हरियो घाम लाग्ने भूमिमा पन्ध्रमिनेटको यात्रा !
महेश पौड्याल
“स्वागत छ, हरियो घाम लाग्ने भूमिमा !”
ठूलो, हरियो बोर्डमा लेखिएको अङ्ग्रेजी सूचनालाई मैले यसैगरी अनुवाद गरेर पढेँ ।
हो, यही लेखिएको थियो सिमानामा । मैले निकैबेर सोचेँ, घाम कसरी हरियो लाग्छ? यो त कतै पनि हुँदैन, सम्भवै छैन ।
कहिलेकहिँ केही कुराको अर्थ बुझ्नुको प्रविधिकताभन्दा अर्थ नबुझेरै कुनै कुराको सौन्दर्यमा रमाउनुको छुट्टै अनुभूति हुँदोरहेछ । किन, कसरी, हुन्छ, हुँदैन, विज्ञान, दर्शन र यथार्थका झन्झटहरूबाट पर, एउटा काव्यिक मिठास र सौन्दर्यको चेतनाबाटै ग्रहण गरेँ मैले त्यस स्वागतलाई ।
आसाम र अरुणचलप्रदेशको सिमानामा निकैबेर उभियौँ हामी । प्रचण्ड गर्मीले डामेका आसामका पट्टेरलाग्दा फाँटहरू काटेर हामीलाई झ्याल भत्केको बसले अरुणचलप्रदेशको सिमानामा ल्याएर फालिदिएको थियो । शान्तिपुर — सानो सहर, सिमानाको सहर । उता हरियो घाम लाग्ने भूमि, यानि अरुणाचलप्रदेश । यता आसाम — धेरैले टेकेको, धेरैले देखेको, र लीलबाहादुर क्षेत्रीले लेखेको । उतापट्टि अरुणाचल — कतै नदेखिएका, कतै नलेखिएका अङ्ख्य नेपाली गरिबहरूका आँसु र पसिनाले सिँचेको माटोमा रहरदाल, सूनपाट र अदुवा फलाएर भारतलाई समृद्ध बनाइरहेको प्रदेश ।
सिमानामा हामीले “पास” देखायौँ, र प्रवेश ग¥यौँ हरियो घाम लाग्ने मुलुकमा । जानु थियो गेरगेम गाउँ । दीपक दाइ र उनका बुवाका आफ्नै प्रयोजनहरू थिए, त्यहाँ जानुमा । उनीहरूको उद्देश्यसँग मेरो उद्देश्य गाँसिएको थियो नै, तर म अलि फरक कुरामा पनि ध्यान दिन चाहान्थेँ । निकै वर्ष माटो खनेर सून फलाउने सपना बोकेर ज्यान जीर्ण होउञ्जेल खटेका, र पाखुराले जवाफ दिएपछि मक्किएको काठजस्ता हातगोडा लिएर पुनः नेपाल फर्केका मेरा “सुरुङ्गाका दाइ”को इतिहास पनि खोज्न चाहान्थेँ म । धानको भात खान मुग्लन पसेका, र जीवनभरको कमाइ लुटाएर यतै नेपालतिरै हान्निएर अहिले कञ्चन्पुरको दुर्गम र यातायातको राम्रो पहुँच नभएको घगाउँमा आएर दिन काटिरहेका मेरा मामाको व्यथालाई अनुभव गर्न चाहान्थेँ म । बहिनी सुनितालाई मणिपुरबाट भगाएर लाने ज्वाइँ प्रेमका दुखका कथा साँच्चै हुन कि हैनन्, जान्न चाहान्थेँ म । मलाई देउपानीका दाजुको गीतमा दुखेको छातीको रङ्ग कस्तो छ, हेर्नु थियो ।
त्यहाँ छेउछाउ सोध्यौँ, खासै टाडा छैन गेरगेम भन्ने खबार पाइयो । हिँडेरै जाने निर्णय ग¥यौँ ।
केहीबेरसम्म खुला बाटो हिँड्यौँ हामी । दायाँबायाँ बैर पाकेर पाहेँलपुर । नदीकिनारमा गाइचराउनेचाहिँ नेपाली नै भेटिए । त्यत्रो टाढा, त्यस अनाकन्टार मुलुकमा पनि गाइ चराउनचाहिँ नेपाली नै पुग्नुपर्ने, कस्तो अभिशप्त जात, मुग्लान पस्ने नेपालीको ! मैले मनमनै कल्पना गरेँ, नेपालीको जात गोपाली । चारैतिर पहाडै पहाडले भरिएको प्रदेश नागलैण्डलाई प्रत्येक बिहान दूधले नुहाउनेहरू पनि नेपाली नै त हन् । विसाल रागमार्गबाट हुइँकिने गाढीका झ्यालबाट हेर्दा देखिन्छन जताततै दूधका “क्यान” भार लाएर नागाका आँत पोस्न हिँडेक सिकुटे नेपाली । मणिपुर र मेघालयका स्थानीय वासीहरूका घोर तिमीर बेकेका साम्प्रदायिक मनहरूमाथि दूग्धधारा बगाउने बिचरा यिनै नेपाली हुन्, इतिहासले घरका–न–घाटका पारेर बगरमा छोडेकाहरू ।
“अब गेरगेम पुग्न कतिजति होला?”
