त्यो अपरिचित अनुहार

महेश पौड्याल
सप्तकोशी उर्लिएको थियो । माथि हिमालमा निकै पानी परेका हुनुपर्छ, नदीमा उफान थियो डरलाग्दो । धमिलो पानी, पानीको माथिल्लो सतहमा वाफ उडेजस्तो पनि देखिन्थ्यो । विशाल नदीको कर्कश सुसाइ — कुनै शोकगीत जस्तो । लाग्थ्यो, आकाशले यसै नदीको छातीमाथि आफ्नो कुनै मृत सन्तानको देह भर्खरै विसर्जन गरेको छ, र अहिले ऊ शोकमा आँसुका धारा खसाइरहेको छ ।
यो बेला कोशीमा कोही थिएन । बेफ्वाँक बगिरहेको थियो नदी, सागरतिर । किनारमा माझीका दुईचार डुङ्गा बाँधिएका देखिन्थे, तर मान्छेको छावासम्म पनि देखिँदैनथ्यो । तल कोशी ब्यारेजमा भने केही चहलपहल थियो, तर आज माछा तारेर बेच्ने, अथवा किन्ने–खाने मान्छे देखिँदैनथे । कोशी पुलमाथिबाट पूर्व–पश्चिम गुड्ने गाडीको सङ्ख्या पनि, बर्सातले होला, निकै नै पातलो थियो ।
शुक्र माझी सप्तकोशीका निर्जन बगरहरूको पर्यटक बन्न थालेको करिब एकवर्ष भइसकेको थियो । घरमा भुनी दिनरात भन्थी, “किन जान्छौ कोशीमा सधैँरु घरै बसे हुन्न ?” तर ऊ मान्दैनथ्यो । छिमेकी भन्थे, “माझी हो ऊ । नदीमा नगए के हिमाल चढोस् तरु” तर अरु माझीले जस्तो माछा मारेर नल्याएको वर्षदिन भइसकेको थियो ।
आज अबेरसम्म बस्यो शुक्र नदी किनारमा । किन हो किन, उसलाई घर जानै मनलागेन । त्यस दिनको जस्तो बाढी अघिल्लो साल लगभग त्यही बेला आएको थियो कोशीमा । किनारका धेरे घर बगेका थिए । खेततिर पसेको थियो कोशी । भन्नेले चोकमा उसले तीस वर्षदेखि सुन्दैआएकै कुरा भनेका थिएः “भारतले बाँध थुन्यो, नेपाल डुबायो ।” सीमानामा भारतका गरिबहरू भन्थे, “बिहार पूरा बहगैल । दोसौ जन मरगइल । नेपाल ने बाँध खोल्दिल ।” रहस्य न उसले बुझेको थियो, न अरु कसैले । प्रकृतिको कहर थियो, मान्छेको ज्ञान र बुताभन्दा निकै माथि ।
आकाशमा कालो बादलको साम्राज्य थियो । घाम देखिँदैनथे । हातमा एउटा पुरानो छाता लिएर कोशी किनारमै दिन काट्यो शुक्रले । घाम अस्ताएको पत्तै भएन । झमक्कै साँझ परेपछि झस्कियो ।
तर घर जाऊँजस्तो लागेन । वास्तवमा घरमा ऊ केही पनि गर्दैनथ्यो । एक वर्षदेखि उसले व्यवहारको लत्तो पूरै छोडेको थियो । भुनिया घरमा मसिन चलाउँथी, लुगाफाटा सिलाएर जीविका धान्थी । शुक्र स्वतन्त्र थियो ।
ठूलो वर्षाको चेतावनी उसले पनि सुनेको थियो । घरबाट बाहिर नजान सरकारले जारी गरेको हुकुम पनि सुनेको थियो । तर त्यस चेतावनीको उसमा कुनै असर थिएन ।
