त्यसपछि फुलेन गोदावरी
महेश पौड्याल
हाम्रा घरमा कुनै पनि चाड विषेशमा अनिवार्यतः उपस्थित रहने पाहुनामध्ये एक थियो पुङ्गिन । हामीले दिवङ्गत भतिजाको स्मृतिमा गोदावरीको एक बगैंचा बनाउँदैगरेका बखत पनि ऊ हामीसँगै थियो । जब त्यो सम्पूर्ण बगैंचा पहिलोपल्ट फुलर आफ्नो कुमारी वैंशको वसन्तमा उन्मत्त भयो, ऊ हामीसँगै थियो । आमा भन्नुहुन्थ्योे, “कति उज्यालो अनुहार यस मेराको । मलाई त यो गोदावरी फूलजस्तै लाग्छ ।” हजुरबाको निधनपछि जब हामीले त्यो बगैंचा जोतेर बारी बनाउने निधो ग¥यौं, ऊ हामीसँगै थियो । त्यसपछि ऊ कहिल्यै आएन हामीकहाँ । गोदावरीसँगै गयो ऊ पनि ।
पुङ्गिन हामीकहाँ त्यति धेरै किन आउँथ्यो? समाजिक सद्भावका अतिरिक्त केही विशिष्ट कारणहरू थिए यसका । हाम्रा काकाको साथी त हो नै ऊ, तर त्योभन्दा पनि बढी ऊ कहिल्यै नसकिने कथाहरूको एक अक्षय अभिलेख थियो, र सधैँ ती कथा सुनिदिने श्रोताको खोजीमा हुन्थ्यो । ऊ एकल यात्री थियो जिन्दगीमा, र ऊभित्र उकुसमुकुस हजारौँ कारुणिक कथाहरू थिए । उसलाई श्रोता चाहिन्थ्यो, र हामी सधैँ तयार रहन्थ्यौं उसका कथा सुन्न । यसै पनि अलिअलि साहित्यको स्पर्श पाएको घर थियो हाम्रो । बुवा गाउँकै सही, एक स्कुलमा साहित्यको शिक्षक भएकाले हामी स्वतः साहित्यतिर तानिएका थियौं ।
मैले उसलाई अन्तिमपटक देखेको डिसेम्बर महिनामा थियो, क्रिष्टमसको दुई दिनपछि । त्यस दिनको उसको आगमन दुई कारणले विशिष्ट बन्न पुग्यो । पहिलो, उसले हामीलाई आङै सिरिङ्ग हुनेखाल्को कथा सुनायो, र दोस्रो, त्यसपछि ऊ कहिल्यै फर्केर आएन ।
हामीसँग उसलाई सोध्न भनेर साँचेका धेरै प्रश्नहरू हुने गर्थे, तर हामी कहिल्यै सोध्दैनथ्यौं । ऊ सारै प्रिय लाग्थ्यो हामीलाई, र प्रियजनहरूलाई प्रश्न त्यति सोधिँदैन । मानिसहरू भन्थे, उसको माथि डाँडातिरका आदिवासीहरूको भूमिगत संगठनहरूसँग सम्बन्ध छ र तल बेंसीतिरका आदिवासीसँगको जातीय युद्धमा उसको संग्लग्नता छ । डाँडाकाहरूले पूरै पहाड ढाकेका थिए, र बेंसीकाहरूको राज्य भनेको तल मैदानको जङ्गली इलाका थियो । बीचमा आप्रवासी नेपालीहरूको बाक्लो बसोबास थियो, र दुई युद्धरत समुदायका बीचमा उनीहरू घरी अचानो बन्थे, घरी शान्तिस्थापक बन्थे । ती नेपालीहरू—हामीलगायत—आप्रवासी भएका कारण युद्धमा कतै पनि सङ्लग्न थिएनन् । हामी सबैका साथी थियौं, र कसैका बैरी थिएनौं ।
