कथाः बार्दलीको एउटा अनुहार

[Courtesy: www.onlinekhabar.com] 

अरु बिसौनीमा दुई मिनेट रोक्ने बस ओखारपौवामा दस मिनटभन्दा पनि बढी रोकिन्थ्यो । यात्रुहरू ओर्लने र चढ्ने काम सकिएपछि पनि चालक गाडी कुदाउने सुर नै गर्दैनथ्यो । नयाँ नयाँ भएको हुनाले सहचालक चालकसँग खासै कुरा गर्दैनथ्यो । ऊ एकोहोरो बसको छेउ पिटिरहन्थ्यो । यात्रुहरू केहीबेर चुप लाग्थे, तर केहीबेरपछि रोकाइ असामान्य लागेपछि कराउने थाल्थे, “गुरुजी, जौँ न हो, अब त । ढिलो भयो ।”
अनि बल्ल चालक स्टेरिङ घुमाउन थाल्थ्यो । काठमाडौँबाट त्रिशूली जाँदा होस् वा त्रिशूलीबाट काठमाडौँ, ओखरपौवाको यस बिसौनीमा उनीहरूको रोकाइ सधैँ नै लामो रहन्थ्यो ।
केही दिनपछि सहचालक अलि पुरानो भएपछि ड्राइभरसँग अलि नजिकिन थाल्यो । चालक–सहचालकहरूको बीचमा समान्यतः सुनिने हाँसोठट्टामा पनि सरिक हुन थाल्यो । मन खुल्दै गएपछि र अलि आँट आएपछि एक दिन उसले ओखरपौवाको यस असामान्य रोकाइका बारेमा चालकलाई सोध्यो ।
“अहिले भन्दिनँ । कुनै दिन भनौँला ।”
यत्तिकैमा एक दिन त्रिशूलीबाट काठमाडौँ आउँदा उनीहरूको बस रानीपौवा पुग्दानपुग्दै खाली भयो । तीनचार जना यात्रु लिएर ओखरपौवा आए, र बिसौनीमा बसे । पछिपछि त्रिशूलीतिरैबाट काठमाडौँ आइरहेको ‘त्रिशूली यातायात’ को अर्को बस थियो । जब त्यो बस रोकियो, चालकले चालकसँग केही कुरा गर्यो । अनि, यत्रुहरूतिर फर्केर भन्यो, “तपाईंहरू त्यो बसमा जानू ल । भाडा लाग्दैन ।”
चार जनामध्ये तीनजना आ–आफ्ना झोला लिएर निस्किए, र पछाडिको बसमा गएर बसे । चौथो यात्रु चालकतिर फर्कियो र करायो, “यसो गर्न पाइन्छ? काठमाडौँ पुर्याउँछु भनेर हालेको होइन अघि?”
“सरी दाइ । पेसेन्जर नै भएनन् । कुरो एउटै त हो । अर्को गाडीमा पनि सिटमै राख्ने हो । भाडा लाग्दैन । हाम्रै कम्पनीको गाडी हो,” उसले मिजासिलो पारामा भन्यो ।
“यही भएर मलाई यो डाइबरका जातको विश्वासै लाग्दैन । भनेको कहिल्यै पुर्याउँदैनन् । ट्याममा कहिल्यै हिँड्दैनन् ।”
अन्तिम वाक्य बर्बराउँदासम्म ऊ पछाडिको गाडीमा चढिसकेको थियो । उसैले गर्दा त्यो गाडी दुई मिनेटजति ढिलो हुनपुग्यो । अन्य यात्रुले घुरेर हेरेपछि ऊ केही मत्थर भयो, र एउटा सिटमा गएर थचक्क बस्यो । गाडी काठमाडौँतिर हुइँकियो ।
पछाडिको गाडी हिँडेपछि चालकले सहचालकलाई आफूनजिक बोलायो र छेवैको सिटमा बस्न भन्यो । आजसम्म त्यो सहचालक चालकको यति नजिक कहिल्यै आएको थिएन । उसलाई केही संकोच, कही असञ्जताको अनुभव भयो । तैपनि, ऊ चालकको नजिक गयो, र सचेतताका साथ उसले नछुने गरी केही दूरीमा बस्यो ।