उसले त्यसदिन कोशी किनारैकिनार करिब सात किलोमिटरको यात्रा गर्यो । हिँड्न त ऊ बेजोड हिँड्नसक्ने मान्छे हो । तर त्यसदिन भने उसको हिँडाइ त्यति गतिशील थिएन । ठाउँठाउँमा ऊ रोकिन्थ्यो, किनार छोडेर नदीको घेरोतिर जान्थ्यो, एउटा हातले छाता समाते पनि अर्को हातले पानीमुनि खै के हो खोजेजस्तो गर्थ्यो, तर बालुवामात्रै निकाल्थ्यो, र पुनः कोशीमै फालिदिन्थ्यो । हरेक तीन सय मिटरमा ऊ यसै गर्थ्यो।
यसै गर्दागर्दै शुक्रले कोशी किनारमै रात पार्यो । नजिकका मान्छे नदेखिने बेला हुँदासम्म ऊ आफ्नो झुपडीभन्दा करिब सात किलोमिटर टाढा, र कोशी ब्यारेजभन्दा करिब चार किलोमिटर दक्षिणमा अवस्थित एक निर्जन बगरमा थियो ।
ऊ यसरी हराइरहन्थ्यो । भुनिया बानी परिसकेकी थिई । खोजीनिधि पनि गरिन ।
रात पर्यो । दिनभरिको मुसलधारे पानी केही थामिएजस्तो भयो । पश्चिमतिर बादल अलिअलि फाटेको हो कि जस्तो देखियो, तर तारा देखिएनन् ।
बर्षा पूरै रोकियो, तर कोशीको रवाफ रोकिएन । यस ठाउँमा रोकिए पनि सातवटा कोशी बोकेर बग्ने सप्तकोशीको सतह घट्न सबै कोशीहरू घट्नुपर्थ्यो । तर तुरन्तै त्यस्तो कुनै सम्भावना थिएन । कोशी उर्लिरह्यो, गाइरह्यो कर्कश गीत । शुक्र किनारमै निदायो ।
उर्लँदो भेलको स्वाभाविक आवाजभन्दा केही पृथक, कुनै बच्चाको हाँसोजस्तो कलिलो आवाज सुनेपछि ऊ झस्केर उठ्यो, मध्यरातमा । उसले हेर्यो कोशीको मूल भँगालोतिर । अहो, कस्तो अचम्म ! कस्तो विस्मय !
नदीको बीचोबीच अनेकौँ सासाना सूर्यहरू एकैचोटि लागेजस्तो उज्यालो थियो । त्यो उज्यालो एउटा अनुहारको वरिपरि गोलाकार प्रभामण्डलको ज्योतिबाट आइरहेको थियो, र त्यस उज्यालोले घेरेको थियो एउटा दिव्य, अलौकिक र ईश्वरीय अनुहार ।
शुक्रले त्यस अनुहारलाई निकै ध्यानसँग हेर्यो । असीम अनुकम्पाले ओतप्रोत आखाँ, जहाँबाट प्रेम बर्सिरहेको थियो निरन्तर । ती आँखा घरि ऊतिर हेर्थे, र घरि पारि क्षितिजतिर । माथिदेखि तलसम्म वस्त्रले ढाकिएको थियो त्यो दिव्य व्यक्तित्व, र ती वस्त्र घरि सेता देखिन्थे, घरि गेरुवा ।
शुक्रले अझै गहिरोसँग हेर्यो त्यस अलौकिक व्यक्तित्वलाई । उसको अँगालोमा एउटा बालक थियो — तीन वर्षजतिको हुँदो हो — र ऊ निरन्तर हाँसिरहेको थियो । अब शुक्रका आँखा त्यस बालकको दिव्य अनुहारतिर केन्द्रित भए । हो, ती आँखा परिचित थिए । त्यो मुखमण्डल, त्यो पनि परिचित । त्यो कपाल, त्यो जीउडाल, छालाको रङ — सबै सबै परिचित ।
