सन्ध्यारानीका जुत्ता
पुष्पे खोलाको किनारमा यतापट्टि सम्राट उभिएको थियो । ऊ सात वर्षको थियो । उसका हातमा एक जोडी कपडाका, पुराना जुत्ता थिए । उतापट्टि, अलि पर सन्ध्यारानीको घर । बीचमा पुष्पे खोलो रातभरिको झरीले बहुलाएको ।
किनारमा उभिएको सम्राटलाई तान्दे उसका काकाले भने, “हिँड् घर । कहाँ–कहाँ खोजिसकेँ, यहाँ पो रहेछ । गाडी जाने बेला भयो । ”
“काका, एकछिन पख्ने भन्नुस् न । सध्यारानीलाई जुत्ता दिनुछ ।”
“केको जुत्ता? को सन्ध्या? यत्रो–यत्रो छैन, जुत्ता दिने भाको । हिँड् घर ।”
“जान्नँ । सन्ध्याका स्कुल जाने...”
काकाले जबरजस्ती लघारे । सम्राट रुँदैरँदै उनीसँग गयो । सन्ध्यारानीसँग उसको भेट हुनै पाएन ।
घरका सम्पूर्ण सामान लादेर ट्रक हिँड्यो । पर पुगुञ्जेल आँसुका पर्दाबाट भए पनि सम्राटले बाहिर हेरिरह्यो । पुष्पे खोला किनारमा सन्ध्या उभिएर दुवै हात हल्लाइरहेकी थिई । उसका खुट्टामा जुत्ता थिएनन् ।
सम्राटले हात हल्लाएर बोलाउन खोज्यो, तर काकाले गाली गर्दै उसलाई सिटमै थुप्रिरहन भने । आमाले पनि भन्नुभयो, “हैन चुर्ना परे कि क्या हो, यस केटालाई ? पटक्कै पो बस्दैन त चुप लागेर । यसका हात ऐले...”
चाँडै रात प¥यो तर ट्रक अन्धकार चिर्दै अगाडि बढिरह्यो । रुँदारुँदा थकित भएको सम्राट भुक्लुक्क निदायो, आमाका काखमा ।
“तिमी स्कुल जान पाइनौ है,” ऊ निद्रामै बोल्यो ।
आमाले प्याट्ट पारेर सम्राटको खुट्टोमा थप्पड हान्नुभो । सम्राट चुप लाग्यो, अनि फेरि निदायो ।
“अनि आमालाई के भनेऊ? खोलाले बगायो भनेऊ?” ऊ फेरि बर्बरायो ।
काकाले गालामा प्याट्ट पार्नुभो । सम्राट जुरुक्क उठ्यो, यताउती हे¥यो र पुनः निद्रामै डुब्यो ।
ट्रक गुडि नै रह्यो । पर पाहाडमा कसैले कोइला छर्केजस्ता देखिने बिजुली बत्तीको उज्यालो हेर्दै उनीहरू अगाडि बढिरहे । उज्यालो हुने बेलामा फेरि सम्राट निद्रामै बर्बरायो, “सन्ध्या, केही दिन पर्ख है । म छिट्टै ल्याइदिन्छु ।”
उनीहरू कहिल्यै नदेखेको कुनै गाउँमा पुगेपछि गाडी रोकियो । सामानहरू खसाइए, र एउटा बिरानो घरभित्र लगिए । बाबाले त्यस घरतिर देखाउँदै भन्नुभयो, “बाबु, यो हाम्रो नयाँ घर ।”
“सन्ध्या पनि आउँछिन्?”
