विस्वासले गुड्ने गाडी र मेरो इतिहास
महेश पौड्याल
“यो गाडी विस्वासले मात्रै गुडिरहेको छ है सर्!” यो भनाइ थियो मेरा लेखक मित्र वसन्तकुमार बस्नेतको । झसङ्ग भएँ म, र यता उती हेरेँ । साँच्चि नै, माथि पनि भीर, तल पनि भीर । साँगुरो बाटो, हिलैहिलो । न कालो पाटी, न ढुङ्गा–गिट्टी । चक्काका आधाआधी भाग हिलोभित्र आहाल खेलिरहेका थिए । मैले खडकाका झीलमा बाममाछा मारेको सम्झिएँ ।
कुरो कार्तिक, २०६७ को हो । त्यसो त कार्तिक त्यति धेरै पानी पर्ने महिना हैन । तर पनि त्यो साता बेमौसम पानी परेकोले बिब्ल्याँटेबाट सुल्बुङ् जाने बाटो हिलोले भरिएको थियो । निकै चिप्लो, कमेरो पोतिएको बाटो, भैँसीले भर्खर आहाल खेलेर दबदबे बनाएजस्तो । जीपको क्षमताभन्दा दोब्बर मान्छे सवार थियौँ हामी । कोदो र तोरीका बोरा पनि उतीनै । बोराको आसन बनाएर बस्न पाउनेहरू भाग्यमानी थिए, मैले मनमनै ईश्र्या गरेँ । पछाडिबाट कसैले हे¥यो भनेँ कतैबाट पनि त्यो जीपगाडी हो भनेर ठम्याउन सक्ने ठावैँ थिएन । त्यो कमिलाका हुलले पानीकिराको लास तानेजस्तो दृश्य थियो । अलिकति चिप्लिायो भने भीरैभीर तल खोँचमा जान सक्ने सम्भावनाहरू धेरै थिए । वास्तवमा गाडी विश्वासले नै चलिरहेको थियो । विस्वास यहाँबाट चाहिँ खस्दैन भन्ने कुराको, विश्वास यहाँचाहिँ भास त्यति गहिरो नहोला भन्ने कुराको, विश्वास हामी सबै गन्तव्यमा पुग्छौँ भन्ने कुराको र विश्वास यो ड्राइभर भन्ने जात भगवानकै अवतार हो भन्ने कुराको ।
मैले मूलतः दुइटा कुरा सम्झेँ । कत्रो नाम छ इलामका नेताहरूको । सबै ठूलै ठूला, र उच्च पदस्त । अनि यहाँ गाडी कुद्छ विस्वासले । दोस्रो, मैले वचपनमा ससाना कुरालाई लिएर बुवाआमासँग झिकेको अनावश्यक धौलेको पनि सम्झना गरेँ ।
निकै धौले झिक्थ्यौँ हामी, सानामा । हामी कहिल्यै सन्तुष्ट भएनौँ जिन्दगीदेखि । आँगनकै छेउबाट राजमार्ग कुद्थ्यो । कहीँ कतैबात आउँदा सरर ठूलो, पक्कीबाटोबाट बडो बिलासितापूर्ण यात्रा गरेर घर फर्कन्थ्यौँ हामी । गाडी छानीछानी, सिट छानीछानी । तर पनि हामी कहिल्यै सन्तुष्ट देखिदैनथ्यौँ । किन यी गाडीहरू हाम्रो घरको आँगनमै रोकिँदैन्? त्यो शान्तिपुरको बसस्टप किन राजेनको स्टुडियो अगाडि छ र हाम्रो आँगनछेउमा छैन? हाम्रा घरमा किन गाडी छैन? हामी “चन्द्रकान्ता” हेर्न किन बेलबासेकहाँ जानुपर्ने हरेक अइतबार? किन छालाका जुत्ता छैनन् मेरा, तर सानो मदनको मनोज सधैँ किन छालाका जुत्ता लाउँछ?