रात निकै गहिरिसकेको थियो । कोशी किनारमा चिसो सिरेटो चलेकोचल्यै थियो केहीबेर अघिसम्म । तर यी अनुहारहरू देखेपछि शुक्रलाई एक्कासि न्यानो बनेर आएको आभास भयो । अघिसम्म, भित्रैसम्म कमाउने लुगलुगे सिरोटेमा अहिले कहाँबाट आयो यो मातृवत न्यानोपन रु न अन्धकार, न स्याँठ । शुक्रको रोम रोम एक अलौकिक न्यानोपनले स्पर्शित भइरहेको थियो । विगतका धेरै वर्षमा उसलाई यस्तो कहिल्यै पनि भएको थिएन ।
सबै सबै परिचित, तर त्यस बालकको हाँसो, त्यो खुसी र मुस्कान शुक्रलाई अनौठो र विरानो लाग्यो । उसलाई बारम्बार झझल्को आइरहने अनुहार थियो त्यो । हो, उसको सम्झनामा तरङ्गित भएर आउने बालकको अनुहार र मुखमण्डल यही नै थियो, तर उसले सम्झने गरेको अनुहारमा भने, सादाका लागि टाँसिएको भोक देखिन्थ्यो, पीडा देखिन्थ्यो, रोदन देखिन्थ्यो, आँसु देखिन्थे — मानौँ, यो अनुहार दुःखकै मात्र क्यान्भास हो, र यहाँ आँसुमात्रै फुल्न सक्छ ।
बीच नदीमा दखिएको त्यो अलौकिक दृश्यलाई शुक्रले अपलक हे¥यो । त्यो वयष्क पुरुष त्यस बालकलाई दुवै हातले हावामा फाल्थ्यो, र फेरि दुवै हातले समाउँथ्यो । अनि घरि टाउकोमाथि फनफनी घुमाउँथ्यो, अनि अँगालोमा बेर्थ्यो, र म्वाइँ खान्थ्यो । लाग्थ्यो, ती दुई संसारकै सबैभन्दा खुसी बाबुछोरा हुन् ।
अपरिचित वयस्क, परिचित बालक । शुक्रलाई खपिनसक्नु भयो ।
ऊ आफ्नो ठाउँबाट जुरुक्क उठ्यो, र हातको इशाराले ती दुईलाई किनारतिर बोलायो । सरक्क आए, कुनै आज्ञाकारी बालक जस्तो ।
नदीभित्रका ती दुई र नदीबाहिरको शुक्रबीच अब दुई मिटरजतिको मात्रै दूरी थियो होला । शुक्रले अझ गहिरिएर हेर्यो त्यो बालकलाई । जिन्दगीका कोर्राले खोपिल्टिएको आफ्नो अनुहारमा क्रितृम नै सही, उसले हाँसो पोत्ने प्रयास गर्यो । जमेर सिसाजस्तै भएका आँसुका टुक्राले छियाछिया पारेका, र लामो समयदेखि सुक्खासुक्खा भएका आँखामा वात्सल्य उमार्ने कोसिस गर्यो ।
नदीभित्रको त्यस दिव्य पुरुषको अनुहारबाट माया नै मायाको वर्षा भैरहेको जस्तो देख्यो उसले । उसका गहिरा दृष्टि मानवीय संवेदनाका छालहरूले ओतप्रोत देखिन्थे । त्यो मुखमण्डल, त्यो मन्द मुस्कान, ती अतिशय आकर्षक ओठहरू — लाग्थ्यो ऊ संसारको पिता हो, र आफ्नो पितृत्वले सारा ब्रहमाण्डलाई सिञ्चित गरिरहेको छ ऊ । उसले मन्दिरमा देखेको भगवान्, पत्रिकामा देशेको यसु ख्रिष्ट अथवा कल्पना गरेको अल्लाह त्यसै दिव्य पुरुषमा देख्यो, एकैचोटि ।
र यो बालक ! शुक्रले ठम्यायो उसलाई । उसका आँखाले चिने । उसको धडकनको गति एक्कासि बढेर आयो, कोशीको भेलजस्तै । थर्र काँप्यो जीउ । र हात — एक्कासि फैलिए अगाडि — कोशीतिर, बालकतिरै ।
