कविताको शक्ति



साभार : नागरिक दैनिक, ४ आसोज २०७१

महेश पौड्याल

चितवनको भरतपुरमा केही समयअगाडि आयोजित एक काव्यविमर्शमा मैले भनेको थिएँ “अहिले आइरहेका कविता अत्यन्त शक्तिशाली छन् ।” कार्यक्रमको अन्त्यमा मेरा अग्रज, गुरु र मार्गदर्शक कवि एल.बी. छेत्रीले मलाई कार्यक्रममै सीधै सोध्नुभयो, “महेश, कविता कसरी शक्तिशाली बन्छ? यसको परिभाषा दिनु जरुरी भइसकेको छ आज ।”

म झस्किएँ । मलाई तुरुन्तै यस कुराको बोध भयो, म क्रिकेट मैदानको बाहिर बसेर खेल हेरिरेको दर्शक हुँ, जो सबै कुरा जानेको जस्तो प्रत्येक सोटमा कराइरहेको हुन्छु, र ब्रेडमेन, तेन्दुल्कर र लाराहरूलाई खेल सिकाइरहेको हुन्छु । मलाई राम्रैसँग बोध भयो, मैले जीवनमा एउटामात्रै पनि शक्तिशाली कविता लेख्न सकेको छैन ।
म पुनः घोत्लिएँ । म कुनै स्थापित कविलाई कविता यसरी लेख्दा शक्तिशाली हुन्छ भन्ने ल्याकत राख्दिनँ । तर साहित्यको विद्यार्थी र शिक्षक, र कविताको एक पागल अनुरागी पाठक भएका नाताले कुनै दिन म आफैँ कविता लेख्न कस्सिएँ भने त्यो आश्चर्यको विषय त पक्कै पनि हुने छैन । त्यसदिन, आफैँलाई निर्देशित गर्न म के मापदण्डहरू अपनाउँला? मैले आफ्नै लागि तयार गरेको कविताका निर्देशक सिद्धान्त यस आलेखमा व्यक्त गरेको छु ।

हृदयविलास हो कि मस्तिष्कविलास हो कविता—तर्क पुरानै हो । कविता आफ्नो स्वरुपले कविता बन्छ कि कथ्यले—यो पनि पुरानै तर्क हो । कविता कति स्वरुप, कति कथ्य वा भनौं कति भावना, र कति तर्क—यो एउटा अविराम तर्कसृङ्खला, जसको निरुपण एक मिथ्या हो । कविता सायद, पल भलेरीले भनेजस्तो नृत्य हो, जसमा नृत्यका प्राविधिक वा शास्त्रीय सूत्रहरूको सचेत संयोजनसँगै सङ्गीतको मूच्र्छन्नाको गहिराइमा सम्पूर्ण अस्तित्व नै नृत्यमग्न भएको हुन्छ । त्यस बेला, न नर्तकलाई त्यो सास्त्रीयता वा प्राविधिकताको वोध हुन्छ, न दर्शकलाई । त्यस्तो नृत्य हो कविता । पल भलेरी यसलाई सष्टिको सम्पूर्ण लयलाई एकैचोटि प्रकम्पित पारिदिन सक्ने एउटा वेग मान्छन्ः “कविता कसैमाथि पूर्ण रुपमा सवार हुन्छ भने, यसले उक्त भावकलाई खण्डखण्ड विभक्त गरेर वा काल्पनिक अथवा पूर्णतः मानसिक यर्थाथको संचार गरेर सवार भएको हुँदैन । यसले कुनै असत्य अथार्थलाई भावकमाथि आरोपित गरिरहेको पनि हुँदैन, जसका लागि मस्तिष्कलाई त्यसपरस्त गर्नु परोस्, र शरीरलाई अस्तित्वबाट पृथक कल्पना गर्नु परोस् । कविता भावकको पूर्ण अस्तित्वमाथि सवार हुन्छ, र मांसपेसीहरूको सूक्ष्मतम चालहरूलाई लयको माध्यमले उच्चता प्रदान गर्दछ । यसले हाम्रो अस्तित्वको सीमान्त गहिरो भावभूमिलाई व्यवस्थित गरिदिन्छ, र यसमार्फत एक अनौठो ऐक्य र तादम्यलाई जिउँदो व्यक्तिभित्र स्थापित गरिदिन्छ ।”