“गेरगेम ? सरासर हिँडदा पन्ध्र मिनेट । ”
यस्ता पन्ध्र मिनेटहरू धेरै काट्यौँ । धेरै पल्ट प्रश्न देहो¥यायौँ, जति हिँडे पनि उत्तर उस्तैउस्तै ।
सानो गोरेटो बाटो, धुलैधूलो । कतै घर देखिँदैनन् । आँखाले भ्याएसम्मका सपाट खेत, जताततै नेपली, माटोकै पर्याय बनेर जीवनलाई जोतिहरेका । मुग्लान कथामात्र हैन । मुग्लान फगत गीत हैन । दशैँतिहार आउँदा काठमाडौँका चिल्ला सडमा हिँडने, र महलजस्ता घरमा बस्ने गीतकारहरू छोरो मुग्लान गएका गीत लेख्छन्, आमाका आँसुका धाराहरूमा सूर चढाउँछन् र काल्पनिक पीडा बेचेर यथार्थको दशैँतिहार मनाउँछन् । यहाँ साँच्चिकै उभिएको छ मुग्लान्, मसानजस्तै ।
थुक्क! यत्रो टाढा आएर पनि यही हलो कोदालो गर्नु थियो भने किन नेपाल छोडेर हाएका होलान यी अभागी नेपाली? प्रश्न सहजै झरे हाम्रा ओठबाट । उत्तर कतै पनि छैन । आखिर यी गरीब नेपालीलाई नेपालमा बस्नु र त्यहाँ बस्तु उस्तैउस्तै हो । राष्ट्र, राष्ट्रीयता र राष्ट्रप्रेम आदर्शमा राम्रा सुनिन्छन्, सुन्दर कविताका थिमहरू बन्दछन् र राजनीतिमा काम लाग्छन् । तर भोक दुखेको बेला, सायद देश कम दुख्छ मान्छेलाई ।
थुक्क! मकैको भात र गुन्द्रुक नै खानु थियो भने किन आएका होलान यी नेपालीहरू यहाँ? प्रश्न त छँदैछन्, अनेक, अनुत्तरित । थाहा पाइयो, अरुणचलमा यी अभागीहरूको एक टुक्रो जमिन पनि छैन, र कानूनन हँुनै सक्दैन । यिनीहरू अर्काको खेत जोत्छन्, अन्न उब्जाउँछन्, कुत र अधियाँ तिर्छन् र अर्कैलाई पोस्छन् ।
गेरगेम अझै “पन्ध्र” मिनेटजति लाग्छ भन्ने सूचना फेरि पाइयो । म इतिहाससँग मुमुर्रिइँदै गएँ ।
सोह्रौँ सताब्दीतिर सारङ्गी नाम गरेका नेपाली ब्राह्मण मणिपर पुगेपछि त्यतातिर नेपाली बाक्लिए भन्ने जानकारहरूको भनाइ छ । आसाममा १९५० तिर ठूलो बाडी आँउदासम्म हज्जारौ –हज्जर नेपाली बसिसेकेका थिए । यही बाडीबाट विस्थापित धेरै नेपालीहरूमध्ये केही मणिपुरतिर हान्निए, केही मेघालय गए, र केही यता अरुणाचल पसे भन्ने कुरा थाहा पाइयो । बाटाघाटा गाइ चराइरहेका बूढापाकाहरूलाई सोध्दा पनि उनीहरू आसामबाटै अरुणाचल पसेको बताए ।
निकै लामो र पट्टेरलाग्दो, सम्म बाटो काटेपछि हाम्रो बाटो एक घना जङ्गलमा प्रवेश ग¥यो । यति बाक्लो थियो जङ्गल कि रुखहरूका छाहारीमुनिबाट माथि हेर्दा कतै देखिँदैनथियो आकाश । बाक्ला, हरिया पातहरूको ओत छेडेर छिरेका घामका किरणहरू हरिया नै देखिने हुनाले होला, यस ठाउँलाई हरियो घाम लाग्ने भूमि भनिएको ।
जङ्गल वास्तवमै घना थियो । हामीले पार लगाउँदैनौँ भन्ने ठहर गा¥यौँ र त्यही बाटो गेरगेम जाने स्थानीय नेपालीका साथ लागेर जाने निधो ग¥यौँ ।
