टेगोरदेखि वाइल्डसम्म
मैले मेरो शैशवकाल मणिपुरको एक विकट गाउँमा बिताएको हुँ । तर, साना नगरहरू हुँदै ठूलै महानगरमा बस्न थालेको करीब बीस वर्ष हुनलाग्यो । सहरले जीवनका सबै पाटाहरूलाई निथ्रुक्कै भिजायो, तर मैले देख्ने अधिकांश सपनाहरूलाई भने सहरले कहिल्यै छुन सकेको अनुभव भएन । हुन न सहरका चीसा रातहरूमा देखिएका अधिकांश खण्ड–खण्ड सपनाहरू बिहानको सितसँग उडेर वाफ बन्छन् । जे जति सपना स्मृतिमा लेखिन्छन् र बाँच्छन्, ती सधैं गाउँका सम्झना लिएर फुलेका हुन्छन् । ती शैशवकाल र तन्नेरी नहुँदैका सम्झना बढी आवृत्त हुन्छन् सपनामा । ठूलो भएपछिका, क्याम्पस धाउन थालेपछिका, अलिअलि राजनीति गर्न थालेपछिका, र कथा र समीक्षाहरू लेख्न थालिसकेपछिका स्मरणहरू, जो विपनाका हरेक पाइलाका अनुहारहरू हुन्, किन सपनामा आउँदैनन् ? सपनाका विम्बहरू सायद त्यो समयमा मस्तिष्कले टिपेका विम्बहरू हुन्, जुन बेला मस्तिष्क साँचो अर्थमा निर्दोष थियो । शैशवकाल जीवनको लय निर्धारण गने एक महत्वपूर्ण समय हो ।
मैले देख्ने गरेका भीरपाखाका शैशवकालीन सपनासित गाँसिएका कतिपय मृदु र भावुक संस्मरणहरू पनि छन्, जसले मेरो सम्पूर्ण स्वभावलाई साहित्यको अध्ययनका लागि तयार गरिदिए । ती मध्ये एक हो मेले दैदन्दिन साक्षात्कार गर्ने गरेका रविन्द्र्रनाथ टेगोर र ओस्कार वाइल्डजस्ता लेखकहरूका ती किताब, जसबाट मभित्र भाषा र साहित्यको अङ्कुरण भयो, र म सदाका लागि फेरिएँ । यी किताबहरूभित्रको अमूर्त भावनात्मक रङ्ले मेरो आन्तिरिक संसारलाई यसरी रँगाइदियो, कि म कुनै पनि कठोर व्यवसायका लागि पूर्णतः अयोग्य हुन पुगें । विज्ञान संकायबाट कक्षा बाह््र सकेपछि म भारतीय सेनाको पाइलट बन्न जाँचमा गएँ, सबै तह पास भएँ, र अन्ततः शारीरिकमा फालिएँ । फेरि डाक्टर बन्न पनि कस्सिएँ र प्रवेश परीक्षामा तीनपल्ट अनुत्तीर्ण भएँ, यद्यपि मलाई थाह थियो, रोग, घाउ, रगत, शैल्यक्रिया, आदिसँग साक्षात्कार गर्न सक्ने मुटु मसँग थिएन । सबैले पुनः सहानुभूति नै दिए, तर आमाले कुनै आश्चर्य मान्नु भएन । भन्नुभो, “यसको मुटु सारै कमजोर छ । डाक्टरी लाइनमा रमाउँदैन ।” मैले शब्दले जति बचाउ गरेपनि मेरो हृदयले मभित्रभित्रै आफ्नै कमजोरीको उत्सव मनाइरहेको थियो र म भन्न विवश भएँ, “आमा, तपाइले जति कसले चिन्यो होला, मलाई?”