यस अर्थमा, कविता एक विद्युतप्रवाह हो, जसले भावकको प्रत्येक मानसिक र भावनात्मक आयतनलाई स्पर्श गरेर जान्छ । यसलाई नाचसँग तुलना गर्नु भनेको यसले अनिवार्यतः माँग गर्ने शरीरको त्यो लकतापूर्ण र जटिल भङ्गिमा पनि हो, जसबाट कुनै वस्तुगत अभिष्ट पूरा गर्नु पर्ने भन्ने वाद्यता हुँदैन, तर त्यो कला आफैंमा पूर्ण हुनुपर्ने भने आवश्यक हुन्छ । यस अर्थमा, कविताले भावकलाई एक अनौठो प्रकारको मुक्तिको आभास दिन सक्नुपर्छ, जुन नृत्यले दिने गर्दछ ।

नृत्यको सास्त्रीयता र यसको सौन्दर्यशास्त्रसँग कवितालाई जोडेर, व्यञ्जनान्तक शैलीमा भलेरीले कविताका सम्वन्धमा विद्यमान एउटा प्राज्ञिक बहसलाई आफ्नै प्रकारले निकास दिएका छन् । यसको नृत्य–उपमाको अर्को पनि पाटो छ । सो के भने, विलियम बटलर यिस्टले भनेजस्तो, जसरी नृत्यलाई नर्तकसँग छुट्याएर हेर्न सकिन्न, कविता र कविलाई अनि फेरि कविता र पाठकलाई पनि पृथक रुपमा हेर्न सकिन्न । कविको तस्वीर हो कविता । कविताको गायकको हो कवि र त्यस गायनको मुच्र्छन्नमा नृत्यमग्न भावक को पाठक । र नर्तकको नृत्यसँग जसरी तादम्यतापूर्ण विलय दर्शकको हुन्छ, कविताको नृत्यमग्न प्रवाहमा पाठकको पनि त्यसैगरी विलय हुन्छ । अथवा भनौं, हुनुपर्छ ।

कवि र कविताबीचको सम्वन्धको यस तर्कले सिर्जनाको प्रकृतिका बारेमा गरिएका अन्य दुई प्राज्ञिक तर्कहरूलाई पनि एकैपल्ट सम्वोधन गर्दछ । पहिलो, कविता हृदयविलास कि मस्तिष्कविलास भन्ने तर्क आफैंमा अर्थहीन हुन्छ, यो दुवैको सुन्दर मेल हो भन्ने तर्क स्वतः स्थापित हुन्छ । दास्रो, यसले कोलेरिजको ओर्गानिसिटी अर्थात स्वभाविक पूर्णताको तर्कको पृष्ठपोषण पनि गर्दछ ।

यी तमाम तर्कहरूलाई जोडिरहने कविताको नैसर्गित काव्यिक अवयव भनेकै यसभित्र निहित साङ्गीतिकता हो । विश्वको कविताको इतिहास हेर्ने हो भने पनि, आन्तरिक साङ्कितिकताको लयवद्ध संयोजनबाटै कविताले आफ्नो सीमान्त उचाइलाई स्पर्श गरेको सहसा महसूस गर्न सकिन्छ । अर्थात, छन्द कविता होस् वा मुक्तछन्द, कविताको पूर्ण संरचना एउटा आन्तिरिक ध्वनिविन्यासको योगबाटै निर्देशित हुनेगर्दछ, जुन ध्वनिले पाठकभित्र स्वभाविक रुपमा अन्तर्निहित ध्वनिचेतनासँग एकप्रकारको सम्वन्ध स्थापित गर्दछ, र त्यो यौगिक ध्वनि पाठकमस्तिष्कमा गुञ्जायमान हुने गर्दछ ।