ऊ बेलाबेलामा हामीसँग राजनैतिक दर्शनका कुरा पनि ग¥थ्यो, र हामीलाई खुल्दुली लाग्थ्यो – बिहेबारी पनि नगरेको, घरबार नभएको, समाज र राज्यसँग खासै सम्बन्ध पनि नभएको त्यस्तो एक्ले पीपललाई किन चाइएको हुँदो हो राजनैतिक दर्शन ! उसले किन ब्रह्मचारी बस्नु परेको, त्यो पनि थाह थिएन हामीलाई । प्रश्न धेरै नै थिए, तर कहिल्यै सोधेनौं । अब त ऊ गयो, र हाम्रा प्रश्नहरू हामीसँगै रहे ।
उसको ठूलो, बाटुलो निधारले भन्थ्यो, ऊ थोरै भाग्गेमानीहरूमाध्ये हुनुपर्छ । घटनाहरूलाई जब ऊ भावनासँग गाँसेर भन्थ्यो, उसका आँखिभौं बढो उत्साहकासाथ तलमाथि गर्थे । ती आँखा — सधैं ठूला र कौतुहलपूर्ण — गहिरो मानवीय सम्वेदनाका घर थिए । हामीलाई त्यति कुरा थाह थियो । उसको अनुहारमा सधैँ फुलिरहने एक मृदु हाँसो हेर्दा उसमा ईश्वरीय गुणहरू भएको भान हुन्थ्यो । यति हुँदाहुँदै पनि ऊ बन्दुकधारी, भूमिगत छापामार थियो, हामीले बुझ्न नसकेको एक रहस्मय पहेली । हामीले यो थाह पाए पनि र ऊ कहिलेकाहिँ हामीकहाँ मध्यरातमा, र कहिले अरुबेला प्रहरीको पीछा छलेर लुक्न अएको कुराको पुरापुरी जानकारी हामीलाई हुनेगरेको भए तापनि कहिल्यै पुलिसलाई पोल लगाइदिने काम गरेनौं । हामीले उसको बन्दुक, गोली र हातगोलाहरू पनि देख्यौं, तर हामीलाई थाह थियो, ती हाम्राविरुद्ध प्रयोग हुने छैनन् । त्यसैले उसको गोपनीयतामा हस्तक्षेप गरेनौं ।
त्यसवर्षको क्रिष्टमस चिसो रह्यो । सिमसिम पानीले सबै वातावरण भिजेकोले खासै उत्साहजनक रहेन समय । हिँउ परेर यसै पनि कठ्याङ्ग्रिएका जिउहरू अझ चिस्सिए जाडोमा । मानिसहरू खासै घरबाहिर निस्केनन् । पहाडमाथि र तल मैदानका गिरजाघरहरूमा मध्यरातसम्म माइकले फुकिरह्यो, “हालेलुया, हालेलुया ।” करुणाको प्रचार गर्ने ईसाइ धर्मका विश्वासीहरू त्यस गाउँको दायाँ–वायाँ बस्ती जमाएर बसेका थिए । बीचमा थिए आप्रवासी, जसमा अधिकांश “अविश्वासी” हरू थिए ।
त्यस सालको क्रिष्टमस अन्य क्रिष्टमसभन्दा बढी चिसो भएको अनुभूति भैरहेकोे थियो सबैलाई । आफू त सानै बालक थिएँ त्यो बेला, तथापि हाम्रो खलक त्यस ठाउँमा सदियौंदेखि बस्दै आएको थियो । मेरा अग्रजहरूबाट त्यती सकसपूर्ण चिसोको कथा मैले कहिल्यै सुनेको थिइनँ । चिसो असाध्यै थियो, र त्यसै बेला पानी पर्नाले हिमपात बढेर ठिहिरो अकल्पनीय नै भएको थियो । तर त्यो चिसोभन्दा अकल्पनीय त अघिल्लो रातको कहालीलाग्दो अनुभव थियो ।