चालकले दायाँतिरको झ्यालबाट बाहिरतिर इशारा गरेर भन्यो, “उः त्यहाँ हेर् ।”
सडकको उत्तरतिर, करिब बीस मिटरजतिको दूरीमा एउटा नीलो चूना लगाएको, काठको दुई तले घर थियो । सडकपट्टि नै फर्र्किएको बार्दली पनि देखिन्थ्यो । बार्दलीमा बसेर दक्षिण हेर्दा सडकको सबै गतिविधि मज्जासँग देख्न सकिन्थ्यो । बार्दलीको आडमा लहरै सुकेका मकै खोसेलैसँग झुण्डाइएको थियो । सुकेको सयपत्री पनि झुण्ड्याइएको थियो कताकती । बार्दलीको एकछेउमा मान्द्रा–गुन्द्री बेरेर राखेका । कताकति लुगाफाटा सुकाउन राखेका पनि देखिन्थे ।
चालकको इशारा पाएपछि सहचालकले पनि त्यसै घरतिर हेर्यो । बार्दलीको बीच भागमा, काठको आड लिएर एउटा सुन्दर अनुहारले उनीहरूतिरै हेरिरहेको उसले देख्यो । चालकले इशारा गरेको त्यही अनुहार हो कि अरु नै केही चीज हो भनेर ठम्याउन नसकी केही असमञ्जसताका साथ उसले पुनः चालकतिर पुलुक्क हेर्यो । चालकका आँखा अपलक त्यसै अनुहारतिरै केन्द्रित थिए । सहचालकलाई पक्का भयो, उसको इशारा त्यही दिव्य अनुहारतिरै थियो ।
कुनै कृत्रिम सृङ्गार थिएन त्यस अनुहारमा । एउटा निर्दोषिता आफैँमा सृङ्गार बनेर पोतिएको थियो गालाभरि । चञ्चल आँखा, अपलक सडकतिर हेरिरहेका थिए । बेलाबेला झुक्थे भुइँतिर । जबजब ती झुक्थे, ती दुई पुरुषलाई लाग्थ्यो, मध्यदिनमा रात परेको छ पासाङ ल्हामु शेर्पा मार्गमा, र अब त्यसै रातको कालिमाले उनीहरूलाई खाइदिनेछ । तर जब बार्दलीमा रहेका ती आँखा पुनः उठ्थे र झिम्झिमाउँथे, लाग्थ्यो, भर्खरै उज्यालो भएको छ, एउटा एउटा घाम उनीहरूका आँखामा बास बस्न आइपुगेको छ । लाग्थ्यो, आकाशको घामको उज्यालो देख्न मनको घाम पनि झुल्कनुपर्छ, चम्कनुपर्छ ।
“गुरु, कुरो के हो?” सहचालकले सोध्यो ।
“कुरो के हो, त्यो तँलाई पनि थाह छ, मलाई पनि । कुरो त्यही हो ।”
सहचालक फिस्स हाँस्यो । तर चालकको आवाजमा गाम्भीर्य थियो । त्यसैले ऊ चुप लाग्यो, र पुनः केन्द्रित भयो बार्दलीका ती दुई आँखामा ।
यसरी कसैलाई हेरिरहनु शोभनीय कुरा थिएन । त्यसैले, कसैले शङ्का नगरोस् भनेर चालक घरि अगाडिको सिसा पुछेजस्तो गथ्र्यो, घरि चुरोट सल्काएर तान्थ्यो, र घरि सिसा खोलेर “हाक् थु” गरेर भैँतिर थुक्थ्यो । अनि फेरि केन्द्रित हुन्थ्यो तिनै आँखामा ।