जीप गुडि नै रह्यो, निर्वाद । ड्राइभरमा मैले देखि नै रहेँ, भगवानको अवतार । जिन्दगी जुवाजस्तो, फिप्टी—फिप्टी । मैले सबै यात्रुका अनुहारमा हेरेँ । कतै देखिँदैन निराशाको तुवाँला । असन्तुष्टी पनि छैन कतै, र गुनासो पनि छैन । सबै अनुहार आलोकित छन्, मन्द मुस्कान छन् जताततै । गाउँले सम्वाद — तोरी–कोदो फलेनफेको, भाउ आएनआएको, गाइभैसी ब्याएनब्याएको, अलैँची कीराले खाएको, दूधको भाउ बड्ने हल्ला चलेको आदि आदि । मेरो बचपनका धौलेहरू व्यङ्ग्यजस्तै लागे मलाई ।
मेरो जिउ दुखिरहेको थियो कताकता । सहरमा बस्ने मान्छे, लाडसाहेब । चिल्ला सडकमा यात्रा गर्ने बानी, गिलिक्क गर्ने सिट । झ्यालबाट सर्र हावा लाग्नु पर्ने । टेपमा गीत गुञ्जिनु पर्ने, अनि झुम्दै–झुम्दै यात्रा गर्नु पर्ने । कहिलेकाहिँ त गगल्स् पनि लाउनु पर्ने अझ । खुट्टा पसार्नु पर्ने, मिनेरल वाटर खानु पर्ने, डिजिटल क्यामेरामा बाहिरको दृष्य कैद गर्नु पर्ने, सट्ट इयरफोन कानमा लाउनु पर्ने, अनि सट्ट निकाल्नु पर्ने । फोन आए पनि नआए पनि “हेलो, म सेमिनारबाट फर्कँदैछु, भरे फोन गर्नोस् है,” भन्नु पर्ने र भनिसकेपछि पुलुक्क यताउति हेर्नु पर्ने । कसैले सोधे पनि नसोधे पनि अस्ती कोरिया जाँदाको प्रसङ्ग उप्काउनु पर्ने अनि भन्नु पर्ने, “कति हुँदो रहेछ यो जाम पनि । बाहिरका मुलुकहरू कहाँ कहाँ पुगि सके । खै त्यो कोरियामा त्यत्रोदिन बस्दा कहिँ कतै देखिएन त जाम ।”
त्यत्रो दिन । कत्रो दिन? तीन दिन । कुरो सडकको या जामको हुँदै हैन । कुरो सूचनाको हो, कोरिया गएको सूचना, कोरिया गएर ठूलो मान्छे भएको सूचना । बेमौसमको बाजा । ती बसहरूमा कसलाई चासो? किन भन्नु पर्ने? ठूलो पल्टिनु पर्ने ।
जीपका यात्रुलाई पुलुक्क हेरेँ । कुनै विषादता देखिँदैन कतै पनि । त्यो दिनचर्या थियो, त्यो जिन्दगी थियो । बसन्तलाई पनि हेरेँ । उनको अनुहारमा उही अनन्त मुस्कान । उनको अनुहार, आकृति र आभा, मलाई सधैँ लोभ लाग्ने, ईष्र्या पनि लाग्ने । मैले उनलाई काठमाडौँमा नै भेटेको हुँ पहिले । विश्वविद्यालयमा स्नातकोत्तर गर्न आएका उनी सम्पूर्ण सभ्यताभन्दा पनि सालिन थिए । सबै कुराबाट सधैँ सुसूचित, साहित्यको चप्पा चप्पा छान् मारेका, राजनीतिलाई भित्रैबाट बुझेका । मुदुभाषी, सालिन व्यक्तित्व, कहिल्यै नथाक्ने, कहिल्यै नरिसाउने, “माइ डियर” व्यक्तित्व ।
बसन्तलाई हेरेपछि मलाइ लाग्ने ग¥थ्यो, यिनी मान्छे सुबिधासम्पन्न ठाउँका हुनुपर्छ । सबै मौसममा फूल्न सक्ने मान्छे, सभ्य, सुसंस्कृत । मेरो ढोंग थियो, आडम्बर थियो, कूपमण्डुकता थियो, मैले गुराँस भीरमा फुल्ने कुरा बिर्सिएको थिएँ । अझ भनौँ, गुराँस भीरमा फूल्छ र बिराट बन्छ भन्ने कुरा मलाई थाहै थिएन ।
जीप निकै पर पुगिसकेको थियो । अगाडिको नाक हिलोमा गाडियो । अभूतपूर्व आवज आयो, सबैले पल्याकपुलुक गरे । मेरो हात मुटुमा पुग्यो । अरु कसैका अनुहारमा तनाव देखिएन । जीप भास्बाट निस्कियो ।
“क्या खतारा है, बसन्तजी!”
“यो त सामान्य हो सर् । उता हाम्रो फुयतप्पातिर त झन् कल्पनै गर्न सक्नुहुन्न सरले । ”
“फुयतप्पा? कति टाढा हो त्यो?”