डाँडाकाहरूले बेँसीकाहरूको गिर्जाघरमा मध्यरातमा आक्रमण गरेछन् । सत्ताइसको हाराहारीलाई रेटेरै छिनालेको भन्ने सुनियो, जसमा महिला र नाबालकहरू पनि थिए । रातैभरि सुनिएको थियो गोली चलेको आवाज । हातगोला र बारुदको विष्फोटले अघिपछि शान्त रहने आकाशलाई छियाछिया पारिदिएको थियो । सौभाग्यले मानिसहरू रोएको आावजभने हामीसम्म आइपुगेन, कारण दूरी अलि लामै थियो ।
रातभरि जागा रह्यौं; झिमिक्क निधाउन सकेनौं । अनि बिहानी आयो तापक्रम र डर दुबैमा चिसोपन लिएर । एउटा गिर्जाघरमा प्रार्थना गरिरहेका विश्वासीहरूलाई अर्को जातका विश्वासीहरूले नै सोत्तर पारेर मारेका थिए ।
उज्यालो भइसकेपछिको कुरा हो । पुङ्गिन त्यसदिन पछाडिको ढोकाबाट पसेको थियो हाम्रो घरमा । उसको कपालभरि माटो लागेको थियो र ओभरकोट पूरै भिजेको थियो । कम्बेट जुत्ताभरि चिप्लो माटो पोतिएको थियो । कार्गो झोलाको उजिण्डोबाट सुकेको गोदावरीको एउटा सानो हाँगो उँधोतिर लत्रिएको देखिन्थ्यो – चिसो, र निर्जीव । निःशब्द ऊ अगोनोको डिलतिर बढ्यो, र नब्बे डिग्रीको कोणमा आफ्ना दुवै गोडा फ्याँ पारेर बस्यो ताकि गोडा र नितब्म एकैचोटि सुकाउन सकियोस् ।
“आज मसँग अहिलेसम्मकै दुखद कथा छ,” उसले भन्यो, हाम्रा आँखामा भरिएको सम्भावित कौतुहलतालाई अध्ययन गर्दै । हामी उसको नजिकतिर घुस्रियौं । हामीलाई सधैं लाग्थ्यो, कथावाचकको जति नजिक बसियो, कथा उति नै रोचक हुन्छ ।
ऊ त्यति आनन्दित देखिएको थिएन त्यस दिन । युद्ध त जितेको थियो उसको समूहले । तर केही अवश्य हारिएको थियो । हामीले त्यो अनुमान सहजै काट्यौं ।
“छ जना पुरुष र चार जना महिलाहरूलाई छप्प काटेर दुई छ्याक बनाउँदा पनि मलाई केही लागेन । केही बालबालिकाहरू — कति थिए, म ठ्याक्कै भन्न सक्दिनँ — एकै प्रहारमा ढले । अहँ, मलाई केहीजस्तो पनि लागेन ।”
ऊ एक सत्य कथा भनिरहेको थियो । धिक्कार होस् उसको सत्य कथालाई । उत्कृष्ट कथा त ती हुन् जुन शुरु हुन्छन्, “एकादेशमा एकजना राजा थिए,” भनेर । राम्रा कथा त ती हुन् जसको अन्त्यमा भनिन्छ, “अनि त्यसपछि उनीहरू आनन्दपूर्वक जीवन बिताउन थाले ।” हाम्रो घरमा हत्या, हिंसा, रगत र मृत्युका यर्थार्थवादी कथालाई हामीले राम्रो मान्न सकेनौं ।
“र अन्त्यमा जब म त्यो मोडमा पुगें....म एक्कासि....”