सहचालकले ध्यान दिएर हेर्यो । बार्दलीका आँखा पनि घरिघरि जुध्न आइपुग्थे चालकका आँखासँग । उसले बुझ्यो, बिना शब्द पनि त्यहाँ संवाद भइरहेको थियो आँखाहरूको, विनिमय भइरहेको थियो मायाको । उसलाई पहिलोपल्ट लाग्यो, मायाका बातहरू शब्दबिनै पनि पोखिन्छन् । एउटा मीठो असमञ्जताले उसको मुटु अलिकति टोकेर गयो ।
एकछिनपछि उनीहरूले देखे, अर्को एउटा अनुहार बार्दलीमा आयो र एक मिनेटपछि ती दुवै त्यहाँबाट अलप भए । एक मुठ्ठी अँध्यारो घोप्टियो चालकको अनुहारमा ।
“बस् । अब जाने काठमाडौँ । पल्लो स्टोपबाट पेसेन्जर हालौँला ।”
गाडी गुड्यो । चालकले मन्द गतिमा गीत बजायोः आँखाको निँद खोसी लाने, हृदयको तरङ छोडी जाने । तिमीलाई के सजाय दिऊँ…”
०००
महिनौँसम्म बार्दलीका एक जोर निर्दोष आँखा र गाडीभित्रका दुई जोर जिज्ञासु आँखाको मौन संवाद चलि नै रह्यो । समयसँगै लाग्न थाल्यो, बार्दलीका ती आँखा बसको चालकमा भन्दा सहचालकमा बढी केन्द्रित रहन्थे । उमेरले सहचालक “मने” निकै कान्छो थियो चालकभन्दा, र उसको फुल्दै गरेको बैँस भर्खर बस्न लागेका जुँघाका रेखीको रूपमा प्रष्फुटित भइरहको थियो । ऊ पनि पहाडले आफ्नै हातले कुँदेको ठिटो, भर्खर पाकेका असारे आरुजस्ता देखिने आकर्षक गालाको लालिमाले अत्यन्तै सुन्दर देखिन्थ्यो ।
एकदिन, ओखरपौवाको त्यसै स्टपबाट गाडीमा एक जना अधबैँसे यात्रु चढे । गाडी त्यस स्टपमा नआइपुग्दासम्म ती यात्रु त्यसै घरको आँगनमा थिए । चालकले लख काटे, उनलाई त्यस घरको बारेमा सबै थाह छ ।
निकै भीड थियो गाडीमा । सिट कतै थिएन । चालकले ती यात्रुलाई आफूनजिक बोलाए र छेवैको सिटमा जसोतसो राखे । पल्लो स्टपमा पुगेपछि केही यात्रु ओर्लिए र ती नयाँ यात्रु अलि सजिलोसँग बसे । अब उनीदुईबीच कुराकानी सुरु भयो । नजिकका केही यात्रुले सुने हुन्, तर उनीहरूले खासै मतलब राखेनन् । सहचालकले लख काट्यो, त्यहाँ केही गम्भीर वार्तालाप हुँदैछ । तर उसको दायित्व भनेको “काठमाण्डु, काठमाण्डु” भनेर कराउनु, भाडा उठाउनु, यात्रु चढाउनु र झार्नु, झोला र बोराहरू ओराल्नु र उकाल्नु थियो । ऊसँग त्यो वर्ता सुन्ने सुबिधा र समय थिएन ।
भोलिपल्ट चालकले ओखरपौवामा पुग्न लाग्दा सोधे, “ओखरपौवा झर्ने छ ?” कोही बोलने । उनले गाडी नरोकिकन त्यो बिसौनी कटाए । सहचालकलाई आश्चर्य लाग्यो । ऊ त्यस गाडीमा हिँड्न थालेदेखि पहिलोपल्ट यस्तो भएको थियो । तर उसले कुनै प्रश्न सोधेन ।
साँझ त्रिशूलीबाट काठमाडौँ फर्कंदा त्यस बिसौनीमा कुनै यात्रु प्रतीक्षारत थिएन । बिसौनी पुग्नैलाग्दा चालकले सहचालकलाई पुनः सोधे, “झर्ने छ?” उसले यात्रुहरूलाई सोधेर भन्यो, “छैन ।” गाडी राकिएन । सहचालकले भने पुलुक्क हेर्न भ्यायो । त्यो निर्दोष अनुहार बार्दलीमै थियो । ती आँखा गाडीतिरै हेरिरहेका थिए । उनी दुईका आँखा जुधे ।