बोल्नचाहिँ शुक्र केही बोलेन । तर, अगाडि फैलिएका उसका हात हल्लाउँदै उसले मुन्टोको इशाराले त्यो बालकलाई “आऊ !” भनेर आफूतिर बोलायो । तर बालकका दिव्य आँखामा कुनै अपरिचितलाई हेर्दाका जस्ता अलमल दृष्टिमात्रै देखिए । त्यो अनुहारमा कुनै उत्साह वा खुसी केही देखिएन । एक अपरिचित दृष्टि र भयजस्तो केही पोतिएको थियो ती निर्दोष आँखामा ।
धेरैपटक शुक्रले त्यस बालकलाई आफूतिर बोलायो । ती दिव्य पुरुषले पनि दिन खोजे । तर बालक पटक्कै मानेन । ऊ आफूलाई तिनै दिव्य पुरुषको बाहाँतिरै तानिरह्यो । उनैलाई पुलुक्क पुलुक्क हेरिरह्यो । उनको सेताम्य दाडी सुम्सुक्याइरह्यो । तानिरह्यो ।
शुक्रका पनि दाडी थिए, तर काला । उसले पनि ती दाडी देखाएर बालकलाई आकर्षित गर्ने कोसिस ग¥यो । तर बालकमा त्यसको कुनै पनि प्रभाव परेन ।
उसलाई एक्कासि त्यो दिव्य पुरुषसँग रिस उठेर आयो । हुन त त्यो पुरुषले केही पनि गरेको थिएन, तर ऊ आफूभन्दा राम्रो, आकर्षक र बढी प्रममयी भएकै कारणले त्यो बालक ऊसँग टाँसिएको निश्कर्ष उसले निकाल्यो ।
“मलाई दिनुस् मेरो बालक,” उसले भन्यो ।
दिव्य पुरुषले बालकको अनुहारमा पुलुक्क हेरे । बालकले पनि उनलाई हेर्यो । उनले इशाराले सोधे, “ऊ, उहाँसँग जाने हो ?” बालकले टाउको हल्लाउँदै इन्कार गरिदियो, र तिनै पुरषको देहमा थप टाँसियो, लपक्क भएर ।
“मान्दैन,” उनले शुक्रलाई भने ।
“किन मान्दैन ?” शुक्र चिच्यायो । पुरुष हाँसिमात्रै रहे, दिव्य मुस्कान । बालक पनि हाँस्यो । उसका गालामा अलौकिक सौन्दर्य पोखिएको देखिन्थ्यो । एकपल्ट खितिति नै हाँस्यो ऊ, र त्यो हाँसो कोशीको कर्कश ध्वनिलाई चिर्दै पर परसम्म फैलियो ।
“घर आऊ, बाबु । बाबासँग आऊ,” शुक्रले विनीत स्वरमा भन्यो ।
बालक अर्कैतिर फर्कियो ।
“बाबालाई चिनेनौ ? यी हेर त मेरा हात । चिनेनौ ?”
बालकले कुनै प्रतिक्रिया दिएन । दिव्य पुरषका ओठमा भने हाँसो खेलिरहेको थियो, अझै पनि ।
“घरमै नभए पनि छिमेकमा गाई छ । धेरै बुबु दिन्छ । तिम्रो लागि बुबु ल्याउँछु नि म । अचेल मामुले धेरै लुगा सिलाउँछिन् । तिमीलाई नयाँ लुगा किन्दिन सक्छिन् । आऊ, घर जौँ ।”
यसै बेला दिव्य पुरुषले आफ्ना आफ्नो एउटा हात आकाशतिर उठाए । आकाशबाट उड्दै एउटा सफेद दूधको बोतल झर्यो, र टक्क उनको हातमा आयो । उनले त्यो दूध बालकलाई पिलाए ।
“बाबु, पहिलेजस्तो खडेरी छैन अहिले, गाउँमा । हेर त, कति परिरहेछ पानी ! धेरे फलेको छ धान हाम्रो खेतमा । फेरि तिमी भेकले रुनु पर्दैन बाबु, सत्ते ।”
कुनै प्रतिक्रिया आएन कतैबाट ।
“हाम्रो आँगन सम्झन्छौ ? त्यसमा, कोशीपट्टिको किनारमा ढुङ्गाको पर्खाल लगाएको छु, बाबु । अब कोशीको पानी हाम्रो घरिभत्र पस्दैन । अब हामीलाई भिजाउँदैन ।”