ऊ भावुक बन्यो, भैंतिर हेर्न थाल्यो, बलिन्द्र आँसुका धारा खसाउन थाल्यो । उसका गालाको बाटो हुँदै साँच्चिकैका आँसु बगे, र भैंमा एउटा सानो अश्रुतलाउ जन्मियो । सधैं खुसी देखिने पुङ्गिन यसरी रोएको यो पहिलो घटना थियो हाम्रोलागि ।
“मिर्मिरेको समय — लगभग बिहानै भैसकेको बेलासम्म भनौं, एकदुई जना अपाङ्ग र लाटागाँडाको रोदनबाहेक दुष्मनको बस्तीमा केही बाँकी रहेन । हामीले त्यो गाउँलाई पूर्णतः ध्वस्त पारेका थियौं । एउटा समुदायलाई नै सखाप पारेका थियौं हामीले — भ्रूण समेत । भविष्यमा फेरि सन्तानवृद्धिका कुनै पनि सम्भावना मेट्टाइदिन हामीले कुनै पनि सवलाङ्ग पुरुषलाई जिउँदो छोडेनौं । हामीले जित्यौ, र गायौं, ‘हालेलुया!’ — भगवानको नाउँमा, भगवानका पुत्रको नाउँमा, र हो, पवित्र भूतको नाउँमा ।”
हाम्रो घरमा बिहानकोे चिया खाने बेला भएको थियो । मौसम निकै चिसो थियो । आमाले सबैलाई चिया पस्किुनभयो । उसलाई पनि एक कप दिनुभयो, तर उसले अस्विकार ग¥यो ।
“हामी लाश हेर्न चाहन्थ्यौं — हाम्रा दुष्मनहरूका लाश । ईश्वरका दुष्मनहरूका लाश । हाम्रो त पवित्र युद्ध थियो, र प्रभुले नै हामीलाई यसको निर्देशन दिनुभएको थियो । हामी सबै शान्त चिन्तनमा थियौं । हामी सोह्रजना बन्दुकधारी थियौं, तर तीन सय भन्दा धेरैको गाउँलाई हामीले सखाप पा¥यौं । मेरो नाउँमा कति लाश परे, म त्यो गन्न चाहन्थें ।”
अहँ, त्यो कथा कथा थिएन । हामी त परीहरूको प्रतीक्षामा थियौं । हामी एक ऋषिको आगमन कुरिरहेका थियौं, जसले एक गरिब गाउँलेलाई केही मन्त्र सिकाउनेछन्, र त्यही मन्त्रको बलले त्यो गाउँले सुनचाँदी र वैभवले सम्पन्न हुनेछ । हामी प्रेमी–प्रेमिकाको मिलनका लागि अधीर बनेका थियौं; उनीहरूको आफ्नै घर बन्ने क्षण पर्खिइरहेका थियौं । हामी घोडाले दुलहीलाई लिएर आकाशमा उडेको क्षणको कथा सुन्न लालायित थियौं । पुङ्गिनले हामीलाई सुनाइरहेको त कुनै कथै थिएन । यो त हास्यव्यङ्ग्य थियो, सायद ।
“दश जना वयश्कहरूको लाश मैले गनें — छः पुरुष र चार महिला । छेउछाउ छरिएका थिए वेवारिश हात, गोडा, शीर नरहेका शरीरहरू, टाउकाहरू र चोक्टा–चोक्टा मासु । मैले तिनीहरूको गणना मेरो खातामै गरें, र भनें म एउटा वीर हुँ । तर जब म त्यो क्षणमा आइपुगें....”
आँसु । अविरल आँसु । पुङ्गिन र आँसु — अतियथार्थावादी, अपत्यरिलो संयोजन । अहँ, पुङ्गिन रुने मान्छ् पटक्कै होइन । उसनका आँखामा आँसु हुन सक्दैनन् ।
तर यहाँ त थिए आँसु, उसको आँखामा । हो, आँसु । आँसु नै हुन् ती ।
“छ्याङ्गै भैसकेको थियो उज्यालो । तपोन गाउँमा भालेहरूको शासन चलिरहेको थियो त्योबेला । उनीहरू निर्वाद बासिरहेका थिए, कसैको पर्वाहै नगरी । हामीले ती डाँकोहरूलाई स्वागत ग-यौं ।”