यो क्रम केही समय चलेपछि एक दिन चालकले एक्कासि त्रिशूली यातायातको बस नकुदाउने घोषणा गरे, र यातायात समितिमा जानकारी दिए । समितिसँग अरु पनि चालक थिए, समितिलाई खासै फरक परेन । तर त्यो सहचालक केटो बिलखबन्दमा पर्यो । यहाँ गाडी, ड्राइभिङ र जागिरको मात्रै कुरा थिएन । कथामा थुप्रै नयाँ र रहस्यपूर्ण अध्यायहरू थपिँदैथे । उसको चालकको र उसको मुटु गएर एउटै गुलाफको वरिपरि अल्झिरहेका थिए । त्यसैले, उसको चालक फगत अर्को एउटा ‘गुरुजी’ थिएन उसका लागि । उनी दुई एउटा एउटा भोक थिए, एउटा एउटा तिर्खा थिए, र त्यस भोक र तिर्खाको भाषा केवल उनीहरूमात्रै बुझ्दथे । यसले मुटुहरू कसेको थियो । प्रतिस्पद्र्धाको लेशसम्म पनि थिएन सहचालकमा, यद्यपि यसलाई थाह थियो, पछिल्ला दिनहरूमा बार्दलीको त्यो अनुहार उसलाई बढी हेरिरहेको थियो, खोजिरहेको थियो । तर पनि, उसले समुद्रभित्रभित्रै विराट बन्दै गरेको उसका गुरुको प्रेमलहरीलाई आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने निधो गरेको थियो । ऊ त्यस सम्बन्धलाई मूर्त रूप दिनमा आफू सहयोगी रहनेमा कृतसङ्कल्पित थियो । तर यो पनि सत्य थियो, उनीसँग उसका आँखा जुध्दा उसलाई बिजुलीको तरङ्गले शरीरमा झट्का दिएजस्तो केही भने अवश्यै हुन्थ्यो ।
तर आफ्नो गुरुको राजीनामाको घोषणाले उसलाई नराम्रोसँग हल्लायो । कसैले उसको छाती चिरेर मुटु जबरजस्ती चुँडेर लगिदिएजस्तो लाग्यो । उसले सहरमा धेरै देखेको थियो चालक र सहचालकको सम्बन्ध, जो कटुता, गालीगलोज र हेपाइमै आधारित रहन्थे । आखिर, ऊ त्यस्ता धेरै चालक थोत्र्याएर त्यस बसमा आइपुगेको थियो । उसले गाडी लाइनमा हिँड्न थालेपछि जिन्दगीमा पहिलोपल्ट एउटा संवेदनशील मुटु भएको चालक पाएको थियो, जसले उसलाई कहिल्यै गाली गरेन, आफैँसँग राख्यो, सुखदुःख बाँड्यो, हृदयका अन्तर्कथा सुनायो, र प्रेमपूर्ण अभ्यासबाटै गाडी गुडाउन सक्नेसम्म बनायो । अब उसलाई थाह थियो, यस्तो चालक उसले जिन्दगीमा कहिल्यै पाउने छैन ।
“म पनि हजुरसँगै जाने । हजुर जुन गाडी कुदाउनुहुन्छ, म पनि त्यसैमा काम गर्ने,” उसले घुर्की लायो ।
“मने, गाडी नै कुदाउनु थियो भने त मैले छँदाखाँदाको गाडी किन छोड्थेँ? भन् त? अब म यो काम गर्दिनँ । म विदेश जान्छु ।”
“हिजोसम्म केही कुरै थिएन । एक्कासि यो कसरी भयो?”