जहाँसम्म मुक्तछन्दका कविताभित्रको ध्वनिविन्यासको प्रश्न छ, यसमा अनुप्रास, गति, यति वा लयको वाह्य स्वरुपबाट कविलाई मुक्त राखिएको हुन्छ । यस स्थितिमा कविताभित्र निहित आन्तरिक मुर्छन्नालाई दुई प्रकारले बुझ्नु मुनासिब हुन्छ । पहिलो, कतिपय शब्दहरू आफैंमा मुलायम, कोमल र काव्यिक हुन्छन्, जसलाई जुन रुपले संयोजन गरे पनि तिनीहरू स्वतः एक नयाँ सङ्गीतको स्वरुप लिन्छन् । यस अर्थमा, एक ललित र कोमल कविसँग यस भावलाई व्यक्त गर्ने शब्दहरूको समृद्ध श्रोत हुनु जरुरी छ । यसै लालित्यले मुक्त छन्दको कविताको डिक्सन अर्थात भाष्यलाई कुनै गद्यबाट पृथक राख्दछ । दोस्रो, यस्तो प्रकृतिको कविताभित्रका शब्दहरू, वर्डस्वर्थले भनेजस्तो, लोकको जिब्रोमा अवस्थित प्रकृतिक र ग्रामिण सङ्गीतका प्रतिध्वनि लिएर आएका शब्दहरू हुनुपर्छ, जसको गर्भमा ती शब्दको हकदार त्यसै लोकको कथाव्यथा, सपना–विपना, सुख–दुःख, आँसु–हाँसो र साझा सम्झना लुकेर बसेको हुन्छ ।

आफूभित्र शब्दको लालित्य र गेयात्मकता भर्नुपर्ने, र एक अमूर्त साङ्तििकताको अनिवार्यताबाट निर्देशित हुनुपर्ने हुँदा, कविता जनसामान्यको दैनन्दिन जीवनसँग अत्यन्तै नजीक हुने गर्दछ । यसै कारण, विश्वमा महान कविका महान कविताहरू गीत बने, लोक गीत बने, उद्धरण बने, सिलोक बने, उखान र भनाइहरू बने, र लोकवाङ्मयका समयातीत निधीहरू बनेर गए, जुन सुविधा साहित्यका अन्य विधाहरूले त्यति पाउन सकेनन् । रस्टिक डिक्सन, अर्थात लोकभाष्यको प्रधानताकै कारण कविता तमाम सामयिक र स्थानिक सीमाहरू चिरेर मौलिक रुपमा वा अनुदित रुपमा अन्यहीत आयतनमा विस्तारित हुन सक्छ, कारण, संसारका कुनै पनि भाषिक समुदायका लोक अनुभव र लोक अनुभूतिहरू उस्तै–उस्तै हुन्छन् । सात समुद्र पारीको एज्टेक सभ्यातामा विकसित लोकगीतले बोकेको यथार्थ, एलिजाबेथन युगका ग्रामीण कविहरूको पास्टोरल गीत र नेपालमा गाइने गरिएका दोहोरी गीतको भावायतन एकै हो, यद्यपि यी मुलुकहरू एक–अर्काबाट हजारौं कोश टाढा छन् । तर्क यो, भूगोल जहाँको भए पनि शहरले मानवीय अनुभवलाई जति तोड्छ, लोकभाष्यले बोकेर ल्याएको अनुभवले मानवलाई त्यतिनै बलियो गरी जोडेको हुन्छ । गरिएको तर्क यो होइन कि सबै कविता लोकगीतजस्तै लेखिनुपर्छ । तर्क यो हो, मुक्तछन्दका कविताको साङ्गीतिक पक्ष सुनिश्चित गर्नलाई लोकभाष्य र लोकवाङ्मयका शब्दहरू उपयुक्त हुन्छन्, किनकि उनीहरूले बोकेर ल्याएको भावना वैश्विक हुन्छ, र ती शब्दहरू एकैचोटि सङ्गीत र अर्थ त बोक्छन् नै, तिनीहरू आदिम मानवीय अनुभूतिका पनि वाहक हुन्, जुन अनुभूति, सामय जति शताब्दी अगाडि बढे पनि परिवर्तन हुँदैन, र वास्तवमा भन्ने हो भने, त्यसै अनुभूतिका कारण मान्छे मान्छे भएर रहेको हुन्छ ।