“घाम पनि हाम्रो विपक्षमा थिएनन् । उनी हाम्रा अनुज नै थिए । आखिर प्रभु ईशुले देखेका घाम पनि यिनै त थिए । हामीले पूर्वको लालिमालाई स्वागत ग¥यौं — घामले छरेका सिन्दूरलाई अङ्कमाल ग-यौं । एकैछिनमा उज्यालो छायो, र हामी त्यस गाउँबाट हिँड्यौं । हामी त वास्तविक विजेता थियौं, कसैको डर थिएन । डरछेरुवाहरूलाई बाटोको साथी चाहिन्छ । मैले एक्लै हिँड्ने निधो गरेँ ।”
पुङ्गिन अगेनोको अत्यन्तै नजिक बसेको थियो । उसको भिजेको कोटबाट वाफ उडिरेको थियो निरन्तर । त्यो वाफ धुवाँजस्तो देखियो । हामी केटाकेटीले मज्जले हे¥यौं, त्यो धुवाँलाई ।
“त्यस गाउँबाट सय मिटर जति तल, इराङ् नदीको तिरैतिर जाने बाटोमा, एउटा ठूलो पत्थरभित्र बनेको ओडारमा मैंले एउटा रातो च्यादरको छेउ देखें । म शान्त उभिएँ, र बढो ध्यानपूर्वक हेरें । गुफाभित्रबाट कुनै प्रकारको आवाज आइरहेको थिएन । तर मैले पक्का गरें, त्यो च्यादर हल्ल्इिरहेको थियो । सायद उसका हात हल्लिइरहेका थिए । नकोरिएको कपालको केसजस्तो देखिने केही हल्लिएको पनि देखें मैले । हो, त्यो गुफाभित्र हलचल थियो थियो ।”
अहिले भने पुङ्गिनको कथा हास्यव्यङ्ग्यजस्तो लागेन हामीलाई । हाम्रा ओठहरू बन्द थिए, आँखा टट्कारो तरिकाले खुलेका थिए ।
“जब म गुफाको मुखमा पुगें, मैले मेरो एउटा खुट्टो ढक्क राखें त्यहाँनिर, युद्धका बुट बोकेको खुट्टो । बुटमा माटो प्रसस्तै लागेको थियो । त्यहाँभित्र जोसुकै भए पनि मेरो खुट्टो देखोस् भन्ने अभिप्राय थियो मेरो । म धेरैबेर उभिएँ यही मुद्रामा । केही बेरपछि एक अवोध शिशुको आवाज सुनें, “आमा!”
“म केही निहुरिएँ, र चिहाएँ गुफाभित्र । मेरा आँखा एकजोडी नारी आँखासँग जुधे । उनका आँखामा टल्किइरहेको थियो भय — मृत्युको । उनले सीधै मेरा आँखामा हेरिन् यसरी, जसरी चीलले चल्ला घेरिरहँदा कुखुरी आमाले हेर्छे ।
“म अझ निहुरिएँ, र भित्र हेरें । उनको काखमा एउटा कलिलो शिशु थियो । छोरी थिइन् ती — शान्त र अवाक । लाग्थ्यो, भर्खर तोते बोली फुटेकी ती बालिकालाई पनि त्यो समयको गाम्भीर्यताको हेक्का थियो ।
“मैले निरन्तर हेरिरहेँ । आहा! कस्तो अलौकिक सौन्दर्य ! श्रृष्टिको एक अनुपम छटा । उनको डराएको अनुहारमा देखिएका भयका रेसाहरू कुनै सुन्दर कलाकृतिमा कुचिकारले भरेका रेसाहरूजस्ता देखिन्थे ।
“हो, ती आँखा गहिरो अर्तनादले भरिएका थिए । ती बाहिरतिर हेरिरहेका थिए, त्रासको पर्दाबाट । तिनीहरू वस्तवमा अनन्ततिर हेरिरहेका एकजोडी निर्दोष आँखा थिए ।
“मेरो मुटुभित्र मायाको लावा उठेर आयो । करुणाको हिमपहिरो पग्लेर मेरो छातिको बाटो हुँदै झ¥यो । हो, उनीप्रतिको माया उम्लेर आयो, मभित्र ।
“उनी एक आमा थिइन् । मेरी पनि त आमा छिन् घरमा । मेरी आमा पचासी वर्षकी छिन् । आजभोलि उनी एक नाबालिका जस्ती देखिन्छिन्, त्यसैले सुन्दर पनि । सबै आमाहरू सुन्दर हुन्छन्, त्यसो त, तर मेरी आमा संसारका नारीहरूमध्ये सबैभन्दा राम्री हुन् ।