“हेर् । घरबाट बुवाको फोन आएको थियो । घरमा मेरा दुई दिदी अविवाहित हुनुहुन्छ भनेर मैले तँलाई भनेकै थिएँ नि । दुवै दिदीहरूको बिहे निस्क्यिो रे । तँलाई थाहै होला, दुईदुईवटा बिहेको खर्च कति हुन्छ । बुवाले जमिन बन्दकी दिएर पैसा निकाल्नुभाको छ । हेर्, मेरो यो जागिरले त्यो जमिन उकास्न पुग्छ? पुग्दैन । त्यसैले म विदेश नगई हुँदैन । मैले यो जागिर बाध्यतामा छोडेको । कुरा बुझ् न, लाटा ।”
“होइन ।”
चालकले माथि आकाशतिर हेर्यो । विभिन्न आकृतिमा बादल उडिरहेको थियो । आकृतिहरू बन्दै भत्कक्दै गरिरहेका थिए, पलपल बद्लिरहने मान्छेका अठोट जस्तै ।
“म पनि हजुरसँगै जाने ।”
“विदेश?”
सन्नाटा । केहीबेरको मौनतापछि चालकले भन्यो, “हेर्, तँ छँदाखाँदाको काम नछोड् । तँ अब मज्जाले गाडी चलाउन सक्छन् । लाइसेन्स ननिकाल्दासम्म सहचालकै बस् । लाइसेन्स बनेपछि आफैँ चलाइहाल्छस् नि ।”
“म हजुरसँग काम गर्ने ।”
“यसो गर् । तँ मेरो फोन नम्बर राख् । लाइसेन्स् पाएपछि मलाई फोन गर् । म कुनै हाकिमको निजी गाडी कुदाउने व्यवस्था मिलाइदिन्छु । तैँले लाइसेन्स यसै महिनामा पाउँछस्, तर मलाई विदेश जान अझै दुईचार महिना त लाग्छ नै । म यहीँ त हुन्छु, लाटा ।”
निकैबेर सोचेपछि मनेले भन्यो, “हुन्छ । तर, म गाडी त्रिशूलीकै बाटोमा चलाउँछु ।”
०००
केही समयपछि मनेले लाइसेन्स पायो । तर, तत्काल उसले गाडी पाएन । फेरि पनि सहचालकै बनेर बस्न उसको मनले दिएन । पुरानो चालकलाई फोन गर्ने कोशिस पनि गर्यो, तर फोन लागेन । ऊ निराश भयो ।
ऊ धादिङको केटो । घरमा बाबुलाई फोन गर्यो । बाबुले नीलकण्ठ नगरपालिकाका मेयरसँग अनुनय गरे । मेयरले आफूले स्थापना गरेको एउटा गैरसरकारी संस्थाको गाडी कुदाउने काममा लगाइदिए ।
जिल्लाभित्रै गुडिरहनुपर्ने काम थियो । धादिङका डाँडापाखा, र काठमाडौँ–मलेखुको सडकखण्ड उसको दिनचर्या बन्यो । ऊसँग विकल्प थिएन । त्यसैले, यस काममा लागि पर्यो । तर पटकपटक उसको मन पासाङ ल्हामु राजमार्गमै गुड्थ्यो, ओखरपौवामा अडिन्थ्यो, उत्तरतिर हेथ्र्याे, र बार्दलीबाट दक्षिणतिर हेरिरहने तिनै निर्दोष एक जोडी आँखामा गएर अल्झिन्थ्यो । दिनभरि गाडीसँगै अल्मलिन्थ्यो । राति निद्रा पर्दैनथ्यो ।
करिब छः महिना बितेपछि उसले धादिङमा मन थाम्न सकेन । उसले एउटा बहाना सोच्यो र मेयरलाई भन्यो, “सर्, म काठमाडौँ नगई भएन दुई दिनको लागि । मेरो मिल्ने साथीको बिहे छ । म दुईदिनपछि फर्किहाल्छु ।”
जिल्लामा खासै काम पनि थिएन । मेयरले स्वीकृति दिए । उसले हत्त न पत्त काठमाडौँको बस समात्यो, र बालाजु पुग्यो । त्रिशूली यातायातको अफिसमा उसको चिनजानका केही त थिए नै । उनीहरूसँग उसले मनको कुरा बिसायो ।
