त्यो अपरिचित अनुहार
महेश पौड्याल सप्तकोशी उर्लिएको थियो । माथि हिमालमा निकै पानी परेका हुनुपर्छ, नदीमा उफान थियो डरलाग्दो । धमिलो पानी, पानीको माथिल्लो सतहमा वाफ उडेजस्तो पनि देखिन्थ्यो । विशाल नदीको कर्कश सुसाइ — कुनै शोकगीत जस्तो । लाग्थ्यो, आकाशले यसै नदीको छातीमाथि आफ्नो कुनै मृत सन्तानको देह भर्खरै विसर्जन गरेको छ, र अहिले ऊ शोकमा आँसुका धारा खसाइरहेको छ । यो बेला कोशीमा कोही थिएन । बेफ्वाँक बगिरहेको थियो नदी, सागरतिर । किनारमा माझीका दुईचार डुङ्गा बाँधिएका देखिन्थे, तर मान्छेको छावासम्म पनि देखिँदैनथ्यो । तल कोशी ब्यारेजमा भने केही चहलपहल थियो, तर आज माछा तारेर बेच्ने, अथवा किन्ने–खाने मान्छे देखिँदैनथे । कोशी पुलमाथिबाट पूर्व–पश्चिम गुड्ने गाडीको सङ्ख्या पनि, बर्सातले होला, निकै नै पातलो थियो । शुक्र माझी सप्तकोशीका निर्जन बगरहरूको पर्यटक बन्न थालेको करिब एकवर्ष भइसकेको थियो । घरमा भुनी दिनरात भन्थी, “किन जान्छौ कोशीमा सधैँरु घरै बसे हुन्न ?” तर ऊ मान्दैनथ्यो । छिमेकी भन्थे, “माझी हो ऊ । नदीमा नगए के हिमाल चढोस् तरु” तर अरु माझीले जस्तो माछा मारेर नल्याएको वर्षदिन भइसकेको थियो । आज अबेर...