विस्वासले गुड्ने गाडी र मेरो इतिहास
महेश पौड्याल “यो गाडी विस्वासले मात्रै गुडिरहेको छ है सर्!” यो भनाइ थियो मेरा लेखक मित्र वसन्तकुमार बस्नेतको । झसङ्ग भएँ म, र यता उती हेरेँ । साँच्चि नै, माथि पनि भीर, तल पनि भीर । साँगुरो बाटो, हिलैहिलो । न कालो पाटी, न ढुङ्गा–गिट्टी । चक्काका आधाआधी भाग हिलोभित्र आहाल खेलिरहेका थिए । मैले खडकाका झीलमा बाममाछा मारेको सम्झिएँ । कुरो कार्तिक, २०६७ को हो । त्यसो त कार्तिक त्यति धेरै पानी पर्ने महिना हैन । तर पनि त्यो साता बेमौसम पानी परेकोले बिब्ल्याँटेबाट सुल्बुङ् जाने बाटो हिलोले भरिएको थियो । निकै चिप्लो, कमेरो पोतिएको बाटो, भैँसीले भर्खर आहाल खेलेर दबदबे बनाएजस्तो । जीपको क्षमताभन्दा दोब्बर मान्छे सवार थियौँ हामी । कोदो र तोरीका बोरा पनि उतीनै । बोराको आसन बनाएर बस्न पाउनेहरू भाग्यमानी थिए, मैले मनमनै ईश्र्या गरेँ । पछाडिबाट कसैले हे¥यो भनेँ कतैबाट पनि त्यो जीपगाडी हो भनेर ठम्याउन सक्ने ठावैँ थिएन । त्यो कमिलाका हुलले पानीकिराको लास तानेजस्तो दृश्य थियो । अलिकति चिप्लिायो भने भीरैभीर तल खोँचमा जान सक्ने सम्भावनाहरू धेरै थिए । वास्तवमा गाडी विश्वासले नै चलिरहेको थियो । विस्वास...