“तँ ठीक टाइमका आइस्, मने । चारवटा नयाँ बस थपेको छ । तर तँलाई नयाँ बस त नदेलान् । पुरानो चैँ पक्कै दिन्छन् । जा, ईश्वर प्रधानसँग कुरा गरिहाल्,” टिकट काउन्टरमा बस्ने श्रीराम पाण्डेले सुझाव दिए । मनेले पडताल गरेर थाह पायो, ईश्वर प्रधान बालाजुमै छन्, र पर बाइपासमा उसको भाइले खोलेको पवन पुस्तक पसलतिर गएका छन् ।
मने वायुवेगले दौड्यो । नभन्दै, उसले ईश्वर प्रधानलाई पवन पुस्तक पसलमै भेट्यो । पहिले त्रिशूली यातायातमै काम गरेको, बाटो राम्ररी थाह भएको र अहिले आफू अनुमतिपत्र प्राप्त एक कुशल चालक बनेको जिकिर उसले गर्यो । मेयरको गाडीसम्म कुदाएको थाह पाएपछि ईश्वरलालले भने, “म तिमीलाई नयाँ गाडी दिन्छु । भोलि आठ बजे तल काउन्टरमा आउनू ।”
मनेलाई बीच सडकमै उफ्रिऊँ जस्तो लाग्यो । सर्ट फुकालेर हातमा घुमाउँदै बाइपासबाट चक्रपथसम्म कुदेर सबैलाई भन्दिऊँ जस्तो पनि लाग्यो । छाती बेतोडसँग धड्कियो । लाग्यो, ऊ फेरि ओखरपौवा पुग्नेछ भोलि, र केके हुनेछ केके ।
उसले ईश्वरलाललाई धन्यवाद दियो र काउन्टरतिरै दौडियो । त्यहाँका साथीभाइलाई समाचार सुनाइराखेर गोङ्गबुतिर लाग्यो । उसको दिमागमा कुनै सस्तो होटल हुनुपर्छ, त्यसबेला ।
भोलिपल्ट उज्यालो हुँदा मने माछापोखरी पुग्यो । त्रिशूली जाने पहिलो बस स्टेण्डमा खडा थियो । उसलाई चढिजौँ, हिँडिजौँ जस्तो त लाग्यो, तर पनि आफैँलाई सम्हाल्यो ।
दुई शताब्दीजस्तो लाग्ने दुई घण्टाको समयलाई सकसपूर्ण तरिकाले बिताएपछि ईश्वरलाल काउण्टरमा आइपुगे । मनेलाई देखेपछि उनले कसैलाई फोन गरे । सकसपूर्ण अर्को एक घण्टापछि त्रिशूली यातायातको एउटा नयाँ गाडी काउण्टरअगाडि आइपुग्यो । त्यसका चालकबाट साँचो र कागजपत्र मनेलाई दिँदै ईश्वरलालले भने, “आफ्नो ठानेर कुदाउनू । गाडी रहे भविष्य रहने हो । घुमाउरो बाटो छ, दुर्घटना भइरहन्छ ।”
“मैले त्यो बाटो राम्ररी बुझेको छु, सर् । म जतनसँग चलाउँछु गाडी ।”
मने एक पूर्ण चालकमा दर्रियो । उसले एउटा १६ वर्षको ठिटो सहचालक पनि पायो ।
०००
छः महिनाको अन्तरालपछि मने पुनः ओखरपौवाको त्यसै बिसौनीमा पुग्यो । उत्तरतिरको घर र त्यसको बार्दली नियाल्यो । बार्दलीमा कोही थिएन । ऊ निराश भयो ।
गाडी गुडाउनु थियो, गुडायो । यात्रा त्रिशूलीतिरको थियो । त्यस बिसौनीमै चढेका एक जना यात्रुलाई उसले अस्ति आफ्नो गुरुले गरेजस्तै नजिकै राख्यो । कुराकानी चले ।
“अचेल ती बहिनी बार्दलीमा देखिन्नन् नि ।”
“कठैबरा । बार्दलीसम्म कसले ल्याइदियोस् !”