“माथि, टाढा । पाँचथरसँगको सिमानामा पर्ने गाबिस ।”
माथि, टाढा । यहाँभन्दा माथि, यहाँभन्दा टाढा कहाँ हुन्छ? सहरमा बसेर धूलो र धुवाँको सम्राज्य हाँकेको अभिमान्, सभ्याताका आडम्बरमा आफ्नै जरा बिर्सँदै गएको, र क्रमशः टुक्रँदै गरको अनुभूति, भित्रभित्रै, दुख्यो, अन्तष्करणमा कताकती ।
कुन ड्याङ्को मूला थिएँ म आखिर? इम्फाल, गुवाहाटी हुँदै काठमाडौँ महानगर आएँ, र अहिले काठमाडौँतिर किलो गाड्दैछु भन्दैमा म मेरो इतिहासबाट बिमुख हुन मिल्छ? हो मेरो इतिहास् ।
“ऊ पर, पर, माथि । ऊ त्यही हो सुलुबुङ्, सर्को पुख्र्यौली गाउँ । अब केही बेरमा हामी पुग्छौँ,” विश्वासले गुडने जीपबाट बसन्तले इशारा गरेर मलाई देखाए मेरो आफ्नो सुलबुङ्, मेरो इतिहास् । सुरम्य सुलबुङ्, तल तराइका सहरसँग विस्वासले गुडने गाडीले जोडेको । बिब्ल्याँटे र इलामबजारसँग आँटले, पाउरले र पौरखले जोडेको । एकलाशमा बलेको बत्ती मेरो सुलबुङ्, निर्दोश, निष्कलङ्कित, निर्मल सुलबुङ् ।
इतिहासले उछिट्याएको हो हामीलाई, हामी यसै उछिट्टिएको हैनौँ । म सानै छँदा मेरा हजुरबा बिते, उहाँबाट खासै मैले केही कुरा जान्न पाइनँ । मेरी हजुरआमाबाट र मेरो बुवाआमाबाट सुनेको हुँ मैले यो कुरा । सुलबुङ्मा मेरो इतिहास छ अरे, मेरो हजुरबा जन्मेको घर छ अरे, मेरी हजुरआमालाई बिहे गरेर भित्र्याइएको घर छ अरे, मेरा बुवा जन्मेको घर छ आरे । हजुरबा मुग्लान पस्दा मेरो बुवा एक वर्षको हुनुनुन्थ्यो अरे । मेरो बुवाले पहिलोपल्ट टेकेको धरती, मेरो इतिहास बोकेको माटो, मेरो सुल्बुङ आउनै लाग्दा विस्वासले गुडने जीपभित्र मेरो मुटु त्यस जीपको इन्जनसँग प्रतिष्पद्र्धा गर्न लाग्यो ।
आयो मेरो सुलबुङ् । अस्ती भर्खरैमात्रै आइपुगुको अरे गाडीको बाटो । बिजुली? छ महिनाजति भयो रे, सूचना पाएँ ।
पैँसट्ठीबर्ष पछि मैले पैल्याएको मेरो इतिहाससँगको मेरो आत्मिक सामिप्यताको अर्कै कथा हुन सक्छ । बसन्तले दिए मलाई त्यो अनमोल उपहार । मेरो मनमा उठेका तरङ्गहरूको कथा भन्छु म यहाँ ।
घाम अस्ताउनै लागेका थिए । सुलबुङ् हाइस्कुलको डाँडोबाट पश्चिम हेरेँ मैले, आत्मविभोर आँखाहरूले । पारी डुब्न लागेको घाम । हो, त्यो त्यही घाम हो मेरो कुप्राबाले, मेरो हजुरबाले, र मेरा बाले पहिलो पल्ट देखेका, यसै ठाउँबाट । म पनि हेरिरहेछु, त्यही घाम । हो, समय फेरियो होला, इतिहास उल्टियो होला, मानवीय सम्यताले कोल्टे फे¥यो होला । तर त्यो निर्दोष घाम उही हो, त्यो धरती उही हो । मेरो हजुरबाले पानी पाएको कुवा देखेँ, मेरी हजुरआमाले अदुवा पिँधेको सिलौटो देखेँ, मेरा बुवाको न्वारनमा रोटी पकाउन पीठो कुटेको ढिकी देखेँ, मास पिँधेको जाँतो देखेँ ।
कति अगाडि बढ्यो संसार? कति फेरियो जुग? रोकेट उडे, पारी क्षितिजका अभेद्य सिमानाहरूलाई भेदन गरी अर्को ब्रह्माण्ड पत्ता लगाए । हो, जून पनि मिचे, दुवै ध्रुवहरू धुल्याए, समुद्रमाथि बुर्कुसि मारे । तर मेरो जाँतो, मेरो ढिकी, मेरो सिलौटो छँदैछ सुलबुङ्मा, अझै उस्तै । आदिम इतिहास, आदिम सभ्यता, मलाई गर्व छ ।
मेरो सुलबुङ्, बसन्तको फुयतप्पा, र छ भने तपाइँको पनि गाउँ – हो, त्यो हाम्रो उद्भव, हाम्रो मूल ।
