उनका निबन्धहरूमा पनि आइसकेको विषय हो। अथवा, एकदुई कविताले त्यो भनिसकेपछि अब थप कुरा वा नवीन कुरा खोज्नु पाठकको पनि त अधिकार हो !
 
यथार्थवादी कवितामा सुन्दर, काव्यिक, प्रतीकात्मक र व्यञ्जनात्मक उठानबाट विषय प्रवेश गरेका भूपिन पटकपटक सपाट अविधात्मक अभिव्यक्ति लिएर आएका छन्, जसले गर्दा कविताको शिल्प पक्षसँग उनले धेरै ठाउँ सम्झौता गरेका छन्।
 
'ट्राफिक दाइ' पूर्णतः प्रतीकात्मक कविता हो र उठान अब्बल र कलात्मक छ, तर कवितामा बीचमा गएर 'कैलेकाइँ यो तन्नम देशलाई÷बीच बाटोमा छोडेर ÷उनीहरू दरबारतिरै फर्किएका छन्' जस्ता आमभाष्यका सपाट हरफहरूले निर्मम घूसपैठ गरेका छन्। 
 
उनको यो दोष 'पुजारी' र 'लज्जा'जस्ता उनका चर्चित कवितहरूमा पनि छ। प्रतीत हुन्छ, यी कविता लेखिरहँदा भूपिनले कथ्यको भारले आफ्नो कविलाई मनोमानी किच्न दिए; उनले काव्यिक साधनाको त्यो दुर्लभ उचाइमा आफैंलाई पुर्याएर यी सपाट अभिव्यक्तिलाई कसरी व्यञ्जनाको झंकार दिन सकिन्छ, सोचेनन्।
 
कथ्यकै कसीमा पनि कतिपय कविता प्रश्नको दायराभित्र छन्। 'देबे्र हात' पूर्णतः एकांगी कविता हो, जसले स्वभावतः देब्रे हात चलाउनेहरूले दाहिने हातलाई नेपथ्यमा पार्दै ल्याएको यथार्थलाई पूर्ण रूपमा बेवास्ता गरेको छ।
 
देब्रे हात गाली गर्न काम लाग्छ भन्ने उनको अभिव्यक्तिले सधैं इजलासको सामना गर्नुपर्ने निश्चित छ। 'बेसार' कवितामा बेसारले 'न कुनै शक्ति थप्छ' भनिरहँदा बेसारको स्थापित औषधीय गुणलाई उनले उपेक्षा गरेको कुरा पनि देखिन्छ। 'कवि कुनाको अँध्यारो चेपबाट'मा उनी निचोड सुनाउँछन्, 'कविहरू !
 
अलिकति तिखारौं कविताको धार÷ताछ्न पुराना चिन्तनका गाँठाहरू' जसप्रति प्रश्न गन सकिन्छ  के पुरानोचाहिँ सबै नराम्रो हुन्छ ? हाम्रो सभ्यताको धरोहरले शताब्दीऔंअघि स्थापित गरेर गएका कतिपय आदिम मानवीय मूल्यको के हुन्छ ? अनि, पुरानो माने कति पुरानो ? 
 
के सहस्राब्दीअघि वैशालीमा स्थापित प्रजातन्त्र नयाँ हो ? के दुई शताब्दी टेक्न लागेको माक्र्सवाद पुरानो अथवा नयाँ हो ? नराम्रा विचार नराम्रा नै हुन्, नयाँ हुन् कि पुराना। राम्रा रामै्र हुन्, पुराना हुन् कि नयाँ।
 
'रूख' कवितामा रूखको अनुरोध छ, 'कदापि मलाई÷तिम्रो मालिक बस्ने आसन नबनाऊ।' यसको पनि अर्थ हो, दुनियाँका सबै मालिक खराब हुन्छन्। वैचारिक ह्याङअओभरले निम्त्याएको यो स्तरको एकांगी दृष्टिकोण भूपिनको कदको कविबाट अपेक्षित छैन। 
 
'देश' कवितामा देशमा कवि कतै सकारात्मक कुरा देख्दैनन्। यो उनको दृष्टिकोण होला, तर 'सुप्लाको हवाईजहाज'जस्ता कवितामा उनले व्यक्त गरेको आशावादिताको सापेक्षतामा भन्न सकिन्छ, भूपिनले यस्ता पूर्णतः निराशावादी विचार व्यक्त गरेर कताकति आफ्नै विश्वदृष्टिलाई आफैं काटेका छन्।
 
'संगीतकार २' भन्ने कवितमा संगीतकार घरमा भएन भने 'घरको छानो÷चट्याङको निशाना बन्छ'भनिएको छ। तर संगीतकार घरै भए पनि चट्याङै थेग्नसक्ने त कुरा हुँदैन। प्रतीकात्मक कुरा होला, तर हतारको चयन भने अवश्य हो। 'दसैंमा परदेशी सम्झेर,' 'पुजारी', 'लज्जा', 'कोर्रा', 'वर्णपटमा युवती', 'उडान' आदि कविता नयाँ कविता भएर पनि नयाँ कुरा दिन नसकेका औसत कविता हुन्।
 
भाषिक त्रुटिको फेहरिस्त लामै छ, जसलाई भाषा सम्पादकले आगामी संस्करणमा हेरून्। 'जिद्धि', 'हिँसा', 'घारिलो' 'अनिराल', 'विस्तारै', 'उँध्दै', 'निस्कृय', 'मुद्धा'जस्ता अशब्दले शुद्धीकरण पर्खेका छन्।
 
किताब:  सुप्लाको हवाईजहाज (कवितासंग्रह)
लेखक:  भूपिन
प्रकाशक:  बुकहिल पब्लिकेसन
पृष्ठ : १३५/-

Comments

Popular Posts

Introduction to some prominent Nepali poets prepared by Mahesh Paudyal

Dharabasi’s Radha: A Critical Introduction