दृश्यान्तर
उनलाई मैले लोकन्थलीका कुना काप्चा र गल्लीहरूमा धेरै पल्ट देखिसकेको थिए । लोकन्थली कुनै ठूलो सहर हैन । यो भर्खरै विकासको आलोक पाउन लागेको गाउँ नै हो । तर अर्निको राजमार्गको दुवैतिर बाक्लो आवासक्षेत्रमा फैलिएकोले कुना, काप्चा र गल्लीहरू प्रसस्तै छन् । कहिलेकाहिँ त पुरानै मान्छे पनि अल्मल्लिने सम्भावना हुन्छ । तरकारी बजारका वरिपरि, बसपार्कमा, मितेरी अस्पतालको प्राङ्गणमा, मन्दिरका छेउछाउ : हो जताततै देखिन्थिन् उनी । कहिले पर्खालका आडमा लुकेर रुँदै गरेकी, कहिले बसपार्कमा आँसु पुछेर लोकका अगाडि मुस्कुराउने प्रयार गरिरहेकी । उनका ओठ कलेँटी परेका थिए, कुर्कुच्चा चुर्चरी चिरिएका, जवानीमै गाला चाउरी परेका, ती चाउरीहरूकाबीच सुकेको आँसुका धाराहरूका थेग्रा स्पष्टै देख्न सकिन्थ्यो । ठाउँ–ठाउँमा च्यातिएर धुजाबाती भएका लुगा, छाला घोटिएर कालै भएको कुहिनाहरू, फुटेका ओठका धाँजाहरूमा दुःखका असङ्ख्य कारुणिक बिम्बहरू छरिएका स्पष्टै देखिन्थे । आज लक्ष्मीपूजाको रात । सहर मैन र रङ्गीचङ्गी बिजुलीबत्तीले प्रदीप्त । मणिपुरतिर त लक्ष्मीपूजा नगरी भैली खेल्नु हुँदैन भन्थे । हामीहरू भैली खेल्न जाँदा सँघार...