“हो, उनी एक आमा थिइन् । त्यसैले मलाई उनको माया लागेको हुनुपर्छ । आमाहरू हामीलाई जीवन दिन्छन्, र संसार देखाउँछन् ।
“तर उनी त दुष्मनकी आमा थिइन् । दुष्मनका आमा पनि आमा हुन्छन्? कि हुँदैनन्? मलाई थाह भएन । मलाई त्यो कुरा कहिल्यै थाहा थिएन, वास्तवमा । जे होस्, मैले उनलाई बचाउने निर्णय गरें ।”
पुङ्गिन रोक्कियो । उसले पानी माग्यो । आमाले गिलासभरि पानी दिनुभो उसलाई । उसले एकै घुटकीमा सबै पानी खाइदियो अनि कथा अगाडि बढायो ।
“ ‘म तपाईलाई मार्दिनँ । तपाईकी नानीलाई केही चहिन्छ?’ मैले सोधेँ । उनले मेरो कुरा बुझिनन्; हामी छुट्टाछुट्टै भाषा बोल्थ्यौं । मेरो कुरा सुन्दा उनलाई के लाग्यो, त्यो भगवान जानून् । उनी एक्कासि त्यो ओढारबाट बाहिरतिर उफ्रिइन्, र मेरा पाउ समाएर करुण विलाप गर्न थालिन् । आमा रुन थालेपछि नानी पनि डरले काल्ल्एिको आवाजमा आमाभन्दा पनि बढी उँचो स्वरमा रुन थाली । बिहानीको मूर्दाशान्ति एक्कासि खल्बल्लियो ।
“अनि त अरु लडाकाहरूलाई के चाहियो? मलाईजस्तै उनीहरूलाई पनि दुष्मनको रोदन प्यारो लाग्थ्यो । वास्तवमा उनीहरू यस्तै यस्तै रोदनका निर्माता थिए ।
“हाम्रो पल्टनको कमाण्डर हेक्काइ खै कताबाट हो फुत्त हाम्फालेर आइपुग्यो, र आफ्नो नाङ्गो तरवारको टुप्पो ती महिलाको मुखछेउ पु¥यायो । मलाई त्यहीँ नजिकै, दुष्मनसँग खुसामत गरिरहेको देखेर ऊ छक्क प¥यो । हो, बाइबलमा थियो करुणाको पाठ, तर त्यो दुष्मनप्रति भएको खण्डमा स्थगित गर्न सकिने कुरो सिकेको थियो उसले, र मैले पनि ।
“हेक्काइका आँखामा शङ्का र निराशा दुवै पढेँ मैले । उसले हाम्रो प्लाटुनप्रमुखलाई अब निश्चित रुपमा पोल लगाउने छ, र मलाई धोकेबाज र नश्लघाती सिद्ध गर्ने छ । हो, मलाई ती आमाको माया लागेकै हो । र नानीको अझ बढी । तर छापामार समुहमा मेरो विगतको पनि त मलाई माया लाग्यो — मेरे राम्रो कर्तुतको कथा, मैले पाएका त्यतिविधि पुरस्कार र सम्मान्, स्यावासी र धापहरूको माया । वास्तवमा आफ्नो समूहमा प्रतिवद्धता र कर्तव्यपरायणताको पर्याय नै रहि आएको हुँ म । मलाई त्यस इतिहासको पनि त माया थियो ।
“ ‘हे, यो के तरिका हो तेरे?’ हेक्काइ ममाथि खनियो । मैले बुझेँ उसको गालीको आसय ।
“‘हजूर सर,’ भनेँ मैले, र आफ्नो वफादारिता सिद्ध गर्न एक पल्ट बुरुक्क उफ्रिएँ, र चलाएँ तरवार । एकै प्रहारले आमा र छोरी....।”
त्यसपछि पुङ्गिन आफैं भैँमा लड्यो । उसले भन्ने कथा सकियो ।
अहँ, यो कथा हुन सक्दैन । त्यो कलङ्क हो ।
पुङ्गिन त्यो रात हाम्रै घर बस्यो । बिहान हामी उठ्नुअगावै ऊ हिडिसकेको थियो । त्यसपछि ऊ कहिल्यै फर्केर आएन । पछि सुनियो, सेनासँगको दोहोरो भिडन्तमा ऊ मारियो रे ।
यता घरमा हामीले गोदवारीको फूलबारी जोत्यौं । त्यसपछि कहिल्यै फुलेन गोदावरी ।
–
Wow!! A very touching Story. I really enjoyed reading this.. :) :)
ReplyDelete