गणतन्त्रको वकालत
— महेश पौड्याल
साभार : अन्नपूर्ण पोष्ट दैनिक, २० भाद्र, २०७०
समकालिन नेपाली कविताको मूल कथ्य भनेकै पहिचानको खाजी र सामाजिक रुपान्तरण हो । जीवनसँग प्रत्यक्ष साक्षात्कार गर्न नसक्ने आदर्शवादी कविताको युग लगभग सकिएको अनुभूत गरिँदैछ । अजको, विशेष गरी युवापुस्ताको कविता अदालतमा जस्तो वहस गर्छ विभेदका विरुद्ध र सुरक्षित र सुन्दर भविष्यको पक्षमा जोरदार वकालत गर्छ । ऊ अतीतले छोडेका सम्पूर्ण ग्रहणहरूमाथि निर्मम प्रहार गर्न पनि पछि हट्दैन । उसलाई असङ्गत विरासतको उत्तराधिकारमा कुनै गौरववोध हुँदैन । ऊ वृहत्तर मानवीय हितका पक्षमा इतिहासका दारुण खण्डहरू च्यातेर फ्याँकिदन पनि तयार देखिन्छ ।
समकालिन नेपाली कविताको लक्षणका बारेमा प्रस्तुत गरिएका यी तमाम दलिलहरूको एउटा मूर्त पुष्टि हो रामगोपाल आशुतोषको नवीनताम कविताकृति “ईश्वर र फूलहरू” । “इन्द्रेणीको रङ्ग”, “मध्यान्तर” र “ईश्वर र फूलहरू” गरी तीन खण्डमा बाँडिएका उनका कविता मूलतः समायवोध र विद्रोहकै कविता हुन् । उनले एक बोरोमिटरकै शैलीमा देशले भोगेका पीडा र परिवर्तनको मापन गरेका छन्, र एकपछि एक शकुनी अभिष्टबाट निर्माण गरिएका भ्रमहरूको जालोलाई उदाङ्ग नाङ्गो पारेका छन् । गौरव गर्न लायक आदिवासी इतिहास र आस्थालाई उनले आत्मसात गरेका छन्, तर वर्षौवर्षदेखि विभिन्न वहानामा निर्मण गरिएका विभेदकारी सङ्कथनमाथि निर्मम बज्रपात गरेका छन् । ईश्वरहरू अर्थात शासक, र फूलहरू अर्थात सर्वसाधारणको विम्बात्मक सम्वाद उनको कविताको प्रमूख सम्वाद हो, र फूलको स्वाधीन, सार्वभौम र विभेदरहित संसारको निर्माण उनको काव्यिक अभिष्टको उत्कर्ष हो ।
प्रथम खण्ड अर्थात “इन्द्रेणीको रङ्ग” अन्तर्गत उनको १७ कथा पस्केका छन् । यसमा, वर्तमान ऐतिहासिक चौतारीमा उभिएर उनले विकृत अतीतको एक साङ्गोपाङ्गो सर्वेक्षण गरेका छन् । इन्द्रेणीको वहुरङ्गी सौन्दर्यजस्तो सौन्दर्य बोकेको, विविधतापूर्ण नेपाली सौन्दर्यमाथि पनि राजनीति गर्नेहरूमाथिको प्रहार हो यस खण्डको प्रमूख अभिष्ट । उनी लेख्छन्,
आफ्नै आकाशमा छरिएर
छरपस्ट इन्द्रेणीको पातपात, हाँगाहाँगामा
विदीर्ण अनुहारहरू, आरोपको रुख रोपेर
साम्प्रदायिक रङ्ग दिन्छन् इन्द्रेणीका रङ्गहरूलाई । (४)
यद्यपि यस खण्डको विषय राजनीति हो, आशुतोषले काव्यिक वक्रोक्ति र प्रतीकात्मक भाषा शैलीको माध्यमबाट आफ्नो विद्रोहलाई नारामा आवतरित हुन दिएका छैनन् । यो उनको विशिष्ट सिर्जनाशिल्प हो । ६१–६२ को आन्दोलनताका अनुभूति गरिएको जाग्रत जनचेतनाले उनको काव्यमा यस्तो अभिव्यक्ति पाएको छ ः
म देखिरहेछर जागृत इन्द्रेणीहरू उठिरहेको
म देखिरहेछु
कर्मकाण्डीय एकतन्त्रविरुद्ध उठेका अनेकहरू
म देखिरहेछु सनातन विदीर्ण अनुहारहरूविरुद्ध
सुस्तरी बढ्दै गरेको डढेलोहरू
हिमालहरू, तराईहरू, पहाडहरू...(६)
अधिकांश राजनैतिक कविताहरू हिजोआज सपाट अविधात्मक शैलीबाट अगाडि बढेको पाइन्छ, जसका कारण कविता कम र प्रोपागाण्डा बढी भएको भान हुन्छ । रामगोपालको कवित्व यसमानेमा फरक छ, कि उनी प्रतीकात्मक शैलीमै राजनैतिक सम्वाद गर्न सक्छन् । उदाहरणमा, यो राजनैतिक चेतनाको वकालत उच्च काव्यिक शिल्पबाट ओतप्रोत भएको अनुभूत सहसा गर्न सकिन्छः
मलाई