मने केही झस्कियो । जिज्ञासापूर्ण आँखाले ती यात्रुलाई हेर्यो ।
“पहिले उसकी दिदी थिई । बार्दलीमा ल्याउँथी, भित्र लान्थी । अस्ति असारमा त्यसको बिहे भयो, र घर गई । अब ती बूढा भएका बाबुआमाले सक्दैनन् । अचेल त भित्रै बसिरहन्छे ।”
मनेको मनभरि तुसारो परेजस्तो भयो । आँखाबाट नानी झरेर सडकमा पोखिएजस्तो, र आफैँले गुडाएको गाडीका पाङ्ग्राले किचिपिची पारिदिएजस्तो लाग्यो ।
“के भएको हो उनलाई?”
“पोलियो । घुँडामुनिको भाग चल्दैन । घुँडामाथि ठीक छ । हिँड्न सक्दिन ।”
मनेको एउटा सपना टुक्रियो ।
उसले ती यात्रुका सामु केही नभएजस्तो नाटक त गर्यो, तर उसको भित्री संसारमा महाभूकम्प आएको थियो । उसलाई क्वाँ गरेर कराइदिऊँजस्तो लाग्यो, चित्याऊँजस्तो लाग्यो र भीरबाट तल हाम्फालूँजस्तो लाग्यो । तर उसको हातमा एक गाडी यात्रुको जिन्दगी अडेको थियो । आफैँलाई सम्हाल्यो । गाडी त्रिशूली पुग्यो ।
भोलिपल्ट बिहानै यात्रु लिएर ऊ पुनः लाग्यो काठमाडौँतर्फ । ओखरपौवामा पुग्दासम्म उसको गाडीमा थोरै यात्रुमात्रै बाँकी थिए । उसले जानीजानी गाडीको गियरमा केही दखल लियो र ठूलो आवाज निकाल्यो । केहीबेर प्रयास गरेजस्तो गरेपछि उसले यात्रुलाई भन्यो, “यो गाडीको इन्जिनमा समस्या देखियो । केही समय लाग्लाजस्तो छ । तपाईंहरू अर्को गाडीमा जानू ल । म भन्दिन्छु । पैसा पर्दैन ।”
“मेरो आलुको बोरा छ पछाडि । हाल्नु, निकाल्नु — यो कस्तो झन्झट?” एउटी अधबैँसे महिला यात्रुले आक्रोष पोखिन् ।
“के गर्नु दिदी, गाडी बिग्रियो,” मनेले विनम्रतापूर्वक भन्यो ।
“दिदी, न झार्दिहाल्छु नि बोरा । अर्को गाडीमा पनि हाल्दिन्छु,” खलासीले भन्यो ।
“झार्दा, पछार्दा आधा आलु बिग्रन्छन् । पहिलो त, यो डाइबरको जातमा मलाई विश्वासै लाग्दैन । खलासीसँग त झन माया ममता केही हुँदैन ।”
अन्य यात्रु झरे । उनीहरूसँग विकल्प थिएन । ती झगडालु महिला केही बेर बर्बराइन् । केहीबेरमा त्रिशूली यातायातको अर्को बस आइपुग्यो । मनेका यात्रु त्यस गाडीमा गए । झगडालु महिला पनि झरिन् र लुरुक्क अर्को बसमा गएर बसिन् । मनेको सहचालकले उनको आलुको बोरा डिकीमा हाल्दियो ।
मने र उसको सहचालक ओखरपौवामै रहे । मनेले सहचालकलाई छेउमा बोलायो र भन्यो, “त्यो आइमाईले भनेको सुनिस्? चालक र सहचालकसँग माया ममता हुँदैन भनेर गई । यो कुरा मनमा राख्नू ।” सहचालकले शून्यभावमा मनेलाई हेरिरह्यो केहीबेर ।
मनेले भने केही बेर यताउती हेर्यो, र नजानिँदो पाराले आँखा उत्तरपट्टिको बार्दलीतिर घुमायो । लामो अन्तरालपछि ऊ आइपुगेको थियो यहाँ । उसका तिर्खाएका आँखालाई होसियारीका साथ घुमायो ताकि बिजुलीको कुनै आकश्मिक झट्काले ऊ घाइते नहोस् ।