शुक्र बोलिरह्यो । बालक भने माथि माथि आकाशतिर हेरिरह्यो । उसको कुरो सुनेजस्तो पनि गरेन । उसलाई हेरेन पनि ।
“बाबु, मलाई नचिने जस्तो किन गर्छौ ? यी, हेर न मेरा हाथ ! म यिनै हातले बोक्थेँ नि तिमीलाई । खै, कता बिजाउँथ्यो, कता दुख्यो, तिमी रोइमात्रै रहन्थ्यौ । तिमीलाई पानी पिलाउने यी हात, चिनेनौ ? तिमीले पानी पाउँदा किलकिलेबाट पानी भित्र गएको पूरै देखिन्थ्यो । मलाई झलझली सम्झना छ ।
“मभन्दा प्रिय अर्को मान्छे कसरी भयो तिम्रा लागि ? त्यो अपरिचितको अँगालोमा तिमी रमाएको त्यति सुहाएन । मसँग रहँदा तिमी त्यसरी कहिल्यै हाँसेनौ, कहिल्यै खेलेनौ । तिम्रो अनुहारमा अहिले म जुन खुसी देख्छु, र जुन जीवन देख्छु, मसँग रहँदा कहिल्यै देखाएनौ । रोइमात्र रह्यौ । बिरामी मात्र भइरह्यौ । भोकाइमात्र रह्यौ।।।”
उसको गला अबरुद्ध भयो । उसका आँसु कोशीमा मिसिए ।
निकैबेर निस्तब्धताको शासन चल्यो कोशी किनारमा । समय मध्यरातको नजिक थियो सायद । पानी पर्न बन्द भएकोले होला, माथि कोशीको पुलमा एउटादुइटा गाडी हुइँकिएको पनि देखियो ।
आँसु पुछेर ऊ फेरि बोल्यो, “मैले जे जति गरेँ, तिम्रो हाँसोको लागि गरेँ । तर आज तिम्रो अनुहारमा देखिएको त्यहीँ हाँसोले किन पोल्छ ? मैले आफू नखाई नखाई तिमीलाई बलिष्ट बनाउने कोसिस गरेँ । तर पनि, तिमीलाई चाहिने यथेष्ट पोषण हामीले पुर्याउन नसकेकै हो । तरै पनि, तिम्रो बलियो आङ किन सुइरो रोप्छ मेरो मुटुमा ? बाबु, तिमीलाई स्वस्थ बनाउकै लागि मैले सारा कसरत गरेँ, तीन वर्ष । तिमीलाई स्वस्थ देख्दा खुसी छु, तर अपरिचितको काखमा — त्यो सहन सकिरहको छैनँ म । बाबु, मलाई किन बाबा भन्न्दैनौ ?  तिमीले मलाई चिन्दैनौ, यो कसरी मानौँ म ? मभन्दा नजिक अरु कोही छ तिम्रो, यो कसरी पत्याऊँ ? मसँग तिम्रो कुनै सम्बन्ध छैन, यो कसरी स्वीकारौँ  ? र मैले जति रोए पनि तिमी फर्कँदैनौ, यो कसरी मानौँ  ? बाबु, तिमी मेरो हाइनौ, त्यो पुरषको हो — यो कुराले कसरी मन बुझाऊँ ?”
एउटा मुटु पग्लियो कोशीको बगरमा । अरु केही पग्लिएन ।
“तिम्रा आँखाले मलाई चिनेन नि बाबु ! मेरो यताको घर, मेरो काँध र काख, मैले जोहो गरेका अन्न बाली, मैले किनेर ल्याएका लुगाफाटा — यी केही, केही पनि नचाहिने कसरी भयौ बाबु तिमी ? बाबु, बाबाको माया लाग्छ कि लाग्दैन ?”
उसले अन्तिम वाक्य बोलिरहँदा बालक केही द्रवितजस्तो, केही पग्लिएको जस्तो देखियो । उसका आँखा ओसिला पनि देखिए । तर उसले शुक्रतिर आउन हात बढाएन ।
