तित्वालको कुकुर
सादत हसन मन्तो अनुवादः महेश पौड्याल सिमानामा, एउटा गरिहो उपत्यकाले छुट्याएका दुई सीमावर्ती पाहाडका टुप्पामा पाकिस्तानी र भारतीय सैनिकहरू धेरै सातादेखि आ–आफ्नै हिसाबले तैनाथ थिए । यदाकदा सनिने बन्दुकका दर्जनौँ राउण्ड आवाजबाहेक अन्य कुनै प्रकारको युद्ध भैरहेको थिएन । मौसम अत्यन्तै आनन्ददायी थियो । बतासमा जङ्गली फूलहरूको महक मिसिएको थियो र चट्टानपछाडि लुकेका र पहाडको झाडीमा छद्म पोशाकमा छरिएका सैनिकहरूबाट बेखबर प्रकृति आफ्नै स्वभाविक गतिमा अघि बडिरेहेको थियो । चराहरू सधैझै सङ्गीत भर्नमै मस्त थिए र फूलहरू फुलिनै रहेका थिए । माहुरीहरू गुनुगुनु गर्दै वरिपरि भनुभुनाइ रहन्थे थिए । अचानक कतैबाट एउटा गोलीको आवाज आएपछि मात्रै चराहरू सङ्गीतज्ञले सितारको तारमा एक्कासि झटका दिएजस्तै गरी आत्तिएर तितर–बितर हुन्थे । सेप्टेम्बरको अन्तिमतिरको कुरो हो । न जाडो, न गर्मी । ग्रीष्म र शिशिरकले युद्धबिराम गरेजस्तो लाग्दथ्यो । माथि आकाशमा कपासजस्ता बादलहरू तालका डुङ्गाजस्तै तैरिरहेका थिए । सैनिकहरू भने ठोस केही नहुने यो अनिर्णायक युद्धबाट दिक्क भएजस्ता थिए । उनीहरूका बीच हारजितक...