“अब बीस मिनेट लाग्छ होला सरासर जाँदा,” चन्द्रबहादुर तामाङ्को भनाइ थियो । कुरो फेरियो, पन्ध्रबाट बीसमा “झ¥यो” ।
“गेरगेम कस्कामा जाने तपुइँहरू?”
हामीले यसैकहाँ जाने भनेर भन्न सकेनौँ । एकजना तामाङ् केटोले मणिपुरबाट एउटी बाहुनी केटी ल्याएको कुरा थाहा भएनभएको कुरो सोध्यौँ ।
“ए, थाहा छ । आम्मुई, पाख्रिङ् कान्छाको छोरोले हो नि बाहुनको छोरी ल्याएको । पढेको केटी छ । तपुइँहरूचाहिँ कस्को को?”
“म केटीको बाउ,” दीपक दाईका बुवाले उत्तर दिए । त्यसपछि सुरु भए गफका श्रङ्खलाहरू ।
चालीसौँ वर्ष भएको बताए चन्द्रबहादुरले नेपालीहरू रुइङ् छिरेको । उनी निकै साना थिए रे आसामको माकुमका भेल आएर उनको परिवार उतातिर तरेको बेला । दिब्रुगढको बोगीबिलतिर नदीमा भेल आएर खेतीबाली बगाउँदा सरकारले क्षतिपूर्ति स्वरुप नयाँ पासपट्टा सहित नापी भएको र नक्सासमेत भएको पञ्जीकृति जग्गा दियो रे नेपालीलाई । मधूपूर र गौरीपुरतिर अझै पनि बाक्लै छन् नेपालीका घरहरू, र उनीहरू थोरै भाग्गेमानी बाढीपीडिहरूमध्येका परे । यता धौला, जागुन, माकुम, चापाख्वा र शान्तिपुरतिरका नेपाली भने निधारमा पिचिरी लेखेका परेछन् कि क्या हो । न जग्गा पाए, न क्षतिपूर्ति पाए । चन्द्रबहादूरबाट हामीले लियो यतिविधि जानकारी ।
“कसरी तर्नुभो उस्तो विशाल नदी? पुल थियो र यहाँ उताका?” मैले सोधेँ ।
“आम्मुइ नि हौ, काँ हुनु पुल,” चन्द्रबहादुको जवाफ । विशाल ब्रह्मपुत्र नद, अनि कतै छैन पुल, अरुणचललाई जोडने, आसामसँग, यहाँनिर । बसहरू डुङ्गामा चड्छन् अनि तर्छन नद । चन्द्रबाहादुर र चन्द्रबहादुरहरू डुङ्गमा चढेर नै तरेका थिए रे ब्रह्मपुत्र, उताका ।
गणितको काम छैन यहाँ । पन्ध्रमिनेटको बाटो चार पन्ध्र हिँडेपछि पनि पन्ध्रै मिनट बाँकी । पन्ध्र चौको पन्ध्र । पहाडा फेल ।
निकै बाक्लो जङ्गल, झमक्क परेको रात । बिजुली बत्तीको कुरै भएन । मनु मञ्जिलका लेम्पपोष्टहरू त यहाँ कवितामासम्म पनि हुँदैनन्, यथार्थको त कुरै छोडौँ ।
“खूब दुख दिन्छ नेपालीहरूलाई अब्बर र मिस्मीले । ”
अब्बर? मिस्मी? हामी अल्मल्ल्यिौँ । चन्द्रबहादुरले ब्याख्या गरे ।
अब्बर र मिस्मी त्यहाँका स्थानीय जातका मान्छे रहेछन् । हामीले सुनेका थियौँ, त्यस भेकमा त मान्छेको मासु खाने जातका नरभक्षी मान्छे पनि बस्छन् रे । नाङ्गै हिँड्ने पनि हुन्छन् रे । कुकुरको र बिरालोको मासु खाने पनि हुन्छन रे । हामीले सबैसबै जिज्ञासाहरू चन्द्रबहादुरका टाउकामाथि खन्याइदियौँ ।
“मान्छे त खाँदैन । नाङ्गै बस्ने त पाइन्छ । रुइङ्मा पनि छन् । ”
रुइङ् टाउन, रुइङ् जिल्लाको सदरमुकाम रहेछ । कुकुर र बिरालाको मासु खानुलाई आश्चर्यको कुरो मानेनन् चन्द्रबहादुरले । बरु थपे, “यिनीहरू त साँप पनि खान्छ । ”