मलाई शैशवकालका दुई कुराले सधैँ आत्मविभोर गराइरहन्छ । मैले कलेज र विश्वविद्यालयमा पुगेपछि कति पुस्तक पढें वा पढाएँ, त्यो यकिन भन्न सक्दिनँ । तर ती पढेका वा पढाएका पुस्तकका कति हरफ र अंश म मुखाग्र सुनाउन सक्छु भन्ने कुरामा मलाई सदैव लज्जाबोध भइरहन्छ । तर वाल्यकालमा पढेका वा सुनेका ती कथा–कविता आज पनि मेरो एक्लोपनका अभिन्न साथी हुन् । मैले मेरो शिक्षणका क्रममा कक्षाकोठामा मुखाग्र सुनाउने गरेका हरफहरू बचपनमै सुनेका वा पढेका हुन् । पछि पढेका वा घोकेका कुराहरू त्यसै मस्तिष्कमा घर जमाउन सकेको मैले पाएको छुइनँ ।
दास्रो, मैले विश्वविद्यालयको अध्ययन र अध्यापनका क्रमका पढेका कथा, पात्र वा चरित्रले मसँग सँधै एक औपचारिक र राणनैतिक सम्वन्धमात्रै कायम राखेको कुरा सत्य हो । सीमान्त दुखान्त साहित्यका अतिशय दुखी पात्रको वेदनाले म कहिल्यै विक्षिप्त भइनँ । स्वेरकाल्पनिक साहित्यका गगनभेदी छटाकाहरूको उडानमा म कहिल्यै रमाउन सकिनँ । मजस्तै जिम्मेवारीले किचेका पात्रहरूका आह र सुस्केकाहरूको एक काल्पनिक संयोजनभन्दा माथि केही भएन मेरा लागि इडिपसको दुखान्त कथा । तर मैले वाल्यकालमा पढेका कथाहरू आज पनि उत्तिकै वेगवान भएर तरङ्ति हुन्छन् मेरो मनको आयतन भरि, र मलाई हुत्याइरहन्छन् ती निर्दोष दिनका मृदु सम्झनातिर जहाँबाट लोभ, कपट, हिंसा र आडम्बरका कुनै पनि थुम्का देखिँदैनथे, मैले गाई चराउने पानीखेती गाउँका विशाल फाँटहरूमा । हो, रविन्द्र्रनाथ टेगोर र ओस्कार वाइल्डले बनाएका हुन मैले गाई चराउने फाँट, जसको दुई किल्लाका बीचमा कहिलेकाहिँ देवकोटा र माधव घिमिरेलाई पनि भेटेको हुँ ।
देवकोटाको मुना–मदनको कारुणिकतामा जति हेलियो मेरो कलिलो मन, मेरो वयस्क र व्यस्त मनले फेरि कहिल्यै भेट्न त्यस भाव–बेहेरीको गहिराइ । बिबाह हुनु, विछोड हुनु, र बिछोडमा तडपिनु वयस्कहरूका कुरा हुन् सायद । तर मेरा कलिला आँखाले पढेका गौरी खण्डकाव्यका हरफहरूभित्रको आँसुको जलधि मेरा वयस्क आँखामा फेरि कहिल्यै त्यही वेगसँग उर्लन सकेन, जब मैले जीवनका यी पीडाहरूलाई पूर्णतः बुझ्न सक्ने उमेरमा गौरी खण्डकाव्यलाई फेरि पढें । मलाई यो पुनर्पठित गौरी या मुना–मदन भावुकताको राजनीति अर्थात पोलिटिक्स अफ इमोसनभन्दा माथि केही पनि लागेन ।
म मणिपुरका डाँडाकाँडामा गाई चराएर हुर्केको हुँ । सानामा दिदी र दाइहरूभन्दा शारिरीक रुपले कमजोर भएकाले मैले खेतबारीमा काम गर्नु परेन । बिदाका दिनका गाई हेर्न जानु मेरो प्रमुख काम हुनजान्थ्यो । मसँग पारि सिरुबारीमा गाईगोरुसँगै हुन्थे रिबन्द्रनाथ टेगोर र ओस्कार वाइल्ड । टेगोर र ओस्कार वाइल्डका कथा मेरा लागि साहित्यका सबैभन्दा ठूला पाठशालाहरू हुन पुगे । मैले यी दुई गन्धमादनबाट सञ्जीवनी त टिप्न सकिनँ, तर भाषा र भावुकताको सुन्दरतम रुप के हुन सक्छ, त्यसको अन्दाज भने अवश्य पाएको हुँ । मैले हजार वर्ष अभ्यास गर्दा पनि सायद त्यो भाषिक कलात्मतालाई जन्म दिन सक्दिनँ, जुन टेगोर र वाइल्डले आफ्ना कथामा दिएका छन्, र एक अवोध शिशुको शैशवकालिन हृृदयलाई पनि सदाका लागि झङ्कृति गरिदिएका छन् । ती दुई द्रोण गुरुका कथाका पात्रसँग रुँदा, हाँस्दा र दुख्दा मैले हेर्ने गरेका गाईगोरुले मानवीर काको खेतबाट कति धान खायो, म यकिन भन्न सक्दिनँ । तर म यो भन्न सक्छु, अरुले देख्दा खरो, तर मेरी आमाले सधैँ भन्ने गरेको कमलो मुटुको म, ती र तिनीहरूजस्तै अन्य कथाबाटै यति धेरै पग्लिएको हुनसक्छु ।