प्रत्येक ऋतुको प्रथम वर्षापछि
धर्तीबाट उठ्ने धूँवा मनपर्छ
धूवाँसँगै उडी आउने
माटोको सुगन्ध औधी मनपर्छ । (७)
राजनीति त छँदैछ, तर यसकै सन्निकट फस्टाउने गरेका सामाजिक विकृतिहरू पनि आशुतोषको कविताको अर्को सम्वोधन हो । उनलाई रातभर जाग्रत रहन विवश नयाँ सडको विवसताले पोलेको छ, र यस पोलाइलाई हर कैसले बोध गर्न सक्छ । यस लज्जास्पद विभिषिकामाथि उनको टिप्पणी छ, “रातरात मर्नु पुनर्जन्म लिनु हो,” (९) जुन पुनर्जन्मा पुनः तुषारो पर्दैन भनेर कसैले पनि दावी गर्न सक्दैन, सायद । यस खण्डमा उनका कविताले परम्परित कुरीति, आसन्न राष्ट्रिय सङ्कट, भोक र पीडालाई विषयवस्तु बनाएका छन् ।
दोस्रो खण्ड अर्थात मध्यान्तरमा सङ्ग्रहित कविता रतिरागका जस्ता लागे पनि, ती देशप्रेम र समयवोधका कविता बढी हुन् । यो खण्ड दार्शनिक कविताहरूको खण्ड हो र अन्यखण्डहरूभन्दा बढी काव्यिक र लाक्षणिक लाग्छ । यसमा कविको कल्पनाशीलताले एक असामान्य उचाइ प्रप्त गरेको छ । यसको एउटा झलक यी हरफहरूले पनि दिन सक्लान् जसमा वर्णित आमा, लाक्षणिक अर्थमा देश हुन्ः “ओछ्याएर चिता, ओढेर कात्रोको सिरक, मेरी आमा, स्वैरकल्पनाको विशाल घर निर्माणमा छिन् ।” (४७) । “रागप्रति” शीर्षकमा लेखिएका केही रागात्मकजस्ता लाग्ने कविताको मूल ध्येय पनि राष्ट्रप्रेम नै हो, जसको श्रेष्ठतम प्राप्ति त्यो बिहान हो, जहाँ चन्द्र–सूर्य अङ्कित झण्डाले जडित पवित्र विश्वास, निश्छल प्रेमको छातीमा पाइन्छ । उनी यस रागमार्गमा कुनै व्यक्तिगत कुष्ठाको पुष्टि खोजिरहेका छैनन् । बरु उनी रैथाने चेतना खोजिरहेका छन्, कुनै नूतन विचार, समताको इन्द्रणी, मानो रोपेर पाथी फालउने कर्मवीर ज्यापु र इन्द्रेणी नेपालको गणतान्त्रिक फूल खोजिरहेछन् ।
“ईश्वर र फूलहरू” शीर्षकको उनको अन्तिम खण्ड उन्नाइस कविताको सुन्दर इन्द्रेणी हो, जसभित्रका सबै कवितालाई एउटै कथ्यका अनेक अभिव्यक्तिले बाँधेको छ । ईश्वर, उनका लागि शासक र मठाधीशहरूको प्रतीक हो भने फूल, सधैँ ढकमक्क फुलेर बाँच्ेन सपनाका साधक आम जनता हुन् । यो कुरा यी हरफहरूले स्पष्टतः खोलेका छन् ः
म कवितामा
ईश्वर र दूतहरूको सत्ता ढालेर
फूलहरूको देश
इन्द्रेणी आकाश निर्माण गर्ने कुरा गर्छु (१४४)
उल्लेखित तमाम कारणहरूले आशुतोषभित्रको कवि राष्ट्रको एक सजग प्रहरी हो, जसले शासकदेखि शासनका दूतसम्मको भ्रष्टचरित्रलाई उदाङ्गो पार्ने क्षमता राख्दछ । तर शासकसँगै आमजनतासँग पनि सोझो सम्वाद स्थापति गर्ने अभिष्ट बोकेका उनका कविता कताकता दुरुह र क्लिष्ट भएको भान हुन्छ । कतिपय कविताको मूल कथ्यमा प्रवेश गर्न कविताले धेरैपल्ट पढ्ने चुनौती दिन्छन् । कतैकतै, कविताको मूल कथ्यलाई कविले आफैँ खोलिदिएर पाठकलाई गहिरो चिन्तन गर्नुपर्ने जिम्मेवारीबाट निवृत्त पनि गरिदिन्छन् । अब लेखिने कवितामा निणयात्मक हरफहरूलाई क्रमशः घटाउँदै, र कवितामा अमूर्त रुपमै आउन अपेक्षित मूल कथ्यलाई आफैँ खोलिदिने अध्यासलाई न्यूनीकरण गर्नु आवश्यक देखिन्छ । कतिपय कवितामा कविको राजनैनिक आग्रह खुलेरै आइदिन्छ, र पटकपटक पुनरावृत्त भइदिन्छ । त्यो क्रमश कम हुँदै जानु र त्यसलाई काव्यिक अभिव्यञ्जनामार्फतै व्यक्त गर्दा बढी कलात्मक हुन्थ्यो कि?
Comments
Post a Comment