नयाँ गाउँ, नयाँ छिमेक । सम्राटले चिनेको कोही थिएन । सधैँ–सधैँ ऊ सपनामा बर्बराइरह्यो । बाआमाको कुटाइ पनि खाई नै रह्यो । तर बर्बराउन छोडेन । सपनामा सन्ध्यारानीको नाउँ लिन छोडेन । उसका जुत्ताको कुरा गर्न छोडेन ।
हुँदाहुँदा केही दिनपछि ऊ सिकिस्त बिरामी भयो । ज्वरो पनि आयो । ऊ दिनदिन मलिन र दुब्लो हुँदै गयो । डाक्टरको औषधि पनि ख्वाए, तर बीसको उन्नाइस पनि भएन ।
एक महिनामा सम्राट निकै थकित र दुब्लो भयो । खाना पनि उसलाई खासै रुच्दैनथ्यो । निद्रामा बर्बराउने बानीले त झन सबैलाई कायल बनाइसकेको थियो ।
यत्तिकैमा एक दिन बुवाले भन्नुभो, “म पानीखेती जान्छु । बानियाँ कान्छा जौडे धामी हुन् । म उनलाई लिएर आउँछु ।”
“म पनि जाने ।” सम्राटले धौले छिक्यो ।
“धत् । के कुरा गरेको ? यस्तो बिरामी पनि जान्छ त पाहाड?”
“जाने!” सम्राटले प्याउलो स्वरमा जिद्दी कस्योे ।
कसै गर्दा नमानेपछि सम्राटलाई लिएरै जाने निर्णय भयो । उतै गाउँमै झाडफुक गर्ने निधो गरे ।
भोलिपल्ट एकाबिहानै सम्राटलाई लिएर बुवा पानीखेती गाउँतिर लागे । सम्राटले प्लास्टिकको एउटा सानो पोको कम्मरमा लुकायो । बाटाभरि उसले पुराना दिन सम्झिरह्यो ।
जुन दिन उनीहरू पानीखेती गाउँ छोडेर बसाइँ जान लागेका थिए, त्यही दिन पुष्पे खोला किनारको धुपीको रुखमुनि सम्राट र सन्ध्यारानीको बिहे गर्ने पालो थियो । निकै साथीहरू भेला भएका थिए । त्यो बेलासम्म सम्राटलाई बसाइँ जाने बारे केही थाहा थिएन ।
उनीहरूको बिहे सकियो । पुरोहित दिलिपेले उनीहरूले एक-एक ओटा चिनो एक-आर्कासँग साटासाट गर्नू भन्यो । सम्राट बिहेमा खालीखुट्टै थियो । सन्ध्यारानीले उसलाई आफ्ना जुत्ता दिइन् । जुत्ता त क्या ठिक्क भएका ! केहीबेर पछि सन्ध्याले भनिन्, “सम्राट, भोलि मेरा जुत्ता फिर्ता देऊ है । मेरा स्कुल जाने जुत्ता ।”
“हुन्छ । आज म लाउँछु, अनि भोलि फिर्ता दिन्छु । अनि मचाहिँ तिमीलाई के दिन्छु भने...अँ, म भोलि नै भन्छु । ”
तर जुत्ता फिर्ता नहुँदै उनीहरू बसाइँ सरे ।
एक महिनापछि बुवाले सम्राटलाई पानीखेती ल्याएपछि बल्ल सन्ध्यारानीसँग उसको भेट भयो । धामीसँग भने भेट भएन । उनी त काँशी पो गएका रहेछन् ।
सन्ध्यारानीलाई देख्नासाथ सम्राट दौडेर उनीछेउ गयो । उसले पुष्पे खोलो बढेकोले जुत्ता फिर्ता गर्न नपाएको कुरा बतायो, र जुत्ता सन्ध्यारानीलाई दियो । आफूहरू बसाइँ सरेर अर्कै गाउँमा गएको कुरा पनि उसले बतायो ।
उनीहरू आँगनछेउ गए र धेरै कुरा गरे । आँगनभरि उफ्रे, हाँसे, दिनभरि । साँझ सम्राटहरू बिदा भए ।
जुत्ता फिर्ता गरेपछि सम्राट सपनामा बर्बराउन छोड्यो । उसको स्वास्थ्य पनि ठीक भयो । बेलाबेला सन्ध्याको कुराभने गरि नै रह्यो ।
Comments
Post a Comment