म खासै साथी बनाउँदिनथे बाल्यकालमा । तर मेरा वरिपरि फटिक चत्रवर्ती, अजिता, मिनी, मालिनी र लिटलमास्टरजस्ता रविन्द्र्र–बालक अनेक रुप र आवरणमा उपस्थित रहन्थे, र मभित्र एउटा बेग्लै मान्छेको निर्माण गरिरहन्थे । टेगोरको लेखनको दार्शनिकताले मलाई त्यो बेला छुने कुरै भएन । तर मेरै जस्ता दुःख र सुख, मेरोजस्तै डर र लोभ, मेरैजस्ता सपना र विपना बेकेका ती रविन्द्र–बालकहरूले मलाई कथाको एक पात्रजस्तै बनाइदिए । म ती पात्रजस्तै कमलो भएँ, तिनीहरूजस्तै जिद्दी पनि भएँ, र मेरा वरिपरिको संसारलाई मेराभन्दा उनीहरूका आँखाबाट हेर्न थालें । उनीहरूले बोलेको भाषा मैले लेख्ने साहित्यका ती प्रथम प्रभावहरूमध्ये एक हुन् । आज पनि मलाई टेगोरको अङ्ग्रेजी भाषा एक अप्राप्य आदर्शजस्तो लग्छ, जसको असफल नकल गर्ने दुसाहस गर्दामात्रै पनि म एउटा सानोतिनो लेखक बन्न पुगेको छु ।
मलाई लेखनका र भाषाप्रयोगका सम्वन्धमा मेरो प्रेरणाबारे सोध्दा मैले सधैँ उच्चारण गर्ने पहलिो नाम हो रविन्द्र्रनाथ टेगोरको । कुनै अन्तर्राष्ट्रिय गोष्ठीमा या विश्वविद्यालयको कक्षा कोठामा टेगोरको जीवनदर्शनबारे बोल्न वा लेख्न लागउँदा मेरा हातगोडा काँप्नेछन् । तर टेगोरका बाल पात्र कसरी दुख्छन्, कसरी दुष्ट काकीको दुराग्रहबाट पिसोलिन्छन्, कसरी घरको सम्झनामा रुन्छन्, कसरी घरको सान्निध्यबाट बिना कारण टाढा जान बाद्य गरिन्छन्, कसरी बिछोडिएको बाबुको प्रतीक्षामा शून्य बाल्यकाल बिताउँछन् र कसरी आमा–आमा भन्दै मर्छन् — हो, म त्यो भन्न सक्छु, र तीनै बालपात्रजस्ते धुरुधरु रुन सक्छु । टेगोरका बालपत्रहरू मेरो हृदयका सूक्ष्मतम परतहरूसम्म पुगेका छन्, भिजेका छन् र मलाई हल्लाएका छन् । ती पात्रहरू मलाई सधैँ भनिरहन्छन्, हाम्रो सहरका कुनाकाप्चामा आडम्वरी सभ्याताका थाकले किचेका उनीहरूजस्ता असङ्ख्य बालपत्रहरू आज पनि छन्, र कनै परिचितसँग जस्तो मसँग उनीहरू केही अनुनय गरिरहेका हुन्छन् । मैले बालसाहित्य लेखिँरहँदा, बालकथा भनिरहँदा र बालअधिकारका मुद्दाबारे आफैंलाई आभिव्यक्त गरिरहँदा ती पात्रहरू मेरो सन्निकट बसेर मलाई दिशानिर्देश गरिरहेका हुन्छन् । मेरो बालसाहित्यमा सबभन्दा बढी मुद्दा ठुलाहरूले बाल मनाोेविज्ञान नबुझ्दा बालकहरू कसरी अन्यायका पात्र बन्छन् भन्ने बारैमै हो, र यस दिशामा मलाई टाढाबाट निर्देश गरिरहेका हुन्छन् टेगोरका ती गहिरा आँखा र दृष्टिले, जसबाट देखिएको विशाल संसारको एक तृणजतिको अंश पनि म देख्न सक्दिन सायद । ममाथि टेगोरको सूक्ष्म अध्ययन र जादूवी भाषाशैलीको ऋणको पाहाड सँधै खसिरहन्छ । त्यो मैले उनीबाट बाल्यकालमै लिएको जीवन्त सापटी हो ।