यस अर्थमा, लोक र ग्रामीण विम्ब, जसको अनुकरण मानवको आडम्बरी वा भोग्य संसारका प्राविधिक विम्बले गर्न सक्दैनन्, सुन्दर कविताका गहना हुन् । हिन्दी साहित्यका विराट सास्त्री र कवि रामचन्द्र शुक्लको कविताको व्याख्या यहाँतिर उद्धत गर्न चाहन्छु ः “कविता त्यो साधन हो जसद्वारा शेष सृष्टिका साथ मनुष्यको रागात्मक सम्बन्धको रक्षा र निर्वाह हुने गर्दछ । यहाँ, रागको अभिप्राय प्रवृत्ति र निवृत्तिको मूलमा रहने गरेको अन्तःकरणवृत्ति नै हो—हाम्रा राग र मनोवेगहरूको—जसलाई साहित्यमा  भाव भनिन्छ,  विषय भनिन्छ । कविता ती मूल र आदिम मनोवृत्तीहरूको व्याससाय हो, जुन सजीव सृष्टिका वीच सुखदुखको अनुभूतिको विरुप परिणामद्वारा अत्यन्त प्राचीन कल्पमा प्रकट भयो र जुसको सूत्रबाट शेष सृष्टिका साथ तादाम्यको अनुभव मनुष्य जाति आदिकालदेखि नै गर्दै आइरहेको छ । वन, पर्वत, नदी, नाला, निर्झर, चट्टान, वृक्ष, लता, पशु, पक्षी, अनन्त आकाश, नक्षत्र इत्यादि मनुष्यका आदिम सहचर हुन् । अतः यिनीहरूसँग जस्तो पक्का पारस्परिक सम्भव छ, त्यस्तो कल, कारखाना, गोदाम, स्टेशन, हवाईजहाज इत्यादिद्वारा सम्भव हुँदैन ।” यसबाट पनि यही कुराको पुष्टि हुन्छ्, कि कविताको निर्दोष र भावनात्मक प्रयोजनको साधन जति ग्रामिण र प्राकृतिक विम्ब हुनसक्छ, सहरी र प्राविधिक विम्ब हुन सक्दैन । आखिर, प्राज्ञिक तर्कको दिशा जतातिर विस्तारित हुँदै गएको भए पनि, यथार्थका भयावह सांसारिक पीडा र यसका विपर्यास र प्राविधिकता र दुखबाट मुक्तिकै लागि मान्छे कलामा प्रवेश गर्दछ, र कविता कवि जोन किट्सले भनेजस्तो त्यो कलात्मक माध्यम हो, जसबाट हामी संसारको पीडाबाट एकछिनका लागि भए पनि मुक्त हुन्छौं ।

मेरा लागि शक्तिशाली कविता भनेका यीनै मापदण्ड पूरा गर्न सक्ने कविता हुन् । अझ केही थप्नुपर्दा, सामयकै रङ्गमा लेखिए पनि समयातीत हुनसक्ने कविता शक्तिशाली हुन् । अमुक व्यक्तिको जीवनको आधारमा लेखिए पनि सबैको निजी अनुभूति बन्न सक्ने समामथ्र्य राख्ने कविता शक्तिशाली हुन् । शक्तिशाली कविता ती पनि हुन्, जसले हाम्रो युगका कवितामा देखिएका केही समस्याबाट निवृति लिन सकोस् । नारा नहोस कविता, तर नाराले गर्ने काम लाक्षणिक शैलीबाट गर्न सकोस् । न्यायधीषजस्तो बेनेर सबै कुराको निर्णय सुनाउन नतम्सियोस कवि, तर कवितामा शब्द र विम्व संयोजनको जादूले पाठकलाई त्यही निचोडमा पुग्न बाध्य गरोस् । सबै विकृतिको बीज आफूबाहिरमात्रै देख्ने आडम्बरीहरूबाट वास्तविक कविता आउन सक्दैन सायद । श्रृष्टिको सङ्गत–असङ्गत दुवै लयमा आफ्नो भूमिकालाई इमान्दारीका साथ स्वीकार गर्ने पो कवि ! वर्ग र गुठको कविता पानीको फोका हो । सम्पूर्ण मानवहृदलाई समान रुपले झङ्कार दिन सक्ने पो कविता । जीनवका कठिनतम मोडमा भावशून्य भएर उभिएको मान्छेलाई बाटो दिन सक्ने पो कविता । दशकौँदेखि विभिन्न नयाँ विम्बको आडमा पट्यारलाग्दो पाराले एउटै तर्क र कथ्यमा पाठक अल्मल्याइरहने कविता बासी कविता हो । कविता मुरलीको स्वरजस्तो होस्, जतिपल्ट फुक्यो त्यति नै नयाँ धुन निस्कने । अनि, मेरो दृष्टिकोणमा शक्तिशाली कविता त्यो हो, जसलाई पढेपछि, वा जसको वाचन सुनेपछि, लामो समयसम्म त्यसको सङ्गीत र कथ्यले मस्तिष्क तरङ्गित भइरहोस् !

Comments

Popular Posts

Introduction to some prominent Nepali poets prepared by Mahesh Paudyal

Dharabasi’s Radha: A Critical Introduction

Postmodernism in Nepali Literature : A Theoretical Mimatch