“कस्तो दुःख दिन्छन् नेपालीहरूलाई यिनीहरू?” दीपक दाईको प्रश्न ।
उत्तर लामो । बीचबीचमा पीडाका सुस्केराहरू ।
“उनीहरूकै जमीन हो हामीले कमाउने । सबै लगिदिन्छ बाली । कुट्छ पनि । घरमा आएर खसीबोका तान्छ, कुखुरा पनि लान्छ । बन्दूक पनि छ यिनीहरूसँग । यिनीहरूको बच्चा बच्चा पनि गुलेली बेकेर हिँड्छ । गाइगारुेका कान र पुच्छर चरनबाटै काटेर लान्छ, केही भन्दा कुट्न आउँछ । नेपाली मान्छेलाई गा¥हो छ, गेरगेममा । ”
निकै बेर हिड्यौँ हामी, पन्ध्रमिनटको बराजु जाँदा पनि आएन गेरगेम । अलि खुला फाँट भने देखियो । एकजुवाजति मात्रै बाँकी घाम । खाइलाग्दा गाइगोरु र पोटिला भेडाबाख्रा अगिअगि, सुकेको छालको पेरुङ्गोजस्ता नेपाली गोठाला पछि–पछि । चन्द्रबहादुरले जोेडे, “यी गाइबाख्रा पाले बापत पनि हामी यिनीहरूलाई बर्सेनी ‘लाम’ तिर्छौँ ।”
सोधपूछपछि बुझ्यौँ, लाम भनेको कर रहेछ, गैर सरकारी कर, जसको कुनै लेखाजोखा हुँदैन, रसिद हुँदैन र निश्चिित रकम हुँदैन । ती बेहिसाब लामहरू तिरीहरेछन यी अभिशप्त नेपालीहरू दशकौँदेखि ।
केही पर हामीले थुन्से बोकेको, कम्मरमा काठको दापबाट आधा छोपिने आधा देखिने गरी खुँडा झुण्ड्याएको, झ्यापुल्ले कपाल पालेको, कछाडजस्तै लाग्ने छोटो लुगा कम्मरमा बेरेको, खालिखुट्टा हामीतिर आउँदै गरेको देख्यौँ एउटा पुरुष । बेतको थुन्से बेकेको, बेतकै नाम्लोले धानेर । थुन्सेबाट पशुका दुइटा खुट्टा माथितिर निस्केका, गोराको खुट्टा चिन्न गाह्रो परेन हामीलाई । आङ् सिरिङ्ग भयो हाम्रो, सातोपुत्लो उड्यो । चन्द्रबहादुर भने हामीतिर हेरेर केही हाँसेजसो गर्न थाले । हामीले जीवनमा पहिलो पल्ट देखेकाथियौँ एक मिस्मी पुरुषलाई ।
नजिक आए ती पुरुष । चन्द्रबहादुरसँग राम्रै परिचय रहेछ, हाँसो साटे । उनको बोली भयानक थियो, प्रेमको कि क्रोधको छुट्याउन सकिएन । हामीलाई भित्रभित्र डर लागिरह्यो । बूढाले हामीतिरै देखाएर चन्द्रबहादुरलाई केही सोधे ।
चन्द्रबाहादुरले सायद उनलाई हामी को हौँ र कहाँ जान लागेका हौँ भनेर बताए । यो थाहा पाउँदा उनका आँखामा खुसीले हो कि केले हो, केही चमक आएको अनुभूति ग¥यौँ हामीले । निकै ठूलो हाँसो हाँसे उनी, जङ्गलै थर्कने गरी, र दीपकदाइका बुवाका पाता थप्थपाउँदै उनकै भाषामा केही भने, र आफ्नो बाटो लागे ।
“बूढाहरू त नजाती छैनन् । उहिले उहिले यी बूढा र हामीहरू सँगै खेतबारी खन्थ्यौँ । केटाखाल हुन् बिग्रेका । बन्दुक बेक्छन् र आतङ्क गर्छन । पहिलाकाजस्ता कहाँ छन् र दिनहरू,” चन्द्रबहादुरको नैराश्यपूर्ण व्याख्या ।
“अनि त्यो गोरु?” मलाई जान्न मन लाग्यो ।
“भेट्यो होला नि सिनो कतै । गोरु भनेपछि मेरका पनि छोडेदैनन् यिनीहरू । कति खान सकेको सकेको!”