बार्दलीमा कोही थिएन । मने गाडीबाट ओर्लियो र ड्याम्मै ढोका लगायो । ड्राइभरपट्टिको झ्याल पनि बन्द गर्यो । सहचालकलाई इशारा गर्यो, र उनी दुवै त्यसै नीलो चुना लगाएको घरतिर लागे ।
त्यहाँ के भयो, उनीहरूलाई मात्र थाह भयो । दुई दिनपछि मनेले आफ्नो पुरानो ड्राइभरलाई फोन गरेर भन्यो, “गुरु, मैले ओखरपौवाकी बहिनीसँग बिहे गरेँ । अब हामी यसै घरमा बस्छौँ ।”
निकै अक्मकिएको र केही आत्तिएको आवाजमा जवाफ आयो, “मने, तैँले थाह पाइनस्?”
“पाएँ । पाएरै गरेको ।”
“मने, सन्तान नहुन पनि सक्छन् तेरा । सन्तान त चाहिएलान् नि ।”
“गुरु, मलाई सन्तान चाहिएला नचाहिएला, त्यो आफ्नै ठाउँमा छ । तर उसलाई मेरो साथ जरूर चाहिएको छ । ”
उत्तापट्टिबाट फोन काटियो ।
मनेले घर, बा, आमा, समाज सबै सम्झियो । पढेका, सुनेका कुरा पनि सम्झियो । तर अन्त्यमा ईश्वर सम्झियो र आफैँलाई धाप दियो ।
अचेल मने त्यसै नीलो चुना लाएको घरमा बस्छ । त्यो निर्दोष अनुहार पुनः बार्दलीमा निस्कन थालेको छ, र संसारको सौन्दर्य हेर्न थालेको छ । उसलाई सहयोग गर्न मनेले आफ्नी बहिनी पनि यसै घरमा ल्याएको छ । सडकमा भने उसले हेर्ने आँखा परिभाषित छन्, र ऊ पूर्ण वफादार छे ती आँखाहरूमा । केही केही कुरो काट्नेहरू उसलाई ‘घरज्वाइँ’ पनि भन्छन्, तर ऊ सन्दैन । आफैँलाई भन्छ, ‘मैले सुन्नुपर्ने अरु कुरा छन् । माथ्ला कुरा छन् ।’
मनेको गाडी गुडीबस्छ त्यसै सडकमा, र हरेक दुई दिनमा बास बस्न यसै ठाउँमा आइपुग्छ । हल्ला अर्को पनि चलेको छः अप्सरा आमा हुँदैछे । उसका बाआमाका पाको अनुहारमा पुनः गुराँस फुलेका छन् ।

Comments

  1. Your Affiliate Money Printing Machine is waiting -

    And earning money online using it is as easy as 1..2..3!

    Here are the steps to make it work...

    STEP 1. Choose which affiliate products the system will advertise
    STEP 2. Add PUSH button traffic (this LITERALLY takes 2 minutes)
    STEP 3. See how the system explode your list and sell your affiliate products on it's own!

    Are you ready to start making money?

    Your MONEY MAKING affiliate solution is RIGHT HERE

    ReplyDelete

Post a Comment

Popular Posts

Introduction to some prominent Nepali poets prepared by Mahesh Paudyal

Dharabasi’s Radha: A Critical Introduction