टेगोरको जुन जादूवी भाषाशैलीको छाप ममा बाल्यकालमा प¥यो, त्यसको ब्याजले मलाई विश्वविद्यालयसम्म पु¥याएको हो भन्न मलाई कुनै हिच्किचाहट छैन । भाषाको सबैभन्दा ठूलो गुण सरलता हो भन्ने कुराको हिमालजत्तिकै अग्लो प्रमाण टेगोर हुन् । सरल भाषामा हृृदयसँग अत्यन्त नजिक बस्ने भावनाहरूलाई टेगोरले जुन कलाकारिताका साथ उनका बालकथामा बुनेका छन्, त्यसको मिसाल मेरो अध्ययनमा अन्यत्र कतै पनि पाइँदैन । उनी पात्र खडा गर्छन्, ती पात्रभित्र पस्छन्, र तिनीहरूका सुखदुख आफैं बाँच्छन् । ती बालपात्रका कलिला सुस्केरा र निर्दोष आँसु टेगोरका सुन्दर शब्दहरूको आकार लिएर किताबमा पानामा छरिँदा मेरो मन सधैँ सधैँ रोमाञ्चित हुने गर्दछ । शान्तिनिकेतनमा बालबालिकाहरूलाई रविन्द्र सङ्गीत र जीवनका गीत सिकाउँदै टेगोरले शान्तिनिकेतनबाहिरको संसारलाई जसरी स्पर्श गरे, त्यो स्पर्श साहित्यको एक विलक्षण र दुर्लभ स्पर्श हो ।
टेगौरसँगै ममाथि बाल्यकालको अर्को साहित्यक प्रभाव थियो अङ्ग्रेजी कथाकार ओस्कार वाइल्डको । वाइल्डको जीवनचरित्रसँग म परिचित थिइनँ, तर उनको आँसु लेख्ने कलाले मलाई सधैँ सधैँ भिजाएको हो । उनको हेप्पी प्रिन्स एण्ड अदर स्टोजि का पात्रहरूको रङ्मा मेरो आजको व्यक्तित्व हदैसम्म रङ्गिएको छ ।
टेगोर जसरी यथार्थको सन्निकट रहेर पीडा लेख्छन्, वाइल्ड स्वेरकल्पनाको बाटो आँसुका कथा लेख्छन् । मैले गाईगोरु हेर्ने खर्कमा देखिने फूल, पाती, रुख र झरनाहरू र ती विशाल गौचरनमाथिको आकाशमा कावा खाने चारहरू नै टिपेर वाइल्डले कसरी कथा बनाए, र मेरै जस्तो दुखिरहने मुटु टिपेर सकरी पात्र बनाए, मलाई सधँै रोमाञ्चित पारिरहने प्रश्न थियो, मेरो बाल्यकालको । म उनलाई पढिरहन्थें, र पग्लिरहन्थें । छेवैमा बग्ने खारनालो बगिरहन्थ्यो निस्फिक्री, आफ्नै गतिमा । हामी पनि समानात्तर नदीमा हेल्लिइरहेका हुन्थ्यौं अर्कोतिर, गहिरो तहबाट दुखेर फुटेको आँसुको मूलसँगै । आहा, ओस्कार वाइल्ड मेरो वाल्यकालमा यस्तो एउटा नाम हुन पुग्यो, जसका कथाभित्रबाट मैले सर्वप्रथम मानव जीवनका समयातीत पीडाहरूलाई स्पर्श गर्न शुरु गरेको हुँ । वाइल्डजस्तो विराट प्रतिभालाई थाह थियो, यत्तिको कमलो मानव यथार्थलाई गति दिन त्यस्तै कमलो भाषा शैली र विम्बसंयोजनको खाँचो हुन्छ । त्यसैले, वाइल्डका कथाहरूका मन्द गतिमा बग्ने पश्चिमेली हावाको त्यो प्रवाह छ, जसको स्पर्शले इराङ नदीको किनारमा उभिएको म सधैं रोमाञ्चि हुन्थेँ र सबै कटु यथार्थलाई बिर्र्र्सिएर त्यसै बताससँग बग्न पुग्थे । वाइल्डका वाक्यको आरोह–अवरोह मेरा लागि पीडको त्यो आदिम गीत हो, जो कहिल्यै पुरानो हुँदैन र कहरपूर्ण पनि हुँदैन । त्यसैले मैले वाइल्डलाई अनेकौंचोटि पढेँ र आजपर्यन्त पडिरहेको छु ।
आज यत्तिका वर्षपछि पनि जब म यस व्यवसायिक जीवनको नाटकघरका सबै पर्दाहरू च्यातेर आफैजस्तो बनेर रुन चाहन्छु, म टेगोर र ओस्कार वाइल्डकै शरणमा पुग्छु । “काबुलिवाला” र “द सेल्सिफ जाइन्ट” मेरा लागि आज पनि जीवनको सञ्जीवनी दिने ती गन्धमादन हुन्, जसलाई टाढैबाट हेरेर पनि म बाँचेको अनुभव गर्न सक्छु । हो, मलाई सबै नाटकहरूबाट माथि उठेर भित्रैबाट रुन मन लाग्यो भने म यिनै कथा पढ्छु ।
नागरिक दैनिकको अक्षर, २०७०. ११. १०
Touchy and emotive.
ReplyDeleteमन छोयो
ReplyDelete