“बाबु, को हो त्यो अपरिचित पुरुष ? किन त्यसको अनुहार मेरोभन्दा राम्रो र आकर्षक छ ? कसरी त्यो त्यति सुकिलो छ ? किन ऊसँग तिमीलाई दिन सबै चीज छ, र मसँग केही पनि छैन ? बाबु, तिम्रो को हो ऊ ? अनि म को हुँ, तिम्रो ?”
यति भनिसक्दा शुक्र कोशीको भँगालोमै पसिसकेको थियो, र बालकलाई छुन कोसिस गरिरहेको थियो । एक्कासि बिजुली चम्कियो आाकाशमा, गड्याङ गरेर मेघ गर्जियो । उसका आँखाले नथाम्ने गरी उज्यालो थपियो कोशीमाथिबाट ती अनुहारहरूमा । अकस्मात, खै कताबाट हो, हजारौँ हजार बालकहरू बर्सिए ती दिव्य पुरुषको हातमाथि, काँधमाथि । उनका हत्केला विस्तारित हुँदै गए, र आएजति सबै बालक त्यसै हत्केलामा अटाउँदै गए । एकैछिनमा अनगिन्ती बालक देखिए उनका हत्केलामा । ती सबै उसै गरी खुसी देखिन्थे । उसै गरी हाँसिरहेका थिए । उनीहरूको हाँसोले कोशीको त्यो निर्जन वक्ष र वगर गुञ्जायमान भयो ।
किनारको छेउ, नदीमा उभिएको शुक्रले यो दृश्य अपलक हेरिरह्यो । हेर्दाहेर्दै ती दिव्य पुरुष, हत्केलामा उभिएका सम्पूर्ण बालकहरूसहित कोशीको भेलबाट उठे, र सुस्तरी हावामा उड्दै उड्दै गए, र आकाशमा अदृश्य भए । शुक्रले माथि आकाशबाट आवाज आएजस्तो सुन्यो, “बाबा, तपाईंभन्दा पनि अगाडि म घर आएँ । नरोई बस्नू ल । म यहाँ खुसी छु । मलाई यहाँ दुख्दैन, भोक पनि लाग्दैन । तपार्इं र मामुलाई पर्खिबस्नेछु ।”
कोशीमाथि चुक पोखिएजस्तो आँध्यारो ओर्लियो ।
काहालिएको शुक्र किनारतिर सर्यो । किनारमा ऊ त्यही ठाउँमा गएर बस्यो, जहाँ ऊ अघि बसेको थियो । उसका आँखा भने माथि आकाशतिरको शून्यता हेरिरहेका थिए ।
यो बेला आकाशमा कालो बादलको बर्कोबाहेक केही पनि थिएन ।
यसपछि शुक्रले कहिल्यै सोधेन कोशीलाई, उसैसँग बगेर गएको उसको छोराको ठेगाना ।
***

Comments

  1. As claimed by Stanford Medical, It's indeed the one and ONLY reason this country's women live 10 years longer and weigh 19 KG lighter than we do.

    (And actually, it is not related to genetics or some hard exercise and EVERYTHING to do with "HOW" they eat.)

    P.S, What I said is "HOW", not "WHAT"...

    Tap on this link to see if this easy questionnaire can help you discover your true weight loss possibilities

    ReplyDelete

Post a Comment

Popular Posts

Introduction to some prominent Nepali poets prepared by Mahesh Paudyal

Dharabasi’s Radha: A Critical Introduction