विचित्रको देश, अनौठा मान्छे । उता जिरोतिर त अझै नाङगै बस्छन् रे यिनीहरू । अँ, मान्छे खाने बारेमा चाहिँ आफूले पनि सुनेको, तर यकिन थाहा नभएको कुरा गरे चन्द्रबहादुरले ।
साँझ पर्न लागेको समय । हरियाँ फाँटभरि लहलह । रहरको दालका बोट, दुवैतिर । अदुवा र सुनपाटको खेती, बोटबोटमा पातपातमा पैसा फलाउँदै । गोडमेलमा तल्लिन नेपालीका मलिन अनुहारमा हजार वर्षदेखि जमेर सिसा बनेका आँसुका चोइटा । न सरकार, र नियम, न सम्विधान । हो, पर....हरियो घामलाग्ने देशमा कहिल्यै हरियाली नआउने वर्तमान, र कहिल्यै घाम नलाग्ने भविष्य बेकेर बाँचिरहेका हाम्रै नेपाली । इलाम, पाँचथर, र पाप्लेजुङ्बाट बर्षौँ अगि “धानको भात खान” मुग्लान पसेका यी नेपालीहरू इतिहासका सम्पूर्ण विपर्यासहरू सँगालेर बाच्छन्, सधैँ सधैँ मेरेर । कहिल्यै समाचार नबन्ने यी नेपाली, कानुन र संविधानले नछुने यी नेपाली, यता आफ्ना पुर्खौली गाउँका नाम पनि बिर्सन लागेका नेपाली, उता कहिल्यै नागरिक बन्न नसकेका नेपाली । उता पनि विदेशी यी नेपाली, यता पनि विदेशी यी नेपाली । हामी कसैलाई खबर छ?
“पन्ध्र” मिनेट पनि गेरगेम आयो । तामाङ्गाउँ निकै बाक्लो । सबैतिर झुप्रा घरहरू । थकित, पीडित अनुहारहरू । न बत्ती, न सडक । एसियाकै महारथी, विश्वमा आफ्नो प्रभाव बढाइरहेको महाशक्ति, आणविक वम भएको राष्ट्र, गरीबहरूका आँसुले निथु्रक्कै भिजेर अभेद्य सिमसारमा परिणत हुँदै गरेको यस देशको सीमानामा बाँचेका ती नेपालीहरूलाई हामीले सकेसम्म हो¥यौँ ।
भारतीका पसलमा बास बस्नु थियो । त्यो पहिल्यै मिलाइएको व्यवस्था । पुरानै चिनजान आरे दीपकदाईका बुवासँग । चन्द्रबहादुरलाई छुट्टिने बेलामा धन्यवाद दियौँ र हामी भारतीका दोकानतिर लाग्यौँ । रातभरि निद्रा परेन ।
गणितको काम छैन यहाँ । पन्ध्रमिनेटको बाटो चार पन्ध्र हिँडेपछि पनि पन्ध्रै मिनट बाँकी । पन्ध्र चौको पन्ध्र । पहाडा फेल ।
ReplyDelete