माइपोखरीको पानीमा छन् हाम्रो सभ्यताका जराहरू । हरेक महान सभ्यता नदीको श्रोतको समीपमा हुन्छ । विशाल नदी टाइग्रिस, युफ्रिडिस, नाइल, इन्दस् र मिसिसिपीजस्ता ठूला नदीका किनारमा पुगे होला ठूलो राष्ट्रका ठूला इतिहासकारहरू । लेखे होला ती सम्याताको इतिहास् । हाम्रो माइपोखरी पनि हाम्रो टाइग्रिस् हो, युफ्रिडिस् हो, नाइल हो, इन्दस् हो, मिसिसिपी हो, र हो मुहान हाम्रो प्राणको । हामी लेख्छौ यसको इतिहास् — श्रद्धाका पानाहरूमा, मायाको मसीले, गौरवका बुट्टाहरू भरेर । हाम्रो माइपोखरी, र यसैको स्नेहरस पान गरेको हाम्रो बरबोटो, हाम्रो देउराली र हाम्रो सुलबुङ्सँग आत्मीयताको, मायाको, प्रेमको, सद्भावको विराट इतिहास् छ । यहाँ सिमेभुमे, बूढीबोजू महारानी, आठाने चाराने, डाकिनी–साकिनी, सिकारी, सगुने, फुर्लुङ्ग, गजो र ढ्याङ्रोको गौरवमयी कथाले पुलकित मेरो विगत र वर्तमान छ । पिल्लो, सिँदूरे, टूनी, गायो, पिउरी, फलेदो, सिमल र अनगिन्ती हाम्रा जङ्गली कुटुम्बहरूसँग छाँद हालेर मायाँ लगाउँदै हुर्किएको हाम्रो गौरवगाथा छ । हाब्रे, लोखर्के, मल्साँप्रो, थार, बाह्रसिँगा, स्याल र सालकहरूसँग खेलेर हुर्केको हाम्रो आदिम संस्कृति छ । यहाँ पक्की बाटो आएन त के भो? यहाँ बिजुली आएन त के भो? टुकी बालेर पनि कण्ठस्तै महाभारत सुनाउँछन जिबनाथ हजुरबा । विस्वासको गाडीका पिङ् खेलेरै यात्रा गरे पनि प्रसन्न छन् मेरो सुलबुङ्का मान्छेहरू ।
सहरमा नश्लको, भाषाको, जातपातको र सम्प्रदायको राजनीति गर्नेहरू गरिरहून, यहाँ जातीयताको पर्खाल मिचेर आत्मीय अँगालो बाँधेरे सुखमा सँगै हाँस्छन् र दुखमा सँगै रुन्छन् यस आदिम संस्कृतिका सम्वाहक, हाम्रा आत्मजनहरू । यिनीहरूले श्रद्धाले पूजा गरीगरी बचाएर राखेका रुखहरूले दिएको हावा पिउँछन् सहरका मान्छेहरू, अनि यिनीहरूलाई अन्धविश्वासको बिल्ला भिराएर विज्ञान पढाउन तम्सिन्छन् । मेरो मिथक, मेरो आदिम सभ्यताको इतिहास्, मेरा पूर्खाले पुज्ने गरेका देउरालीका ढुङ्गा र कान्लाका रुखहरू नै हुन् मेरो विज्ञान । यी खहरेमा कलकल बग्ने पानीको गीत हो मेरो सभ्यताको गीत । हामीले अँगालो मारेर साटेका खुसीहरू, हाँमीले एकआर्काको भक्कानोको भाषासँगै झारेका आँसुहरू नै हुन् हाम्रा अभिलेखहरू । प्रेम र आत्मीयताको दोभान, भाइचारा र बन्धुत्वको संगम, पवित्रताको निष्कलंकित धरोहर — हो यही हो हाम्रो विज्ञान, हाम्रो इतिहास । मेरो सुलबुङ् र नेपालभरि छरिएका, र कलुशको छायाँले अझ छुन नसकेको असङ्ख्य सुलबुङ्हरू । विश्वासले गुडने गाडी चढेर, र धेरै ढाउँमा घण्टौँघण्टा हिँडेर पुगिने, आस्थाका सगरमाथाहरूले पुलकित मेरो प्रिय सुलबुङ्हरूको गौरवगाथा दुइचार किताब पढदैमा, दुइचार सहर घुम्दैमा विस्मृत हुन सक्दैन । म सम्पूर्णतामा ग्रहण गर्न चाहान्छु, मेरो ग्रामीण सभ्यतालाई, जहाँ मेरो वास्तविक गौरव फुलेको छ, नेपाली हुनुको गौरव फुलेको छ । भावूकतामा हैन, पूर्णतया सचेत मस्तिष्कबाट, र मायाले चुलुम्भ भिजेको हृदयबाट सम्झन्छु म विश्वासको गाडी चढेर पुगिने मेरो सुुलबुङ्को सभ्यतालाई, र यस्तै यस्तै तपाईका सुलबुङ्हरूको सभ्यतालाई !!
Comments
Post a Comment